गुल्मी: गुल्मीमा सबैभन्दा कम बेरुजु रकम मालिका गाउँपालिकाको देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६० औँ प्रतिवेदनमा जिल्लाका १२ वटा स्थानीय तहमध्ये मालिका गाउँपालिका पहिलो बनेको हो ।
आर्थिक वर्ष ०७८/७९ को एक अर्ब ३० करोड २३ लाख ९ हजार रकम लेखापरीक्षण गर्दा १ करोड १८ लाख ७२ हजार मात्रै बेरुजु देखिएको छ। जुन ०.९१ प्रतिशत हो ।
गाउँपालिकाले नियम संगत र कानुनी प्रक्रिया तथा सहि अभिलेख राखेका कारण सफल बनेको योजना शाखा प्रमुख अशर जिसीले बताए ।
साथै देखिएको बेरुजु रकम बाट पनि नियमित गर्नु पर्ने रकम धेरै भएको तर्क गर्दै बेरुजु शुन्यमा झार्ने गाउँपालिकाको अभियान सफल हुने उल्लेख गरे ।
त्यस्तै यता गाउँपालिका अध्यक्ष देवीराम अर्यालले नयाँ वर्षको दिन मालिका वासीले खुसिको खबर प्राप्त गरेको बताए । अध्यक्ष अर्यालले भने, ‘सुशासन , पारदर्शिता,जवाफदेहिता र आर्थिक मितव्ययितामा गाउँपालिका प्रतिबद्ध छ ’ ।
बेरुजु शुन्यमा झार्ने अभियान गाउँपालिका रहेको छ र त्यसलाई पूरा गर्न सबै कर्मचारी र जनप्रतिनिधि सचेत छौं र सहि ढङ्गले कार्यसम्पादन गर्ने अध्यक्ष अर्यालले उल्लेख गरे ।
गुल्मीमा मालिका पछि दोस्रो स्थानमा छत्रकोट गाउँपालिका रहेको छ । १ अर्ब ३० करोड ६० लाख रकम लेखापरीक्षण गर्दा दुई करोड ८ लाख ६९ हजार रकम बेरुजु देखिएको छ । जुन १.६ प्रतिशत हो ।
त्यस्तै तेस्रोमा रहेको मदाने गाउँपालिकाको बेरुजु रकम दुई करोड ३० लाख ३९ हजार रहेको छ ।
मदाने गाउँपालिकाको १ अर्ब ३५ करोड १२ लाख ८२ हजार रकमको लेखापरीक्षण भएको थियो ।
जिल्लामा सबै भन्दा धेरै कालीगण्डकी गाउँपालिकाको बेरुजु रकम देखिएको छ ।
कालीगण्डकी गाउँपालिकाको ५.३४ प्रतिशत अर्थात ६ करोड २१ लाख ४७ हजार रकम बेरुजु देखिएको हो ।
यस गाउँपालिकाको एक अर्ब १६ करोड ५३ लाख ६ हजार रकम लेखापरीक्षण भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










