गुल्मी: गुल्मीको साविक क्षेत्र नम्बर–३ बाट २०५६ सालको संसदीय निर्वाचनमा गोकर्ण विष्टले नेपाली कांग्रेसको लामो समयको दबदबा तोड्दै कांग्रेसका त्रैलोक्यप्रताप सेनलाई पराजित गरेर पहिलो पटक विजय हासिल गरेका थिए। त्यसयता प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा उनले कुल ६ पटक चुनाव लडेका छन्। यसमध्ये ४ पटक जित हासिल गरे भने २ पटक पराजय भोगेका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका चन्द्रबहादुर थापा (सागर) सँग पराजित भएका थिए। यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीसँग ४९६ मतको झिनो अन्तरले हार व्यहोरेका छन्।
पन्थीले १६,८७८ मत प्राप्त गर्दै विजयी भएका हुन् भने विष्टले १६,३८२ मत पाए। नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४,४०५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार श्रीराम महतले ३,०७९ मत प्राप्त गरेका छन्।
मतदान हुनुअघि नै विष्टले १४ हजारभन्दा बढी मतान्तरले चुनाव जित्ने दाबी गरेका थिए। आम जनमानसमा उनको मुख्य प्रतिस्पर्धा कांग्रेसका भुवनप्रसाद श्रेष्ठसँग हुने र रास्वपाका पन्थी तेस्रो वा चौथो स्थानमा पर्ने आकलन गरिएको थियो। तर “नपत्याएको फाँडोले मुख पोल्छ” भन्ने उखान यसपटक विष्टका लागि सत्य साबित भयो।
२०५६ सालमा उनले चुनाव जित्लान् भन्ने अपेक्षा धेरैले गरेका थिएनन्। तर नयाँपोखरामा कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरेर उनका भाइ गगन विष्टको हात छिनाइदिएको घटनापछि सहानुभूतिको लहर पैदा भएको र त्यसले चुनावी माहोल एकाएक बदलिएको बुढापाकाहरू बताउँछन्।
विष्टले २०५६ पछि २०७०, २०७४ र २०७९ मा चुनाव जितेका थिए। उनी दुई पटक मन्त्रीसमेत बने। प्रतिपक्षले उनले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए पनि सडक, पूर्वाधार, खानेपानीलगायतका विकास निर्माणका काम तथा जनताको व्यक्तिगत समस्यामा साथ दिने नेताका रूपमा उनलाई चिनिन्छ।
हाल उनी नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष हुन्। संयोगवश यसपटक केपी शर्मा ओलीसहित उनी पक्षमा लाग्ने धेरैजसो एमाले उच्च नेतृत्वका नेताहरू पनि चुनावमा पराजित भए र हुँदैनि छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










