Salime Malika Krishi Farm

Awareness Campaign

विद्यार्थीको रोजाईमा गुल्मीको धुर्कोट परमानन्द भण्डारी क्याम्पस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: मुसिकोट नगरपालिका-३, थुम्काकी रीता रिजालले विगत डेढ बर्षदेखि धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अध्ययन गर्छिन्। उनी अहिले स्नातक दोस्रो बर्षमा अध्ययनरत छिन् । धुर्कोट गाउँपालिका-५, वस्तुस्थित उक्त क्याम्पसमा पढ्दा उनले अहिलेसम्म एक रुपैँया पनि मासिक शुल्क बुझाएकी छैनन्।

‘मासिक शुल्क लाग्दैन, पुस्तक पनि निःशुल्क पाइन्छ ।’ उनले भनिन्, ‘खाली समयमा कम्युटर सिक्ने पनि अवसर छ, त्यो पनि निःशुल्क नै हो।’ वस्तु आएको एक बर्ष क्याम्पसप्रमुख ऋषीराम पाण्डेको घरमा कोठा लिएर बसिन्। पाण्डेले पनि कोठाबापतको रकम लिएनन् । गत चैतदेखि रिजाल क्याम्पसकै होस्टलमा बस्दै आएकी छिन्। ‘खाना र कापि, कलमभन्दा अरु खर्च हुँदैन ।’ रिजालले भनिन्, ‘लोकसेवाका कक्षामा पनि क्याम्पसको तर्फबाट सहजिकरण हुँदै आएको छ ।’ उनले मुसिकोट मैदानको पृथ्वी माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरेकी हुन् ।

मालिका गाउँपालिका –२ ह्वाङ्दिका विष्णु घिमिरेले रेडियोबाट क्याम्पसमा निःशुल्क रुपमा पढ्न पाइने विज्ञापन सुने । सोही विज्ञापनको आधारमा घिमिरे क्याम्पसमा भर्ना भए। अर्थशास्त्र बिषयमा स्नातक तेस्रो बर्ष अध्ययन गर्ने घिमिरे विगत ढाई बर्षदेखि वस्तु बस्दै आएका छन् । उनी अहिले शिवालय मन्दिरको पाठशाला भवनमा बस्छन् । ‘क्याम्पसमा पढाई पनि राम्रै छ, कोठाभारा कत्तिपनि तिर्नुपर्दैन ।’ घिमिरेले भने, ‘कम खर्चमा पढ्न सकिने सूचना रेडियोबाट सुनेर आएको, आएजस्तै भयो।’

सिंचाई
Forest
Ad.

रिजाल र घिमिरे त क्याम्पसमा अध्ययन गर्ने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । क्याम्पसमा हाल सातजना विद्यार्थी होस्टलमा बसेर अध्ययन गर्छन् । होस्टलमा बसेबापत उनीहरुले कत्तिपनि शुल्क तिर्नुपर्दैन । त्यसका अलवा पानी र बिजुली शुल्क पनि क्याम्पसले नै तिरिदिने गर्छ । क्याम्पसले गत चैतबाट होस्टल संचालनमा ल्याएको थियो।

नेता, शिक्षक र कर्मचारी पनि विद्यार्थी

क्याम्पसमा भर्खर कक्षा १२ पास गरेका विद्यार्थी मात्र होइनन्, जनप्रतिनिधि, पार्टीका नेता, शिक्षक र कर्मचारी समेत भर्ना भएका छन् । पूर्व क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीको समन्वयमा धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का, मदाने गाउँपालिका-५ का वडाध्यक्ष हिमाल खड्का भर्ना भएका छन्।

त्यस्तै माओवादी केन्द्र धुर्कोटकी सचिव एवम् पूर्व कार्यपालिका सदस्य कमला घर्ती, शिक्षक चन्द्र बहादुर विक, खिम बहादुर केसी, ज्योती श्रीस एवम् कर्मचारी माया गैरे र रामचन्द्र सुनार परमानन्द क्याम्पसमै भर्ना भइ अध्ययन गरिरहेका छन् । धुर्कोटकी उपाध्यक्ष गिरीले केही महिनाअगाडी संचालन भएको स्नातक दोस्रो बर्षको परीक्षा दिएकी छिन्। क्याम्पस स्थापना गर्दा २०६५ सालमा २७ जना विद्यार्थी रहेका थिए । उक्त सङ्ख्या बढेर ०७० सालमा ८३ जना र हाल २५३ जना विद्यार्थी भर्ना भएको लेखापाल नारायण पाण्डेले बताए । क्याम्पसमा अहिले शिक्षा र मानविकी शंकाय संचालनमा छ।

Awareness by SKF

चार बर्ष निःशुल्क शिक्षा

स्नातक तहमा निःशुल्क अध्ययन प्राय कमै हुन्छ । क्याम्पसले भर्नाबापत दुई हजार पाँच सय लिने गरेको छ । त्यसपछिको चार बर्षसम्म त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा र रजिष्ट्रेशन शुल्कबाहेक विद्यार्थीले कुनै शुल्क बुझाउनुपर्दैन । त्यसका साथै विद्यार्थीले निःशुल्क रुपमा पुस्तक अध्ययन र कम्युटर सिक्न पाउछन् । अहिले क्याम्पसमा सातवटा कम्युटर रहेको लेखापाल पाण्डेले बताए । जसका कारण गाउँको क्याम्पस भएर पनि पछिल्लो समय धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विश्वविद्यालयबाट आउने अनुदान र क्याम्पसको मुद्धती खातामा रहेको दुइ करोडभन्दा बढी रकमले संचालन खर्च पुगेको पाण्डेको भनाई छ।

क्याम्पस प्रमुख ऋषीराम पाण्डेले क्याम्पसप्रति सबैको सकारात्मक धारणा भएकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको बताए । धुर्कोट गाउँपालिकाले प्रतिबर्ष कम्तिमा पाँच लाख र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरेको उनले बताए। होस्टल पनि पालिका, क्याम्पसको आन्तरिक रकम र प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पाण्डेको भनाई छ। क्याम्पसमा पछिल्लो पाँच वर्षमा एक करोडभन्दा बढीका संरचना निर्माण भएका छन्। अहिले पनि खेल मैदान र अपुग कोठा बनाउने कार्य चलिरहेको क्याम्पस प्रमुख पाण्डेले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया