बागलुङ: गलकोट नगरपालिका वडा नम्बर ३ को कोत मैदानमा अवस्थित कोत मन्दिरमा खड्क देवतालाई भित्राउनुका साथै साँझ बिहान नित्य पुजा, पाठ पारायण समेत सुरु गरिएको कोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले जानकारी दिनुभएको छ।
यस क्षेत्रका जनताको दैविक प्रकोपबाट रक्षा, सुरक्षा एवं सु–स्वास्थ्य दिर्घायु, सदा उन्नति र प्रगतिको कामना गर्दै पुजारी ब्राहमणहरुद्वारा ९ दिन सम्म अन्त्यन्त निष्ठापुर्वक परापुर्वकाल देखि पुजापाठ गर्ने प्रचलन रहेको अध्यक्ष खत्रीले बताउनुभयो।
कोत मन्दिरमा राखिएका ठुलाठुला खुकुरी खुँडा र तरबारले यहाँको धार्मिक महत्व उजागर गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गरेको छ। जिल्लामै एउटा महत्वपूर्ण शक्तिपिठको रुपमा रहेको कोतमन्दिरमा चैते दशैँमा चैत २२ गते फुलपातीको दिन गलकोट नगरपालिका वडा नम्बर ३ हटियाको वडा कार्यालयबाट डोलीमा फुलपाती सँगै हटिया बजार परिक्रमा गर्ने र भक्तजनहरुबाट फुल प्रसाद संकलन गरी साँझ कोत मन्दिर भित्राउने कार्यक्रम रहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिनुभयो।
चैते दशैँमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित परम्परागत रुपमा वर्षौँ देखि भव्य मेला सञ्चालन हुँदै आएको गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्चका महासचिव गगन कुँवरले बताउनुभयो ।कोत मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले भौतिक पुर्वाधारको विकास, पुरातात्विक चिजको संरक्षण सँगै मन्दिर जिर्णोद्धार समेत गरिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







