गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले गत बर्षसम्म वडावासीहरु पालिका मै धाउनु पर्ने बाध्यताको चालू आर्थिक बर्ष देखि अन्त्य गरेको छ। विकास निर्माणका उपभोक्ताहरु र विभिन्न कार्यक्रम सम्झौता गर्न गत वर्ष सम्म पालिकामा पुग्नुपर्ने बाध्यता थियो।
हामी गुल्मीको मुसिकोट नगरपालिका-३ को वडा कार्यालयमा पुग्दा पालिकाबाट उपमेयर गङ्गा श्रेष्ठको नेतृत्वमा विभिन्न फाँटको घुम्ती शिविरमा सेवा प्रवाहमा भ्याईनभ्याई थियो। नगरपालिकाले गत बर्षसम्म वडावासीहरु पालिका मै धाउनु पर्ने बाध्यताको चालू आर्थिक बर्षबाट अन्त्य गरेपछि सेवाग्राहीहरु खुशी देखिन्थे।

विकास निर्माणका उपभोक्ताहरु र विभिन्न कार्यक्रम सम्झौता गर्न गत बर्ष सम्म पालिका मै धाउनु पर्ने बाध्यता थियो। त्यो बाध्यताको अन्त्य गर्न पालिकाको विभिन्न फाँटका कर्मचारी मात्रै थिएनन, उपभोक्ता समितिको बैंक खाता पनि वडाबाटै खोल्न बैंकका कर्मचारीहरु पनि आएका थिए। त्यस पालिकाका ९ वडा मध्ये त्यस वडालाई परेको पालाको दिन २२ वटा उपभोक्ता समितिको सम्झौता र खाता खोल्ने भएको वडाध्यक्ष शंकर बहादुर रायमाझी बताउदै थिए। उनी भन्दै थिए, ‘सामाजिक सुरक्षा भत्ता म निर्वाचित भएपछि घर-घरमा पुगेर वितरण गर्न सुरु गरेको थिएँ। अहिले पालिकामा जाने काम पनि सुरु गरिएको छ।’
पालिकाले उपभोक्ता समितिलाई रजिस्ट्रार किन्ने खर्चको पनि अन्त्य गरेको छ। उसले सहज फर्मेट सहितको उपभोक्ता समितिको अभिलेख पुस्तिका उपलब्ध गराउन सुरु गरेको छ। फर्मेट अनुसार भर्नु पर्ने भएपछि उपभोक्ता समितिका केहि मान्छेले किर्ते गर्ने कुराको पनि अन्त्य हुने अपेक्षा गरिएको । शिविरमा सहभागी उपमेयर श्रेष्ठले नगरसभाले यस आर्थिक बर्ष देखि पालिकामा पुग्नु पर्ने काम वडा मै पुगेर गरिने निर्णय अनुसार वडा-वडामा खटिएको बताईन।
पालिकाबाट परेका योजना मात्र होईन प्रदेशबाट परेका चुदरीगाउँ-दाम्का मोटरबाटो र भन्ज्याङ्ग-कालिमाटी सडकखण्डको खोलापानी सेनिपिप्ले मोटरबाटोको सम्झौता समेत सोही दिन गरिएको थियो। यसरी मुसिकोट नगरपालिकाले वडाबाटै सेवा प्रवाह गर्न थालेपछि विगतमा पालिका धाउँदा प्रत्येक उपभोक्ता समिति एक पटकमा कम्तिमा पाँच हजार रुपैयाँ खर्च बचत भएको छ भने गाडी सुविधा नहुने उपभोक्तालाई घण्टौको पैदल यात्राको सास्तीबाट पनि वडावासीले मुक्ति पाएका छन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








