कतार: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ कतारले आयोजना गरेको वनभोज तथा वृहत् भेटघाट कार्यक्रम गत शुक्रबार (जनवरी ९ तारिख) कतारस्थित अलखोरको पर्पल आइल्याण्डमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग कतारका सभापति श्री अब्दुल करिम मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण महामन्त्री पुरुषोत्तम रिजालले गर्नुभएको थियो। कार्यक्रमको सह-आयोजकको रूपमा रहेको अलखोर शाखा समितिले आफ्नो विशेष जिम्मेवारी निर्वाह गरेको थियो भने बीचमा कार्यक्रम सहजीकरणको जिम्मा मोहन बस्नेतले पूरा गर्नुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्रवास नेपाली सम्पर्क विभागका सल्लाहकारहरू बासुदेव पोखरेल, ध्रुव भण्डारी र सज्जाद अन्सारी रहनुभएको थियो। त्यसैगरी अन्य अतिथिहरूमा प्रचार प्रसार विभाग प्रमुख श्री ज्ञान बहादुर नेपाली, शाखा समितिका सभापतिहरू क्रमशः श्री शंकर पौडेल (दोहा), श्री पवन शर्मा (अल वक्रा), श्री कृष्ण कोइराला (अलखोर), श्री सद्दाम हुसेन (अल रैयान), श्री कृष्ण सुनार (फिटनेस टिम) र महिला संयोजक श्रीमती अम्बिका आचार्यको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व माननीय श्री हरि ढकालले जुम (भर्चुअल) मार्फत शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा उहाँले आसन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ विजयी गराउन ‘घर फर्क अभियान’ सहित घर फर्किन र प्रवासमा बसेर भए पनि सबै जनाले आफ्ना घरपरिवार साथै इष्टमित्रहरूलाई ‘घण्टी’ मा आफ्नो अमूल्य मतदान गर्नका निम्ति हार्दिक अनुरोध गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमको उद्घाटन गर्दै प्रवास नेपाली सम्पर्क विभाग कतारका सभापति श्री अब्दुल करिम मियाँले आफ्नो मन्तव्य राख्नुहुँदै महत्त्वपूर्ण जिज्ञासा राख्नुभएको थियो। सभापति मियाँले प्रवासी नेपालीका लागि छुट्याइएको १०% समानुपातिक उम्मेदवारको कोटा पूर्ण रूपमा कार्यान्वयन नभएको र बन्दसूचीमा प्रवासबाट १ जना मात्र समेटिएको भन्दै नेतृत्व समक्ष पार्टी का शुभचिन्तक र सदस्य हरूबाट आएको गुनासो राख्नुभयो। पुराना दलले समेत ३ जना प्रवासी समेट्दा, आफ्नै पार्टीले भने बाचा पूरा नगरेर प्रवासलाई तिरस्कार गरेको त हैन भन्ने प्रवासि हरु को गुनासो लाइ पुर्व माननीय हरि ढकाल संग राख्दै मिले सम्म प्रवासलाई सम्बोधन गरिदिन अनुरोध गर्नुभयो।
उक्त कार्यक्रममा आसन्न निर्वाचन र संगठन सम्बन्धी भनाइहरू श्री सुजन ढकालले राख्नुभएको थियो भने संगठन स्थापना र कार्य प्रगतिबारे संगठनका उपसभापति नियम भुजेलले प्रकाश पार्नुभएको थियो। सनैया शाखा समितिका अनुशासन विभाग प्रमुख श्री राजीव दाहालले गजल प्रस्तुत गर्नुभएको थियो। खेलाडीहरूलाई सम्मान कार्यक्रम सनैया शाखा समितिका महामन्त्री श्री जीवलाल पोखरेलले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा १२० जना नव आगन्तुक सदस्यहरूलाई पार्टीको ब्याज लगाएर स्वागत गरिएको थियो। साथै, उक्त वनभोज तथा भेटघाट कार्यक्रममा डोरी तान्ने, हाँडी फोर्ने र म्युजिकल चेयर तथा राफल ड्र प्रतियोगिता पनि सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा विभिन्न सांस्कृतिक प्रस्तुतिले उपस्थित सम्पूर्ण जनसमुदायलाई मनोरञ्जन प्रदान गरिएको थियो।
अन्त्यमा, कार्यक्रममा उपस्थित सबैलाई शुभकामना र धन्यवाद दिँदै आसन्न निर्वाचनमा साथीहरूलाई सकेसम्म घर फर्किन अनुरोधसहित सभापति अब्दुल करिमले कार्यक्रमको समापन गर्नुभएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










