Salime Malika Krishi Farm

Awareness Campaign

जून तारा साहित्य समाजले सार्वजनिक गर्‍यो खुल्ला गजल प्रतियोगिताको नतिजा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजले आयोजना गरेको खुल्ला गजल प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा सहभागी गजलकारका गजलहरु निम्नानुसार छन्:

सच्चा प्रेमी, बहुलाउन सक्छ भने, के मर्न सक्दैन?
पलपल मरिरहन्छ, यादहरूको नदी, तर्न सक्दैन।

आफू जस्ताको त्यस्तै छ दुनियाँ बदल्छु भनेर हिड्यो
परिवर्तनको सुरुवात ऊ आफैबाट गर्न सक्दैन

सिंचाई
Forest
Ad.

तिम्रो घमण्ड चकनाचूर हुन के बेर ! विचार गर
फूलबाट कसैले सुन्दरता र सुवास हर्न सक्दैन

अङ्गालोमा कसेर आफ्नोपनको दिन्छन् परिचय
पिठ्यूँमा छुरा रोपेको बाहिरी नजरमा पर्न सक्दैन

कसैको जिन्दगीबाट जब कोही जान्छ नफर्किने गरी
तब कसैले पनि कहिल्यै त्यो खाली ठाउँ भर्न सक्दैन
-सागर भण्डारी ‘विभोर’
बगनासकाली-६, पाल्पा
हाल: अफ्रीका

केही सिकिन्छ केही सिक्ने क्रममा जिन्दगानी सकिन्छ
जस्तोकि प्यास नमेट्दै कहिले बोत्तलको पानी सकिन्छ

Awareness by SKF

पढिलेखी ठूलो मान्छे बन्नुपर्छ भनेर, भन्नुहुन्छ हजुरबुवा
पुराहुन्न हजुरबुवाको योजना नातिसम्म जवानी सकिन्छ

एक मुठ्ठी सास हुँदासम्म साथ दिन्छु भन्छन् साथीहरू
रित्तिनु मात्रपर्छ खल्ती,त्यहीँ बखत चिनाजानी सकिन्छ

धूम्रपान स्वास्थ्यलाई हानिकारक छ लेखेकै हुन्छ बट्टामा
आखिर नखानेको पनि त जीवन, भई खरानी सकिन्छ

हरेक दिन जग्गा नामसारी गराउन दौडधुप गर्नुहुन्छ बा
वकिलको चियापानमै,वहाँको वार्षिक आम्दानी सकिन्छ
-️राजन विश्वदीप
बारबर्दिया-११, बर्दिया
हाल: विरेन्द्रनगर, सुर्खेत

तिमीसँग नजरमा नजर जुधाउँन चाहन्छु।
एक पटक भएपनि मुस्कुराउँन चाहन्छु।

बलेको आगो पानीले त सबैले निभाउँछन्,
तर म जलेको मुटु आँसुले निभाउँन चाहन्छु।

सत्यकुरा सबैलाई तितो लाग्न सक्छ यहाँ,
लागे लागोस् वास्तविक बताउँन चाहन्छु।

जसले मलाई केही नि हैन सोच्यो उसैलाई,
यो मनमुटुमा किन राख्ने?हटाउँन चाहन्छु।

बस् एउटै काम मात्र बाँकी रहेको छ मेरो,
अब सधैँभरीका लागि म निदाउँन चाहन्छु।
-हिउँकला खतिवडा
कमलबजार-७. अछाम

नदि नहुदो हो त किनारा सगै बगर नहुनसक्छ ।
बन्द बाकस आईपुग्नु अगावै खबर नहुनसक्छ।।

लाग्यो पिएर तनाव कमगर्छु भन्नुपनि बेकार थियो ,
मदिरा लिनुको विकल्प कसैको अफर नहुनसक्छ।

महँगी चुलिएसी”फुच्चे”को घरखेत बन्धकी राखियो ,
बाध्यता उस्तै थियो मुग्लान पस्नु रहर नहुनसक्छ।

खेप्नुपर्छ उतारचढाव जब घरिघरि अनयासै,
गन्तव्य नभेट्दासम्म नै कसैको कदर नहुनसक्छ।

मनले चाहदैमा सबै चीज सहजै पाईदैन मित्र,
बिचार गर्नु कि कसैमा उसको नजर नहुनसक्छ।
-️रामकुमार श्रेष्ठ “फुच्चे”
लमजुङ

यहाँ चिन्तन भएन भने हजुर डर भएन भने
नसकिने रहेछ केहि काम गर्न रहर भएन भने

तपाईं मन्दिरको मूर्तिलाई देउता सम्झिनुहुन्छ
अरु कसलाई पुजा गर्नुहुन्थ्यो पत्थर भएन भने

दुःख नगरि कोहि पनि कहिल्यै सफल हुनन्
कडा भन्दा कडा मेहनत निरन्तर भएन भने

आयो दैवीप्रकोप यहाँनेरको सबै लगेर गयो
अब कसको अधीनमा बाँचौ बगर भएन भने

यहाँ आफ्नैको लाग्छ अरुलाई काम पाइदैन
म बसेर के गरुँ नेपालमा अवसर भएन भने
-रत्ना पुन
रुकुम पश्चिम

जब तिमीले प्रहार गर्यौ ती शब्दहरू भाला जस्तो
आफैँलाई पोल्दै निस्किरहेछन् अश्रु ज्वाला जस्तो

यो जिन्दगी यस्तै रहेछ सखी सुखदुःखको सङ्गम
कहिले चुम्बन, कहिले झापड पाउने गाला जस्तो

हो यसरी बसेको छ मेरो प्यारो देश पर्दा पछाडि
राजधानीमा छोपिएर बसेका खोलानाला जस्तो

एकलौटी थिए र त अब फोडिनु छ मैले घनद्वारा
तिमी नहुँदा हुन्छु म चाबी हराएको ताला जस्तो

एकातिर जित्नेको उत्सव,अर्कोतिर हार्नेको आँसु
हेर्नुस् महोदय मेरो यो छाती छ रङ्गशाला जस्तो
-दिनेश प्रयासी मुग्राती
खोटाङ, हाल: इलाम

मान्छे सबै एउटै त हौं अनि हाम्रो रातो खुन उस्तै छ
दिनमा अस्ताउने रातीमा उदाउने त्यो जून उस्तै छ

भन् कति गर्छौ तिमी यो दुनियाँको सामु लोभ यस्तो
बदलिएको छैन् यहाँ फलाम,हिरा, चाँदी,सुन उस्तै छ

छोडेन खै? हामी माथि अत्याचार गर्न अझैपनि
दलित भनेर भेदभाव गर्ने हेर्नुस् त बाहुन उस्तै छ

निति नियम हजारौं बने होलान् अत्याचारको लागि
तर कार्यान्वयन हुँदै नहुने यो देशको कानुन उस्तै छ

गरेर देशमा भ्रष्टाचार आफ्नो स्वार्थ पूरा गरिसके
हामी अभागी जनतालाई त घातको सगुन उस्तै छ
-विक्रम तिरुवा सलिन
तिला गाउँपालिका-३, कुडारी, जुम्ला

आधा पेट खाना भए पनि डकार बाहिर आउनुपर्छ
कहिलेकाहीँ खाना पाक्ने भाडो हेरी अघाउनुपर्छ

दु:ख पीडामा रुनुपर्छ सानैमा सिकाएको जिन्दगीले
आज फेरी सिकायो पीडामा पनि मुस्कुराउनुपर्छ

हिजो चम्किन सिकाएकाले आज रसीलो हुने गराए
अरे यार आँखामा नि कस्ता कस्तालाई सजाउनुपर्छ

परदेशबाट ल्याएको थोरै मुद्रा न लुटिदे राजधानी
अहिलेको चाडमा आमाले नयाँ लुगा लगाउनुपर्छ

छाडेर जाने मान्छेलाई यत्ति एउटा प्रश्न सोध्नु थियो
भन न माया गर्ने मुटुलाई कसरी सम्झाउनुपर्छ
-मिसन शर्मा बाईबाई
गुर्भाकोट नगरपालिका-४, सु‌र्खेत

साहित्यको जगेर्नामा उदायौ जुन तारा साँच्चै।।
तिम्रो समिपमा कोही हुँदैनन् बेसहारा साँच्चै।।

सिर्जनाका लहरहरु झाँगिदैछन् निरन्तर,
फुलाउने फलाउने कर्म तिम्रै अभिभारा साँच्चै।।

कलमको माध्यमबाट चेतनाको दियो बालेपछि,,
भागाभाग हुनेछन् फटाहा र मुलुकमारा साँच्चै।।

अक्षरको खेती गर्न सहज छैन तर लेख्नुपर्छ,,
बग्न नदिनका लागि जनताको अश्रुधारा साँच्चै।।

अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन गर्दै जानु,
चम्किलो भईरहनेछ सिंगो संसार सारा साँच्चै ।।
-भोज विवश मगर
गैंडाकोट-,३ ढोडेनी, पुर्वी नवलपरासी

खै कहाँ छ होला हत्यारालाई कारागार सरकार
खुल्लम खुल्ला भइरहेको छ बलात्कार सरकार

महिलाले आफ्नो इज्जत ढाक्न मुस्किल भयो
आफ्नै देशमा भइरहेको छ हत्या बारम्बार सरकार

न्याय किन अन्धो हुँदै गएको होला आजभोलि
किन गरेनन् अधिकारको प्रचार प्रसार सरकार

बलत्कारीलाई छाडा भएर हिड्न दिनाले झन् यहाँ
महिलाहरु माथी अति नै भयो अत्याचार सरकार

कसरी हुन्छ यस्ता कु-कार्यहरु रोक्ने उपायहरु खोज्नुस्
किनकी सधैं भइरहने छ एक अर्कोमा काटमार सरकार

होइन नेपालमा के नीति आयो यस्तो बुझ्न नसकीने
घुस नदिए सम्म हरेक कामहरु हुँदैन पार सरकार
-सम्झना थापा मगर
स्याङ्जा

फेरि यो माया, प्रेमले गरेको छल हेर्नुस्!!
एक सच्चा प्रेमी बन्दैछ पागल हेर्नुस्!!

यही त रहेछ कसैलाई खुशी पार्नुको पिडा,,
एकपटक खरी झरेको त्यो मादल हेर्नुस्!!

सानो भएर नमिल्दो रहेछ ठूलाको संगत,,
कनिका सँग छुट्टिदै गए चामल हेर्नुस्!!

कहाँ भिडमा सुन्दरी खोज्नुहुन्छ साहुजी,,
जानुहोस् आफ्नै शृङ्गारको पसल हेर्नुस्!!

प्रेमीले प्रेमको उदाहरण लेख्न नसकेपछि,,
फेरि लेख्यो दर्पणले एक गजल हेर्नुस्!!
-देवेन्द्र शाही दर्पण

साथिले मन दुखेपछि यो बाटो लिएको हो।
उसले त मन शान्त गराउनका लागि पिएको हो।।१

तपाईँ न सोध्नु होस् किन खुशी छौ तिमी भनेर।
मनभित्र पीडा राखी बाहिर खुशी भइदिएको हो।।

तपाईँ सुनपानी छर्कने कुरा गर्नु हुन्छ सोच्नुहोस्।
तपाँईले लगाएको लुगा कसले सिएको हो।।३

ऊ गरीब हुनुमा उसको केहि पनि दोष छैन।
के गर्नु उसको भाग्यमा यस्तै लेखिएको हो।।४

भयो यहाँ भन्दा लामो जीवन चाहिएन मलाई।
आजसम्मको जीवन पनि मृत्युकै पर्खाईमा जिएको हो।।५
-बादल खरेल
नवलपुर

उ त्यही हो मेरो प्रेमीकाको अब मुहार आउँछ
जहाँ एक युवक बोकेर खल्तीमा हजार आउँछ।

आमालाई खाना किन्न समेत सक्दिनँ भन्ने छोरा
एउटा प्रेमीकाको लागी कयौं श्रृङ्गार आउँछ।

बा सन्तानकै लागी सधै दु:ख कष्ट मात्रै गर्नुभयो
अब सन्तानको मुखमा कुभलो विचार आउँछ।

हरेक वर्ष हरेक महिना रौनक आउने छोरालाई
आमालाई जेठ लागी सक्यो अब असार आउँछ।

बुढा यो भाग्यमा खुसी कहिल्यै आउन्न हो?प्यारी
आउँछ हेर् बिजुलीभन्दा अघि घरमा तार आउँछ।

वृद्धआमा आश्रम जाँदा खबर आएन मेरो देशमा
भगवान! अचेल कुकुर हराएको अखबार आउँछ।
-प्रदिप नेपाली “सार्की”
बिहादी-५ उराम, पर्वत

हतियार बनी प्यार नगर्नू
काटिन सक्छु प्रहार नगर्नू

राप बन्यौ पोल्यौ हर वर्ष
यस्तो बारम्बार नगर्नू

जसलाई दिल भित्रै राख्छौ
ऊ सँग तर गद्दार नगर्नू

आँखा झिम्क्यायौ लठ्ठायौ
अब यस्तै शृङ्गार नगर्नू

बरु भिक माग्नु नपुग्दा पैँशा
यौवनको व्यापार नगर्नू
-मुकेश न्यौपाने
अछाम

सल्यान परिवेश र ओझेलका खबर मिडियाद्वारा सञ्चालित ओझेलका खबर डटकम यस प्रतियोगिताका मिडिया पार्टनर रहेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया