Smoking Causes Cancer

बालमैत्री विद्यालयको यात्रामा शिक्षकमैत्री वातावरणको खोजी



गणेशमान चालिसे
१८ मिनेट अगाडि


Place for ads

नेपालमा पछिल्ला दुई दशकमा शिक्षा क्षेत्रमा उल्लेखनीय नीतिगत परिवर्तनहरू भएको देखिन्छ । बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप, २०६७ ले प्रत्येक बालबालिकाको विद्यालयमा पहुँच, सहभागिता र सिकाइमैत्री वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। समावेशी शिक्षाको अवधारणाले अपाङ्गता भएका, सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र अवसरबाट वञ्चित बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने प्रयत्न गरेको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले बालअधिकारलाई स्थानीय तहको नीति, योजना र कार्यक्रमको केन्द्रमा स्थापित गर्ने प्रयास गरेको छ। यी सबै प्रयासहरू आधुनिक, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि अत्यन्तै महत्वपूर्ण छन्। तर यिनै नीतिहरू कार्यान्वयन भइरहँदा एउटा आधारभूत प्रश्न भने निरन्तर ओझेलमा परेको अनुभुती हुन्छ।

बालमैत्री विद्यालय र बालमैत्री शासनको अवधारणा विस्तार भइरहँदा शिक्षणमैत्री वातावरण र शिक्षकमैत्री समाज निर्माणको सवाल किन प्राथमिकतामा पर्न सकेको छैन?

शिक्षा प्रणालीको केन्द्रमा विद्यार्थी हुन्छ भन्ने कुरामा कुनै विवाद छैन। तर विद्यार्थीको सिकाइ, व्यक्तित्व विकास, अनुशासन र भविष्य निर्माणको केन्द्रमा शिक्षक पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। दुर्भाग्यवश, आजको समाजमा शिक्षकप्रतिको दृष्टिकोण क्रमशः सम्मानबाट शंका, सहयोगबाट निगरानी र विश्वासबाट आरोपतर्फ सर्दै गएको अनुभूति हुन्छ। आजको दिनमा हुने शैक्षिक बहसमा बालबालिकाको अधिकारको चर्चा धेरै हुन्छ, तर शिक्षकको अधिकार, गरिमा र पेशागत सुरक्षाको विषय लगभग अनुपस्थित छ। मानौं शिक्षक कुनै अधिकार नभएको तर अनन्त जिम्मेवारी बोकेको पात्र हो। विद्यालयमा विद्यार्थी सफल भए श्रेय लिनेहरुको भिड थामीनसक्नु हुन्छ तर असफल भए दोष शिक्षकले बोक्नुपर्छ। विद्यार्थी अनुशासित भए परिवारको संस्कारको चर्चा हुन्छ, अनुशासनहीन भए शिक्षकमाथि प्रश्न उठ्छ। सफलताको उत्सवमा शिक्षक गौण हुन्छन्, असफलताको अभियोगमा शिक्षक मुख्य पात्र बन्छन्।

सिंचाई
Forest
Ad.

सामाजिक सञ्जालको विस्तारसँगै यो प्रवृत्ति अझ विकराल बनेको छ। पछिल्ला केही दिन यता शिक्षकमाथि भएका दुर्व्यवहार, अपमान, गालीगलौज र कुटपिटका घटनालाई कतिपयले मनोरञ्जनको सामग्री बनाउने गरेको देखिन्छ । सयौं प्रतिक्रिया र सेयरका बीच शिक्षकको सामाजिक प्रतिष्ठामाथि प्रहार गरिन्छ। तर यस्तो प्रवृत्तिले शिक्षक मात्र नभयर , सम्पूर्ण शिक्षा प्रणालीलाई कमजोर बनाउँदै गएको पत्तो कसैले पाउदैन ।

झन् विडम्बनापूर्ण कुरा त पत्रकारिताको नाममा देखिएको प्रवृत्ति हो। अनुमति बिना विद्यालयमा प्रवेश गर्ने, शिक्षकलाई क्यामेराअघि उभ्याएर अकस्मात् प्रश्न सोध्ने, उत्तर चित्त नबुझे भिडियो काटछाँट गरेर सार्वजनिक गर्ने र त्यसलाई “समग्र बिधालय शिक्षाको स्तरका ” का रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले सुधारभन्दा बढी सनसनी खोजेको देखिन्छ।अर्को कुरा धेरैजसो बिधालय हरुमा यी र यस्ता गतिविधिहरुलाई ब्यबस्थापन समिती र बिधालय प्रशासनले शिक्षकहरुलाइ तह लगाउने अस्त्र रुपमा प्रयोग गर्दै आयको पनि देखिन्छ।कुनै चिकित्सकलाई अस्पतालबाहिर रोकेर जटिल शल्यक्रियाको प्रक्रिया सोधियो भने तुरुन्त उत्तर नदिन सक्छन्। कुनै न्यायाधीशलाई सडकमा कानुनका सबै दफा सोधियो भने तत्काल सम्झन सक्दैनन्। तर शिक्षकका हकमा भने केही सेकेन्डको उत्तरलाई सम्पूर्ण योग्यता मापन गर्ने आधार बनाइन्छ। यो न्याय होइन, पूर्वाग्रह हो।

म स्वयं माध्यमिक तहको गणित विषयको शिक्षक हुँ। यदि कसैले कुनै पूर्वसूचना बिना अचानक आएर क्यामेरा वा माइक्रोफोन तेर्साउँदै “२९ को गुणन तालिका सुनाउनुस्” भन्यो भने म पनि तत्कालै सम्पूर्ण तालिका धाराप्रवाह भन्न सक्ने अवस्थामा नहुन सक्छु। त्यही कुरालाइ लिइयर गुणन तालिका नजान्ने शिक्षकले कसरी गणित पढाउछ भनेर हेड्लाइन बनाउने पत्रकारले स्वाबासी खाने प्रवृत्ति दिनानुदिन बढिरहेको देखिन्छ।बास्तबमा गणित शिक्षण भनेको गुणन तालिका कण्ठ सुनाउने विषय मात्र नभयर ; तर्क गर्ने क्षमता विकास गर्ने, समस्या समाधानका विधि सिकाउने, गणितीय अवधारणा निर्माण गर्ने र विद्यार्थीमा विश्लेषणात्मक सोचको विकास गराउने प्रक्रिया हो भन्ने कुरा न त्यो प्रश्न कर्तालाइ थाह छ न सरोकारवालाले त्यसलाइ बुझनै खोज्छ्न । एकजना गणित शिक्षकको योग्यता उसको स्मरणशक्तिको क्षणिक परीक्षणबाट होइन,कि उसले विद्यार्थीमा गणितीय सोच, तार्किक क्षमता र समस्या समाधान गर्ने सीप कति विकास गराउन सक्छ भन्ने आधारमा मूल्याङ्कन हुनुपर्ला नि ?

दुर्भाग्यवश, आजको समाजमा शिक्षणको वास्तविक गुणस्तरभन्दा पनि भाइरल हुने दृश्यलाई बढी महत्व दिन थालिएको छ। यदि कुनै शिक्षक क्षणिक रूपमा अलमलिए भने त्यो समाचार बन्छ, तर वर्षौंसम्म हजारौं विद्यार्थीलाई ज्ञान, अनुशासन र जीवनदृष्टि प्रदान गरेको योगदान भने समाचार बन्दैन। यही कारणले शिक्षकको पेशागत मूल्याङ्कन तथ्य, उपलब्धि र योगदानका आधारमा होइन, सामाजिक सञ्जालको क्षणिक उत्तेजनाका आधारमा हुन थालेको छ। यो प्रवृत्तिले शिक्षकको मात्र होइन, सम्पूर्ण शिक्षा प्रणालीको गरिमालाई कमजोर बनाइरहेको छ।

Awareness by SKF

शिक्षकमाथिको अविश्वास केवल सामाजिक सञ्जालमा सीमित छैन। स्थानीय सरकार र शिक्षा प्रशासनका कतिपय संरचनाहरूमा पनि यही मानसिकता देखिन्छ। विद्यालय अनुगमन र मूल्याङ्कन आवश्यक हो, तर अनुगमनको नाममा विषयगत विज्ञता र शिक्षाशास्त्रीय ज्ञानविना गरिने हस्तक्षेपले सुधारभन्दा बढी अपमानको अनुभूति गराउँछ। केही मिनेट कक्षामा बसेर दशकौंको अनुभव भएका शिक्षकलाई शिक्षण विधिबारे उपदेश दिने प्रवृत्ति बढ्दो छ। हुनत हरेक पेशाका आफ्नै पेशागत बिशिस्टताहरु छ्न तथापि शिक्षण पेशा अरु भन्दा अझ विशिष्ट ज्ञान, सीप र अनुभवको क्षेत्र हो भन्ने तथ्यलाई बिर्सेर पद र शक्तिको आधारमा योग्यता मापन गर्ने संस्कृतिले शिक्षकको मनोबल खस्काइरहेको छ।

अभिभावकको व्यवहारमा देखिने विरोधाभास अझ रोचक र गम्भीर छ। विद्यालयमा भर्ना गराउन आउँदा धेरै अभिभावकको पहिलो वाक्य हुन्छ—”यसले घरमा कसैको कुरा मान्दैन”, “धेरै बदमास छ”, पढ्न , “लेख्न मान्दैन” “जसरी भए पनि सुधारिदिनुपर्‍यो।” अर्थात् आफ्ना सन्तानको अनुशासन र व्यवहार सुधारको जिम्मेवारी विद्यालयलाई सुम्पिन्छन्। तर जब शिक्षकले विद्यालयको नियमअनुसार सामान्य सचेतना, अनुशासन वा व्यवहार सुधारका उपाय अपनाउन खोज्छन्, त्यही अभिभावक शिक्षकविरुद्ध उभिन्छन्। सामाजिक सञ्जालमा आरोप लगाउने, विद्यालयमा आएर हंगामा गर्ने, गालीगलौज गर्ने र कतिपय अवस्थामा शारीरिक आक्रमणसम्म गर्न तम्सिने प्रवृत्ति बढिरहेको छ। सुधारको जिम्मेवारी शिक्षकलाई दिने तर सुधारका लागि आवश्यक अधिकार नदिने सोच आफैंमा विरोधाभासपूर्ण छ। त्यसैगरी राज्यको नीति पनि प्रश्नको घेरामा आउँछ। एकातिर विद्यालयले अनुशासित, जिम्मेवार, नैतिक र सक्षम नागरिक उत्पादन गर्नुपर्छ भनिन्छ। अर्कोतर्फ अनुशासन कायम गर्ने शिक्षकका अधिकांश भुमिकाहरु खोसिएका छन्। दण्डरहित शिक्षाको अवधारणा निससन्देह आवश्यक छ, किनकि कुनै पनि प्रकारको शारीरिक वा मानसिक हिंसा स्वीकार्य हुन सक्दैन। तर दण्डरहित शिक्षा भनेको उत्तरदायित्वरहित शिक्षा होइन। दुर्भाग्यवश, यसको व्याख्या कतिपय ठाउँमा “विद्यार्थीले जे गरे पनि हुन्छ” भन्ने रूपमा गरिएको छ। परिणामस्वरूप अधिकारको चेतना बढेको छ, तर जिम्मेवारीको संस्कार कमजोर भएको छ।

आज शिक्षकलाई जिम्मेवारीको पहाड थोपारिएको छ। नतिजा सुधार्नुपर्छ, सिकाइ उपलब्धि बढाउनुपर्छ, नैतिक शिक्षा दिनुपर्छ, अनुशासन कायम गर्नुपर्छ, अभिभावकलाई सन्तुष्ट बनाउनुपर्छ, स्थानीय सरकारका सूचक पूरा गर्नुपर्छ, मन्त्रालयका निर्देशन पालना गर्नुपर्छ। तर निर्णय गर्ने अधिकार, पेशागत स्वतन्त्रता र संस्थागत संरक्षण भने क्रमशः कमजोर बन्दै गएको छ। अधिकार बिना जिम्मेवारीको यो संरचना कुनै पनि पेशाका लागि अन्यायपूर्ण हो।

अझ विडम्बना त के छ भने शिक्षण पेशाबाट अवकाश प्राप्त गरेका केही व्यक्तिहरू समेत समाजमा फर्किएपछि तिनै शिक्षकहरूको आलोचना गर्नुलाई बौद्धिकता ठान्छन्। आफूले जीवन समर्पण गरेको पेशाको गरिमा जोगाउनुको सट्टा त्यसकै कमजोरी मात्र खोज्ने संस्कृतिले नयाँ पुस्ताका शिक्षकमा उत्साह होइन, निराशा पैदा गरिरहेको छ।

हामीले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने कुनै पनि राष्ट्रको शिक्षा प्रणाली शिक्षकको मनोबलमा वृद्धि नभएसम्म कुनै पनि हालतमा माथि उठ्न सक्दैन। शिक्षक अपमानित, असुरक्षित, निरुत्साहित र निरन्तर आरोपको घेरामा रहने हो भने विद्यालयका भवन, प्रविधि, पाठ्यक्रम र नीति सबै कमजोर सावित हुन्छन्। किनकि शिक्षा प्रणालिको वास्तविक आत्मा शिक्षक नै हुन्।

त्यसैले अब समय आएको छ कि बालमैत्री विद्यालयको बहसलाई शिक्षकमैत्री वातावरणको बहससँग जोडियोस्। बालबालिकाको अधिकारसँगै शिक्षकको पेशागत सम्मानको पनि सुनिश्चितता गरियोस्। अनुगमनलाई हस्तक्षेप होइन, सहयोगको माध्यम बनाइयोस्। आलोचनालाई अपमान होइन, सुधारको साधन बनाइयोस्। अभिभावक, समाज, राज्य र शिक्षकबीच जिम्मेवारी तथा अधिकारको सन्तुलित सम्बन्ध स्थापित गरियोस्।

यदि हामी साँच्चै गुणस्तरीय शिक्षा, अनुशासित समाज र सक्षम नागरिक निर्माण गर्न चाहन्छौँ भने अब एउटा नयाँ राष्ट्रिय अभियान आवश्यक छ—”बालमैत्री विद्यालयसँगै शिक्षकमैत्री समाज।” किनकि शिक्षकको सम्मान घट्दै जाँदा कमजोर हुने कुनै व्यक्ति मात्र होइन; कमजोर हुने सम्पूर्ण शिक्षा प्रणाली, भावी पुस्ता र राष्ट्रको भविष्य हो।

विद्यालयको भवन, पाठ्यक्रम, प्रविधि र नीति शिक्षाका साधन मात्र हुन्। शिक्षाको वास्तविक आत्मा शिक्षक हुन्। र जबसम्म त्यो आत्माले सम्मान, सुरक्षा, विश्वास, पेशागत स्वतन्त्रता र सामाजिक गरिमा प्राप्त गर्दैन, तबसम्म शिक्षा सुधारका सबै सुन्दर नारा, नीति र घोषणाहरू कागजमा मात्र सीमित रहनेछन्।

– गणेशमान चालिसे
श्री त्रिभुवन माध्यमिक बिधालय बाग्लुङ नगरपालिका १३ बाग्लुङ

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो