गुल्मी: चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो।
गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्न वातावरण सिर्जनाको लागि गाउँपालिकाले पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार गाउँमै जागिरको तयारी गर्नको लागि यही माघ ११ गतेदेखि कक्षा सुरु गर्न लागिएको हो। देशमा हुने रोजगारी तर्फ
कम आकर्षित भई वैदेशिक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि कक्षा संचालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष युवराज केसीले गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरण सहितका कक्षा संचालन गर्न लागिएको बताए। “चन्द्रकोट सहित
हाम्रो क्षेत्रबाट लोक सेवामा कम आकर्षण छ।”
अध्यक्ष केसीले भने, “गाउँमै अभिमुखीकरण गराएर त्यसतर्फ केन्द्रित गराउन यो कार्यक्रम राखेका छौँ।” बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरुलाई लक्षित गरेर कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए।
गाउँपालिकाले संचालन गर्ने पहिलो दिनको अभिमुखीकरण र तयारी कक्षा १८ दिनसम्म चल्नेछ। जसमा सहभागिताको लागि ४५ जनाले निवेदन दिएका छन्। सुरुमा शिक्षक सेवा र लोक सेवाको पहिलो पत्रमा आधारित रहेर तयारी गराइने छ।
त्यसपछि बाँकी तयारीका कक्षा सहभागीहरुको आवश्यकताका आधारमा अगाडि बढाइनेछ। अभिमुखीकरणको लागि गाउँपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरु रहनेछन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










