सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा विद्यार्थी अभाव भएपछि विद्यालयका तहहरू समायोजन गरिएको छ। विद्यार्थीको संख्या एकदमै कम हुने, शिक्षकको संख्या बढी हुने, आर्थिक भार बढ्दै जाने र विद्यालयको गुणस्तर घट्दै जाने लगायतका कारण विद्यालयका तह समायोजन गरिएको हो।
गाउँपालिकाको वडा नम्बर ६ अम्मरपुरमा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक आधारभूत विद्यालय हाल १७ लाखको आर्थिक भार, कक्षा ६ र ७ विद्यार्थीको संख्या क्रमश निकै कम र शिक्षकलाई तलव दिन नसकेपछि विद्यालय स्थलगत अध्ययन तथा अनुगमन कार्यादलले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो।
प्राथामिक तह कायम राख्दै कक्षा ६ र ७ लाई मात्र समायोजन गरिएको कार्यदलका संयोजक ढाल बहादुर कुँवरले जानकारी दिनुभयो । बढीमा २० मिटर मात्रको दुरीमा अम्मरपुर औमप्रसाद गौतम माध्यमिक विद्यालय रहेकोले पनि विद्यालय समायोजनले अभिभावक तथा विद्यार्थीलाई कुनै असर नगर्ने संयोजक कुँवरले बताउनुभयो ।
कक्षा ६ र ७ हटाइएको गोविन्द रत्न कुँवर लोकतान्त्रिक आधारभूत विद्यालयमा हाल ८ शिक्षक हुनुहुन्छ । २ प्राथामिक तह स्थायी, २ प्राथामिक तह राहात र चार निजी शिक्षक रहेको प्रधानाध्यापक टेकहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार २ स्थायी र २ राहात शिक्षक रहेपनि प्रधानाध्यापक निजी शिक्षक हुनुहुन्छ । केहि समय अगाडि तत्कालीन प्रधानाध्यापक मृत्युपछि आफुले चलाउँदै आएको पराजुलीले स्वीकार गर्नुभयो । तत्कालिन प्रधानाध्यापक तिलक कुँवरले ३५ हजारका दरले तिन महिनाको तलब एक लाख ५ हजार पाउन बाँकी छ । तर, उहाँको तलब हालसम्म विद्यालयले दिएको छैन् । गत असोज ५ गते श्रीमान् तिलकको मृत्यु भएपछि उहाँकी श्रीमती शान्त कुँवरले आफुले बारम्बार विद्यालयसँग माग गरेपनि तलब नपाएको गुनासो गर्नुभयो । विद्यालयले बेरुजु आएको भन्दै तलब नदिएको बताउँछ।
विद्यालयले निजी शिक्षकलाई डेढ वर्षदेखि तलब दिन नसकेको, हाल १७ लाख आर्थिक भार रहेको र यसअघिको शैक्षिक सत्रमा कक्षा ६ मा १० र कक्षा ७ मा १२ जना विद्यार्थी रहेको प्रधानाध्यापक टेकहरि पराजुलीले बताउनुभयो । उहाँले विद्यालय समायोजनको असर अभिाभवक र विद्यार्थीलाई पर्न नहुने बताउनुहुन्छ । यसो त यहाँ विद्यालय समायोजनले कसैलाई पनि असर गरेको देखिन्न।
अंग्रेजी माध्यममा अध्ययन अध्यापक भएता पनि यहाँ यसको प्रभावकारीता भने कम देखिएको छ । नजिकै अर्को विद्यालय रहेकोले कक्षा ६ र ७ समायोजन गर्ने, प्राथामिक तहमा अध्ययन अध्यापक गुणस्तरीय बनाउने र आर्थिक भार कम गराउनको लागि समायोजनको निर्णय गरिएको इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर कुँवरले बताउनुभयो।
इस्मा गाउँपालिका विद्यालय स्थलगत अध्ययन तथा अनुगमन कार्यादलका संयोजक ढाल बहादुर कुँवरले विद्यार्थीको अभावका कारण गाउँपालिकाका ७ वटा विद्यालयको तह समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ को बालकक्षा राख्ने गरि जुकेपानी आधारभूत विद्यालय, वडा नम्बर २ को नमुना आधारभूत विद्यालयको कक्षा ४ र ५ गरि दुई तह, वडा नम्बर ३ को दर्लामचौर आधारभूत विद्यालयमा कक्षा ३ सम्म चल्ने गरि समायोजन गरिएको छ।
वडा नम्बर ४ को नेपाल राष्ट्रिय आवसीय आधारभूत विद्यालयमा बालकक्षा राख्ने गरि समायोजन गरिएको, वडा नम्बर ५ को भगवती आधारभूत विद्यालयमा बालकक्षा राख्ने गरि समायोजन गरिएको, वडा नम्बर ५ मा रहेको खड्क आधारभूत विद्यालयमा बालकक्षा राख्ने गरि समायोजन गरिएको र वडा नम्बर ६ मा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक आधारभूत विद्यालयमा समायोजन गरिएको हो।