टोकियो, जापान । ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ जापानमा क्रियाशील जनकल्याणकारी संस्था जापानको पाँचौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले कृष्ण खरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं गैरआवासीय नेपाली संघ (NRNA) जापानका अध्यक्ष सुवाष लामिछानेले पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय गान बजाएर सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवाष लामिछानेले जनकल्याणकारी संस्थाको उत्साहजनक उपस्थिति र सामाजिक कार्यले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो। आगामी दिनमा एनआरएनए जापानले जनकल्याणकारी संस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संस्थाको आजीवन सदस्यता लिने घोषणा समेत गर्नुभयो। उहाँको यो घोषणाले संस्थामा थप खुसियाली छाएको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक टिकाराम खरेलले संस्थाको स्थापनाकाल र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने संरक्षक घनश्याम कंडेल (अर्जुन) ले संस्थाको गतिविधारे जानकारी गराउनुभएको थियो। अधिवेशनमा संस्थाका सचिव तेज प्रसाद खरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरू अर्लाङ्गकोट सेवा समाजका अध्यक्ष गोपाल सापकोटा, नेपाल कल्याण समाजका अध्यक्ष विष्णु शर्मा, वामी सेवा समिति जापानका प्रतिनिधि होमनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो। संस्थाका उपाध्यक्ष प्रिन्सेस खरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सागर खरालले गर्नुभएको थियो।
सो अवसरमा संस्थाका आजीवन र साधारण सदस्यहरूलाई सम्मान-पत्र वितरण गरिएको थियो। साथै, नेपालमा रहँदा सहयोग हस्तान्तरण कार्यक्रममा प्रत्यक्ष सहभागी भई योगदान पुर्याउनुहुने भोजराज सापकोटा (विष्णु), वेद प्रसाद लोहनी र छविलाल कंडेललाई विशेष सम्मान गरिएको थियो।
अधिवेशनको बन्द सत्रले संस्थाको संशोधित विधान पारित गरेको छ। निर्वाचन मण्डलका संयोजक हरिप्रसाद खराल तथा सदस्यहरू संस्थापक अध्यक्ष टिकाराम खरेल र संरक्षक घनश्याम कंडेल (अर्जुन) रहेको समितिले विधान बमोजिम आगामी कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्ष पदमा श्री कृष्ण खरेल चयन हुनुभएको छ। उपाध्यक्षहरुमा श्रीमती प्रिन्सेस खरेल, श्री खेमराज खरेल र श्री ध्रुव कंडेल रहनुभएको छ। संस्थाको सचिवमा श्री प्रकाश लामिछाने र सह-सचिवमा श्री लक्षु रिजाल चयन हुनुभएको छ भने कोषाध्यक्षको जिम्मेवारी श्री केशव प्रसाद सापकोटाले र सह-कोषाध्यक्षको जिम्मेवारी श्री कृष्ण घिमिरेले पाउनुभएको छ। यसैगरी महिला संयोजकमा श्री शोभा घिमिरे रहनुभएको छ।
कार्यसमितिका सदस्यहरुमा श्री कमला कंडेल, श्री कमल सापकोटा, श्री नवीन कंडेल, श्री विनाराम खरेल, श्री अस्मिता खनाल गैरे, श्री विष्णु सापकोटा, श्री कृष्ण खरेल, श्री इन्द्रमणि मरासिनी, श्री पूर्ण ब. जि.सी., श्री चन्द्रकान्त मरासिनी, श्री दीपा पाण्डेय र श्री विष्णु सापकोटा रहनुभएको छ।
नवनिर्वाचित सचिव प्रकाश लामिछानेका अनुसार अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










