प्रेम सुनार, गुल्मी: घरधनीहरुसँग छलफल नै नगरी गुल्मीको रेसुङ्गा नगरपालिकाले सडकको स्तरोन्नति गर्ने भन्दै तम्घास बजारमा सडकमा रहेका घर भत्काउन थालेपछि विरोध भएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई भैरहवामार्फत् गत वर्ष नै स्तरोन्नति र पुनः कालोपत्रे गरेर सक्नु पर्ने तम्घास बजारका सडकको काम यो आर्थिक वर्षमा आएर सुरु गरिएको छ ।
झण्डै चार करोड लागतमा सुरु भएको उक्त काम सक्न अब तीन महिनामा सक्नुपर्ने छ ।
सोही समयमा घरधनीहरुसँग नगरपालिकाले छलफल नै नगरी बल मिचाई गरेको तीनै घरधनीहरुले गुनासो गरेका हुन्।
पूर्व सरकारी वरिष्ठ इञ्जिनियरसमेत रहेका तम्घासका बासिन्दा तथा गत स्थानीय तहको निर्वाचनमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार समेत रहेका राजेन्द्रप्रसाद पाण्डेले नगरपालिकाकाले कार्यपालिकाबाट कार्यविधि नबनाई जनताको घर–पेटीमा क्षति गर्नु यहाँका बासीन्दा माथि ठूलो अन्याय भएको गुनासो गरे।
लामो समय आफू इञ्जिनियर भएर सडकहरुमा काम गरेको अनुभव सुनाउँदै उनले भने–‘नयाँ सडक खन्दा २० फिट अनिवार्य चाहिन्छ तर घरहरु निर्माण भएको पुरानो सडकमा जति फिटको छ त्यति फिट नै हुनु पर्छ, त्योभन्दा बढी बढाउन पाइदैन ।’
‘बढाउनै परे सुरुमा घरधनीहरु बीच छलफल हुनु पर्छ । कार्यपालिकाबाट कार्यविधि बनाउँदा घरधनीलाई सहमत बनाउने वा असहमत भए क्षतिपूर्तिको व्यवस्था पनि गरिनु पर्छ । ‘त्यस पछि ३५ दिने सूचना, दोश्रो पटक ७ दिने सूचना प्रकाशित गरिनु पर्छ तर यहाँ त मापदण्ड नबनाई कानुनी व्यवस्थाको समेत धज्जी उडाउँदै जनताका घर पेटीहरु भत्काईदैछ ।’–उनी भन्छन्।
उता रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले भने सदरमुकाम भित्रका विभिन्न सरोकारवाला बीच छलफल गरी सडकको स्तरोन्नति गर्न लागिएको जिकिर गरे । ‘हो हामी सबै घरधनीकहाँ छलफल गर्न त पुग्न सकेनौ तर सरोकारवाला बीच छलफल गरेर सहमति जुटाउँदै सडकको स्तरोन्नति र पुनः कालोपत्रे गरी तम्घास बजारलाई शौन्दर्यकरण गर्न लागेका छौं, यसमा राजनैतिक आग्रह पूर्वाग्रह केही नराखी म सबैसँग सहयोग अपिल गर्दछु ।’– मेयर पन्थीले भने।
उता सबभन्दा ठूलो मदन भण्डारी राजमार्गले झन तम्घासवासीलाई चिन्तामा डुबाएको छ । हाललाई पहिलो चरण रिडीदेखि भेडुवासम्म काम भइरहेको र त्यसयता तम्घासको देउरालीसम्म टुङ्गाइएको, त्यसयता भने कुनै छलफल नै नभएको त्यस कार्यालय प्रमुख माधव अधिकारीले बताए।
मदन भण्डारी राजमार्ग देउराली उतैबाट वैकल्पिक मार्ग खोजेर तम्घास बजारका कुनै पनि संरचनामा क्षति नपुग्ने गरी लगिनु पर्ने यहाँका बासीन्दाले माग गर्दै आएका छन् । यदि जबरजस्ती मदन भण्डारी राजमार्ग तम्घास बजारबाट सिमलटारीतर्फ लैजाने हो भने यहाँ कसैका पनि घर रहँदैनन् र जनविरोध सम्बन्धित निकायले थेक्न सक्ने पनि देखिदैन।
मदन भण्डारी राजमार्ग आयोजना प्रमुख अधिकारीले पनि सहमति बेगर जनताको व्यक्तिगत सम्पत्तीका क्षति गर्न नपाइने स्पष्ट पारे ।
तम्घास बजारभित्र राजमार्ग छिराउने, नछिराउने निर्णय कुनै सरकारी निकायको होइन, यहिका बासीन्दाले नै गर्नुहुने छ ।’– उनले भने।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |