सन्तोष महतारा, गुल्मी: गुल्मीको एक दलित बस्तीका नागरिक पहिलोपटक बिजुली बत्तीको पहुँचमा आउनुभएको छ। जिल्लाको मालिका गाउँपालिका-२, दर्लिङ्गको दुर्गम क्षेत्र कसिलाबाँझका २६ घर दलित बस्तीमा लघु जलविद्युत् मार्फत पहिलोपटक बिजुली पुगेको हो।
गाउँपालिकाको रु दुई लाख बजेट र लाभग्राहीको १६ दिनको दैनिक श्रमदानबाट शनिवार घरघरमा बिजुली पुगेको कसिलाबाँझ विद्युत विस्तार अभियानका अध्यक्ष युद्धबिर प्रतेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ८५ वाट मात्र क्षमताको लघु जलविद्युत स्थानीय भिम खोलाबाट उत्पादन गरिएको हो । जसबाट २६ घरपरिवारका एक सय भन्दा बढी सदस्य लाभन्वित हुनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ५० किलोमिटर पश्चिममा रहेको यस क्षेत्र मालिका गाउँपालिकाकै दुर्गम क्षेत्र हो । यहाँ हालसम्म केन्द्रीय प्रशासरण लाइनको बिजुली पुग्क्ष्न सकेको छैन् । यसअघि लघु जलविद्युतमा पनि कुनै पहल भएको थिएन । हाल स्थानीयले माग गरेपछि वडाको पहलमा गाउँपालिकाले स्थानीय विद्युत उत्पादनको लागि बजेट विनियोजन गरेको थियो।
दर्लिङ्गका वडाध्यक्ष विनोद श्रीसले बिजुलीको पहुँचबाट बञ्चित बस्तीमा विद्युत विस्तार गर्न सकेको बताउनुभयो । “दुर्गम बस्ती राज्यको उपेक्षामा थियो” उहाँले भन्नुभयो, “स्थानीयको सक्रियता र हाम्रो पहलमा बस्ती उज्यालोमा परिणत भएको छ ।” शनिबार एक औपचारिक कार्यक्रमका साथ बिजुली वत्तीको शुभारम्भ भएपछि स्थानीय हर्षित हुनुभएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







