गुल्मी: गुल्मी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. चन्द्र भण्डारीले जित हार निरन्तर प्रक्रिया रहेको बताएका छन्।
प्रतिनिधि सभामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि जित हार जे पनि हुन सक्ने बताए ।
उनले आफू ०७० सालमा निर्वाचित भएपछि थालेका कामहरु पूरा गर्ने बताए। २०७४ मा भने उनी एमालेका प्रदीप ज्ञवालीसँग पराजित भएका थिए।
उनले जिल्लाका विभिन्न क्षेत्रमा विकासका कामहरु धेरै गर्न बाँकी रहेकाले अब त्यसतर्फ आफ्नो ध्यान जाने बताए।
भण्डारीले विजय उत्सवमा प्रतिस्पर्धीलाई गाली गरेर नाराबाजी नगर्न आग्रह गरेका छन् । भण्डारीले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १५ सय मतान्तरले पराजित गरेका हुन्।
भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरे भने एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे। २०६४ सालदेखि नै प्रतिस्पर्धा गर्दै आएका भण्डारी र ज्ञवाली आलो पालो जस्तै चुनाव जित्दै आएका छन्।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ज्ञवाली निर्वाचित भएका थिए भने २०७० मा भण्डारी निर्वाचित भए। त्यसपछि ०७४ मा ज्ञवाली निर्वाचित भए भने यसपटक भण्डारी निर्वाचित भए। -अनलाइन खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










