प्रेम सुनार, गुल्मी: गुल्मीका दुई नगरपालिकामा फरक-फरक राजनीतिक दलको नेतृत्व शैली पनि फरक नै देखिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसबाट विजयी मेयर खिलध्वज पन्थीले नेतृत्व गरिरहेका छन् भने मुसिकोट नगरपालिकालाई एमालेबाट निर्वाचित जिवलाल खरेलले नेतृत्व गरिरहेका छन् । यी दुई नेतृत्वको फरक–फरक शैलीप्रति यहाँका जनताले समय समयमा प्रश्न उठाउने तथा प्रशंसा गर्ने गरेका छन् ।
रेसुङ्गा नगरपालिकाका मेयर पन्थी काँग्रेस जिल्ला सभापति समेत हुन् । उनले नगरमा अन्य राजनीतिक दलबाट निर्वाचित जनप्रतिधिहरुलाई समेत साथमा लिएर बिकास निर्माणका काम अघि बढाएको भन्दै प्रशंसा पाइरहँदा मुसिकोटका पुराना नेता समेत मानिने मेयर खरेलको रुखो प्रवृत्ति र एकल निर्णय गरेर जाने प्रवृत्तिले गर्दा आलोचित हुने गरेका छन्।
सोमबार मुसिकोट नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अन्य दलका जनप्रतिनिधि तथा नेताहरुले मेयर खरेलको खुलेरै आलोचना गरे । नगरप्रमुखले एमालेको बहुमतको दम्भमा विपक्षीलाई पुछ््दै नपुछ्ने गरेको बिप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका प्रतिनिधि गोबिन्द सापकोटाले कडा आलोचना गरे । यसैगरी माओबादी केन्द्रका मुसिकोट अध्यक्ष युवराज खरेलले पनि मेयर खरेलको प्रवृत्तिप्रति आलोचना गरे ।
एमाले मुसिकोटका नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले भने मेयर खरेलको बचाउ गर्दै धारणा व्यक्त गरे । उनले भने ‘बिरोधका लागि बिरोध नगरौ, अहिलेको संघीय र प्रदेशको सत्तारुढले बजेट विनियोजनमा यस पालिकालाई विभेद गरेको कुरा पनि उठाउनुस, सबै मिलेर मुसिकोटको विकास गरौं ।’
सर्वाजनिक सुनुवाई कार्यक्रममा पालिका भित्रका विभिन्न समस्याहरुका बारेमा कुरा उठेका थिए । औपचारिक कार्यक्रममाको नगर प्रमुख खरेलले समापन गर्दै भने आफूप्रति भएको टिप्पणी र आलोचनालाई सुधार गर्दै लैजाने प्रतिवद्धता गरे । ‘यहाँ जुन कुरा उठे जो लोकतन्त्रको सुन्दर पक्ष हो । म आफूले यहाँहरुले आरोप लगाए झै म छु जस्तो लाग्दैन, यदि कतै म चुकेको, चिप्लिएको भए आफूलाई सच्चाउनेछु ।’–नगर प्रमुख खरेलले अघि भन ।
मुसिकोट नगरपालिकाले आयोजना गरेको एक सार्वजनिक र महत्वपूर्ण कार्यक्रममा विपक्षी दल काङ्ग्रेसका चार डाध्यक्षहरुले मन्चको आशन नै बहिस्कार गरेर दर्शक दिर्घमा बसेको दृश्यले पनि त्यहाँको राजनीतिक द्वन्दलाई प्रष्ट पारेको छ । यता काङ्ग्रेसले नेतृत्व गरेको रेसुङ्गामा केही यस्ता उदाहरणहरु छन् जसले सबै दल बीच बिकासका लागि एकताको सन्देश दिने गरेको छ । केही दिनअघि सडक बिस्तारका क्रममा घर पेटि भत्काएको विरुद्ध एमाले रेसुङ्गा नगर कमिटीले संस्थागत रुपमै बिरोध जनायो।
उसले ज्ञापनपत्र नगर प्रमुख पन्थीलाई बुझायो । तर एमालेबाटै विजयी भएका वडाध्यक्षहरु निरन्जन थापा र रामप्रसाद पन्थी नगरप्रमुखको अघिपछि गर्दै आफै घरपेटी भत्काउँदै हिँडे। उनीहरुको यो दृश्यले बिकासका लागि जनप्रतिनिधिहरु बिकासका लागि एक ठाउँ उभिएको भन्दै जनताबाट प्रशंसा समेत पाएको थियो । यही उदाहरणलाई प्रस्तुत गर्दै मुसिकोटका जनताले सुझाब रखेका छन् ‘रेसुङ्गाका मेयर पन्थीले झै चेन अफ कमाण्ड सम्हाल्ने हो कि मेयर साब ?’
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










