Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ६५ जना महिलाले लघुवित्तको ऋण तिर्न नसकेर गाउँ छाडे



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको गौँडाकोटमा रहेको ग्लोबल आइएमई लघुवित्त संस्थाबाट ऋण लिएका ६५ जना महिलाले गाउँ छाडेका छन्।

लघुवित्तका शाखा प्रमुख रामहरि पौड्यालका अनुसार ऋण तिर्न नसकेका उनीहरु गाउँ छाडेर कोही बुटवल, चितवन, दाङ, नेपालगञ्ज र भारतमा गई सम्पर्कविहीन भएर बसेका छन्। उनीहरुबाट झण्डै एक करोड ऋण असुली गर्न बाँकी रहेको पौड्यालले सुनाए। पोखरामा केन्द्रीय कार्यालय रहेको त्यस संस्थामा अहिले एक हजार ४०८ जना सदस्य छन्।

स्पर्श लघुवित्त वित्तीय संस्थाका रुपमा ५ वर्ष अघिदेखि सञ्चालन रहेर गत पुस ३० गतेदेखि मर्ज भई ग्लोबल आइएमई लघुवित्तको नाममा सेवा प्रदान गर्दै आएको वित्तीय संस्थामा ७ सय ४६ जना ऋणी रहेको पौड्याल बताउँछन्। ऋण तिर्न नसकी सम्पर्कविहीन रहेका ६५ जनामध्ये ४० देखि ५० जना तम्घासका हुन्।

सिंचाई
Forest
Ad.

यसरी भाग्न बाध्य छन् महिलाहरु
गुल्मीको गुल्मीदरबार गाउँपालिका-४, बिरबास, जिमी गाउँकी दिपा रेश्मी (नाम परिवर्तन) पनि ऋण तिर्न नसकी भाग्नेको सूचीमा छन्। उनका पति वैदेशिक रोजगारीका क्रममा दुबईमा छन्। रेश्मीले अन्य विभिन्न वित्तीय संस्थाबाट पनि ऋण लिएकी छन्।

उनले गौँडाकोटको ग्लोबल आइएमई लघुवित्तबाट १ लाख ७० हजार, सोही स्थानमा रहेको सुर्योदय लघुवित्तबाट १ लाख ७५ हजार, सोही स्थानकै उन्नति लघुवित्तबाट १ लाख ३० हजार, बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्य सहकारी संस्थाबाट ८० हजार, सोही बजारको नेपाल एग्रो लघुवित्तबाट १ लाख ५० हजार, बलेटक्सारकै जनसेवी लघुवित्त, भेडुवाको आरम्भ लघुवित्त र तम्घासको जनउत्थान लघुवित्तबाट समेत सोही हाराहारीमा ऋण लिएकी छन्।

भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्थाको गौडाकोट शाखा प्रमुख सिर्जना वञ्जाडे केसीका अनुसार कतिपय महिलाले लघुवित्तबाट ऋण लिएर उत्पादनमुलक काम गरी आयआर्जन बढाएका पनि छन्।

‘सबै ऋणीले अनुत्पादक कार्यमा मात्रै पैसा खर्चेर बिग्रेका छन् भन्ने नसोच्नुहोला, हाम्रोमा झण्डै १३ सय ५० जना महिला सदस्य हुनुहुन्छ,’ उनले भनिन्, ‘७५० जनालाई कुल ७ करोड २२ लाख ऋण प्रवाह गरेका छौँ। उहाँहरुले विभिन्न पेशामा प्रगति गर्नुभएको छ ।’

Awareness by SKF

आफ्नो संस्थाबाट ऋण लिएका केही ऋणी फरार रहेको उनले पनि स्वीकार गरिन्।

गौडाकोटमै रहेको सबैको लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका केही महिला पनि फरारको सूचीमा छन्। उक्त लघुवित्तकी शाखा प्रमुख विपना खनालका अनुसार उक्त शाखामा ६७५ जना सदस्य छन्। त्यसमध्ये २८३ जना ऋणी छन्। ऋण लिएकामध्ये एक जना महिला भैंसी पालनका लागि ऋण लिएर दुई महिना अघि विदेश उडेको र अरु तीन जना महिला अन्य शहरमा बसेको शाखा प्रमुख खनालले बताइन्।

उनका अनुसार होटल सञ्चालनका लागि ४ लाख ऋण लिएकी एक महिला आफ्नो घरको भैंसी समेत बेचेर हिँडेकी छन्। भेंडा पालनका लागि ९० हजार ऋण लिएकी अर्की महिला भेंडा गोठ रित्तै पारेर गाउँ छाडेकी छन्।

जग्गा धितो राखेर बंगुर पालनका लागि ४ लाख ऋण लिएकी अर्की महिला घर मै रहे पनि बंगुरको खोर रित्तै छ।

एकाध बाहेक अधिकांश लघुवित्तले अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । अरु थुप्रै लघुवित्तबाट ऋण लिएको थाहा पाउँदा पाउँदै पनि कतिपयले मनपरी ऋण लगानी गरेका छन्। ग्लोबल आइएमई लघुवित्तका गौडाकोट शाखा प्रमुख रामहरि पौड्याल पनि लघुवित्तको अस्वस्थ्य प्रतिस्पर्धाले विकराल स्थिति आउन थालेको स्वीकार गर्छन्।

महिलाहरु ऋण लिन सहज पहुँच भएका कारण सुरुमा लघुवित्तप्रति आकर्षित हुँदै गएका देखिन्छन्। कसैले उत्पादनमुलक कार्यमा ऋण प्रयोग गरेर प्रगति पनि गरेका छन् तर जसले एउटा प्रयोजनमा ऋण लिएर अर्को प्रयोजनमा खर्च गरेका छन्, उनीहरु ऋण तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका छन्। यो खबर रातोपाटी डट कमबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया