बैंकक — म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो। मृतकमा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमलाई उदृत गर्दै रातोपाटीले केहिबेर समाचार संप्रेषण गरेको छ ।
उप्त अनलाइनका अनुसार रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ। उनका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गर्दथे।
अराकान आर्मीले यस घटनालाई आफूहरूको नियन्त्रणमा रहेको क्षेत्रमा भएको गम्भीर हवाई हमला भन्दै जिम्मेवार पक्षविरुद्ध प्रभावकारी जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
सेनाले तत्काल प्रतिक्रिया दिएन
हमलापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा केही भवनमा आगो लागेको, सवारीसाधन क्षतिग्रस्त भएको र नजिकैको पुलको केही भाग भत्किएको देखिएको छ। घटनाबारे म्यान्मारको सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
सेनाले यसअघि आफूले वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै विद्रोही समूहहरूलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ।
क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ। उक्त क्षेत्र अहिले अराकान आर्मीको पूर्ण नियन्त्रणमा रहेको छ। यद्यपि, घटनाको विस्तृत विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको समाचारमा उल्लेख छ।
गृहयुद्धमा हवाई हमलाको सिलसिला
म्यान्मारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई पिल्याएर सत्ता कब्जा गरेपछि देशमा सशस्त्र द्वन्द्व चर्किएको हो। सैन्य शासनविरुद्धको आन्दोलनमाथि सुरक्षा बलले बल प्रयोग गरेपछि लोकतन्त्र समर्थक समूहका केही सदस्यले समेत हतियार उठाएका थिए। त्यसयता देशका विभिन्न क्षेत्रमा सेना, लोकतन्त्र समर्थक विद्रोही समूह र जातीय सशस्त्र संगठनहरूबीच निरन्तर संघर्ष जारी छ।
रखाइन राज्यमा अराकान आर्मीले सन् २०२३ नोभेम्बरदेखि सैन्य अभियान तीव्र बनाएको छ। उक्त समूहले रणनीतिक रूपमा महत्वपूर्ण सैन्य आधार तथा राज्यका १७ मध्ये १४ वटा टाउनसिपमा नियन्त्रण कायम गरेको दाबी गर्दै आएको छ।
लडाइँ चर्किएसँगै सेनाले व्यापारिक मार्गमा कडा प्रतिबन्ध लगाएपछि रखाइनमा खाद्यान्न संकटसमेत बढेको छ। यसअघि पनि रखाइनकै म्राउक–यू टाउनसिपस्थित एक अस्पतालमा भएको सैन्य हवाई हमलामा कम्तीमा ३४ जनाको मृत्यु र ८० जना घाइते भएको विवरण सार्वजनिक भएको थियो।
………………..
ओझेलका खबर – खबर भित्रको खबर
मिति : २०८३ असोज १३ गते
पोष्ट समय : बिहान ९. ४६ बज्र
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव तथा मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। अपमानजनक तथा असभ्य टिप्पणी नगर्न अनुरोध छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









