गुल्मी: समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ का एक विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ।
तोलादीका ओमे कुमालको परिवारलाई उहाँले खाद्यान्न लत्ताकपडा लगायत करिब २५ हजार बराबरको सामाग्री सहयोग गर्नुभएको हो।
घरमा खाने खर्च समेत नभएको अवस्थाको बारेमा केही दिन अगाडी जिटिभि नेपालबाट प्रशारित भिडियो सामाग्री हेरेपश्चात बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल अमेरीकामा रहनुभएका थापाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
थापाले पठाउनुभएको सहयोग जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले कुमालको घरमै गएर हस्तान्तरण गर्नुभएको हो।
केही दिन अगाडी सहयोगको याचना गरेका ओमे कुमालको मृत्यु भएपनि उनको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो । समाजसेवी लिल बहादुर थापाले ओमे कुमालको चित्कार आफुले जिटिभिमा हेरेपछि केही राहत होस भनेर सहयोग पठाएको बताउनुभयो।
समाजसेवी थापाले ओमे कुमालका छोरा पूर्ण कुमालको पनि केही समय अगाडी उपचारमा सहयोग गर्नुभएको थियो भने आफु नेपाल आएको समयमा पनि सहयोग सामाग्री वितरण गर्नुभएको थियो । किड्नीको पत्थरी भई जीवनमरणको दोसाँधमा रहेका पूर्ण कुमालको लागि समाजसेवी थापाले उपचारमा सहयोग गरेपश्चात अहिले उनी स्वस्थ भएका छन्।