गुल्मी: गुल्मीको मालिका गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेको छ।
आज शुक्रबार मालिका गाउँपालिका -३ ह्वाङ्दिका लिल बहादुर बुढा मगरले पहिलो पटक रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति प्राप्त गरेको रोजगार शाखाका प्रमुख खेमराज गैरेले बताए ।
आवश्यक कागजात पूरा गरि पेस गरेको २४ घण्टा भित्र श्रम स्वीकृति उपलब्ध हुने गैरेले उल्लेख गरे ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाउँदा खुसी भएका छन् ।
साथै अब श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन बुटवल ,काठमाडौ जानु पर्ने बाध्यता हटेको छ ।
नागरिकको पैसा,समयको बचत हुनुका साथै राज्यको माथिल्लो तहले प्रदान गर्दै आएको सेवा सुविधा स्थानीय तहमा आउनु सकारात्मक पक्ष रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर , रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित गाउँपालिकाको रोजगार शाखामा निःशुल्क अनलाइन आवेदन दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले उल्लेख गरे।