गुल्मी: गुल्मीमा एक महिलाको रेबिजका कारण मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले बताए।
शाहलाई एक महिना अगाडी गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर ६ का कुमालटारीमा मंसिर ११ गते एक्कासी पछाडीबाट आएर कुकुरले हातमा टोकेको थियो। त्यसलगत्तै उनी रेबिज विरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदी स्थित एक निजि मेडिकलमा गएकी थिइन्।
तर त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताए। उनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराउनु भएको थियो।
त्यहाँ उनलाई रेबिज लागेको संकाका कारण काठमाण्डौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको बुझिएको छ। काठमाडौंमा उपचारको क्रममा उनलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीर भरी फैलिएको पुष्टि गरेका थिए।
उनको शरीर भरी फैलिएकाले उपचारको सम्भव नएपछि घरमा ल्याइएको थियो। उहाँको मंगलबार मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अर्यालले जानकारी दिए।
महिलाको रेबिजका कारण मृत्यु भएपछि अहिले त्यस स्थानका भुसिया कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य भइरहेको गुल्मीदरबार गाउँपालिकाले जनाएको छ। दुई दिनसम्म ५० वटा भन्दा बढि कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको अर्यालले बताए। रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ।
1 thought on “गुल्मीकी एक महिलाको रेबिजका कारण मृत्यु”