सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ का असहाय वृद्ध दम्पतीलाई राहत सामाग्री सहयोग गरिएको छ। दृष्टिविहिन छविलाल कुमाल र उहाँकी धर्मपत्नी बालमति कुमालको परिवारलाई उक्त सहयोग सामाग्री हस्तान्तण गरिएको हो।
परिवार विहिन उनीहरु दुवै वृद्ध भएपछि विचल्ली भएको छ । उनीहरुको अवस्थाका बारेमा जिटिभि नेपालबाट प्रशारित भिडियो सामाग्री हेरेर कान्छा ज्योतिषको नामबाट परिचित ज्योतिष चुरामणी पाण्डेले उनीहरुको घरमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सहित झण्डै ४० हजार बराबारको राहत सामाग्री वितरण गरिएको हो । आफु पनि सामान्य परिवारबाट हुर्किएको मान्छे भएको भन्दै दुःख र अभाव देख्न नसकि ज्योतिष पेशाबाट कमाएको थोरै भएपनि पैसाले वृद्ध दम्पतीलाई सहयोग गर्न पाउँदा खुसी लागेको ज्योतिष पाण्डेले बताए ।
सहयोग सामाग्री ग्रहण गर्दै कुमाल दम्पतीले गहभरी हश्रार्षु निकाले । उनीहरुले आफन्त र छोराछोरीको माया पाएजस्तो लागेको भन्दै ज्योतिष पाण्डेलाई झम्टिएर रोएका थिए । उनले आफ्नो दुख देखेर छोराछोरीले जस्तै सहयोग गरेको भन्दै पाण्डेलाई धन्यवाद दिए ।
मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले स्थानीय सरकार भित्रको जिम्मेवारी भएपनि सबै कुरा सरकारको एकल प्रयासले मात्रै सम्भव नभएकाले मानवीय क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुको आवश्यकता रहेको बताए । उनले सहयोगी चुरामणी पाण्डेलाई धन्यवाद व्यक्त गरे ।
जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिटिभि नेपालले तैयार पारेको स्थलगत रुपमा वृद्ध असहाय दम्पतीको बारेमा भिडियो सामाग्री हेरेर बुटबलबाट सहयोग सामाग्री वितरण गर्न आएको प्रति ज्योतिष पाण्डेलाई धन्यवाद व्यक्त गरे । उनले ज्योतिषलाई पछिल्लो समय कमाई खाने भाँडो बनिरहेको गुनासोकाबीच पाण्डेजस्ता व्यक्तिहरुले त्यसलाई चिर्न सफल भएको बताए ।
५६ वर्षीय छविलालले विगत ८ वर्षदेखि दुवै आँखा देख्दैनन् । श्रीमती बालमतिले मेलापात गरेर परिवारको गुजारा चलाउँदै आएकी छिन् । उनीहरुका सन्तान छैनन् । न त सम्पति नै छ । गाउँलेले चन्दा उठाएर घर निर्माण गरिदिएका छन् ।
बालमतिलाई ठुलो ज्वरो आए छविलाललाई पानी दिने मान्छे छैन । सन्तान नभएपछि आर्थिक अभावले बिहान बेलुकाको गर्जो टार्न समेत कठिन भईरहेको अवस्थामा कान्छा ज्योतिष चिन्तामणी पाण्डेले उक्त परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










