प्राविधिक ज्ञानको अभावमा पनि त्यहाँका कृषकहरुले सुन्तलाको राम्रो उत्पादन गर्दै
रमेश विश्वकर्मा, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-३, भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ। अहिले सुन्तलाको सिजन हो। बोट नै नुग्ने गरी गाउँभरी नै लटरम्म सुन्तला फलेका छन्। अहिले गाउँ नै सुन्तलामय बनेको छ।
सुरुमा घरमा खानका लागि उत्पादन हुँदै आएको सुन्तलाले व्यवसायिक रुप लिदैं जान थालेपछि सुन्तला कृषक पनि बढेका छन। थोरै मेहनत र एक पटक लगाएको बोटले बर्षौंसम्म उत्पादन दिने भएपछि दिनप्रतिदिन कृषकहरु यसप्रति आकर्षित हुँदै गएका हुन्।
स्थानीय पदमलाल पाण्डे उमेरले ६८ वर्ष पुग्नुभयो । उहाँले सुन्तला उत्पादन गर्न थालेको २० वर्ष भयो । उहाँसँग सुन्तला उत्पादन गर्नुको गजबको अनुभव छ । भाडगाउँको शिरमा रेसुङ्गा पर्छ । रेसुङ्गालाई सिद्धस्थानका रुपमा लिने गरिन्छ । “भाडगाउँको शिरमा बालासिद्ध भगवानको मन्दिर छ । यो सिद्धस्थान क्षेत्र हो ।” पाण्डेले भन्नुभयो, “सिद्धस्थान क्षेत्रमा फलफुलको कमी हुनु हुँदैन् भन्ने मान्यताले सुन्तला खेती गर्न सुरु गरेको हुँ।”

उहाँले एकै सिजनमा साढे दुई लाख भन्दा बढीको सुन्तला बिक्री गर्नुहुन्छ्। भाडगाउँका सुन्तला स्वादिला र रसिला हुने भएकाले यहाँको सुन्तलाको माग अत्याधिक हुने गरेको पाण्डेले बताउनुभयो। यहाँ उत्पादन भएका सुन्तला ढोरपाटन, बुटवल, नारायणगढसम्म पुग्ने गरेको सुनाउँनुभयो।
अर्का कृषक इन्द्रजङ्ग बस्नेतले १७ रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनुभएको छ। उमेर ४५ वर्ष पुग्नुभएका बस्नेतले वार्षिक कुल ७ लाख भन्दा बढीको सुन्तला मात्र बिक्री गर्नुहुन्छ। बस्नेतको सुन्तला बगैंचामा ४ सय भन्दा धेरै सुन्तलाका बोटले उत्पादन दिन्छन्। मंसिर महिनादेखि सुरु गरि माघ महिनासम्म सुन्तलाको बिक्रीवितरण गरिसक्ने बताउनुभयो।

स्थानीय थम्मनबहादुर खत्रीले सुन्तलाको उत्पादन लिन थालेको तीन वर्ष भयो। ४४ वर्षिय खत्रीले विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको बताउनुभयो। अहिले १३५ सुन्तलाका बोटले उत्पादन दिंदै आएका छन् । एक सिजनमा एक लाख रुपियाँसम्म आम्दानी गर्नुभएका खत्रीले यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले आम्दानी पनि बढ्ने बताउनुभयो।
खेत बहादुर खत्रीको बगैंचामा ११७ वटा सुन्तला बोटले उत्पादन दिइरहेका छन्। गत वर्ष त्यति राम्रो सुन्तलाको उत्पादन नभएपनि यस वर्ष भने राम्रो उत्पादन भएको बताउनुभयो । सुरुमा ७० हजार सम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुभएका खत्री अहिले भने उत्पादन वृद्धि भएसँगै उत्साहित हुनुहुन्छ्। आफ्नो बगैंचामा थुप्रै व्यापारी खरिदका लागि आएपनि राम्रो मुल्य दिने व्यापारीलाई सुन्तला बेच्ने दाउमा हुनुहुन्छ।

सोही स्थानकी राधिका खत्रीले गत वर्ष भन्दा यस वर्ष सुन्तलाको राम्रो उत्पादन भएको बताउनुभयो। उहाँले गत वर्ष सुन्तला बिक्रीबाट दुई लाख रुपियाँको आम्दानी गर्नुभएकी खत्री अहिले तीन लाख रुपियाँको सुन्तला बिक्री भएको बताउनुभयो। सुन्तलाको उत्पादन वृद्धि भएसँगै खत्री सुन्तलाको खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ।

त्यहाँका तीन सय भन्दा धेरै घरमा सुन्तलाको उत्पादन हुने गरेको वडाअध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो। स्वादिलो र गुणस्तरमा चर्चा कमाएका त्यहाँका सुन्तला खरिद गर्न व्यवसायी बगैंचामै आउने गरेका खत्रीले बताउनुभयो। उहाँका अनुसार वार्षिक झण्डै डेढ करोडको सुन्तला त्यहाँबाट निकासी हुन्छ।

कृषकहरुलाई सिंचाईको पूर्ण व्यवस्थापनका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सुन्तला खेतीका लागि पर्याप्त मात्रामा सिंचाईको व्यवस्था गर्नुपर्छ। सिंचाईको व्यवस्थापनका लागि पहल गरिरहेको छु ।” वडाअध्यक्ष खत्रीले सुन्तला बोटमा कुनै समस्या आए तत्काल परीक्षण गर्न प्राविधिकको समस्या रहेको उल्लेख गर्नुभयो। पूर्ण प्राविधिक ज्ञानको अभावमा पनि त्यहाँका कृषकहरुले सुन्तलाको राम्रो उत्पादन गर्दै आएका छन्।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










