सागर भण्डारी, गुल्मी: आर्थिक अभावका कारण विद्यालय पुग्न नसकेकी मुसिकोटकी एक बालिकाको विद्यालय पढ्ने सपना पुरा भएको छ। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र उनलाई पढ्ने खर्चोभावका साथै अभिभावक विहिन मुसिकोट नगरपालिका-३ की एलिना राना विद्यालय जान थालेकी छिन।
केही महिना अगाडी जिटिभी नेपाल र ओझेलका खबरले ‘सरकार, मलाई पढाईदिनुहोस् न’ शीर्षकमा समाचार सम्प्रेषण गर्नुका साथै उनको अवस्थाका बारेमा भिडियो सामाग्री तैयार पारेको थियो । आफ्नो उमेर समुहका सबै साथीहरु झोलामा किताब लिएर विद्यालय दौँडिदा अर्थ अभावका कारण एलिना घरको कामधन्दा र पशुचौपायाको स्याहार सुसारमा लाग्नुपर्ने वाध्यात्मक स्थिति रहेको थियो।
४ वर्षकै उमेरमा आमा गुमाएकी उनलाई उक्त समाचार प्रकाशन भएपछि विभिन्न व्यक्तिहरुले पढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर उनी केही दिन अगाडी महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय वामीमा कक्षा ५ मा भर्ना भएकी थिईन् । विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहयोगमा उनलाई विद्यालय भर्ना गर्नुका साथै पोशाक समेत उपलब्ध गराएपश्चात उनी नियमित अध्ययन गरिरहेकी छिन्।
यसबीचमा उनलाई अध्ययनमा सहयोग गर्न हाल अमेरीकामा रहनुहुने कुमार राईले जिटिभि नेपाल मार्फत पठाउनुभएको नगद रु. २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। जिटिभी नेपालका अध्यक्ष दिपक नेपालीले विद्यालयमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको हो। उक्त पैसा मध्ये तत्कालका लागि ४ हजार बराबरको स्टेशनरी सामाग्री, स्कुल झोला लगायतका सामाग्री किनेर एलिनालाई हस्तान्तरण गरिएको छ । बाँकी रहेको २१ हजार रुपैयाँ उनको अध्ययनमा आवश्यकता अनुसार प्रयोग गर्ने गरी बैंकमा खाता खोलेर राखिने जिटिभिका अध्यक्ष नेपालीले बताउनुभयो।
सहयोग रकम ग्रहण गर्दै एलिनाले आफुलाई अध्ययनमा सहयोग गर्न विदेशबाट रकम पठाउनुहुने राईलाई धन्यवाद व्यक्त गरिन । विद्यालयकै सहयोगमा आफुले ५ कक्षामा भर्ना भएको भन्दै उनले आगामी दिनमा उक्त पैसाले आफ्नो अध्ययनमा ठुलो सहयोग पुग्ने बताईन्।
महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्माले रानाको अवस्थाको बारेमा थाहा पाएपश्चात आफुले पनि व्यक्तिगत रुपमा सहयोग गरि भर्ना गरेको बताउनुभयो । त्यस्तै उहाँले विद्यालयकी शिक्षिका समिक्षा आचार्यले पोशाक सहयोग गरेको भन्दै आगामी दिनमा पनि उनको अध्ययनका लागि विद्यालयले प्रदान गर्ने गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरी सहज रुपमा अध्ययन गर्ने वातावरण मिलाउने प्रतिबद्धता जनाउनुभयो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिटिभी नेपालका अध्यक्ष नेपालीसंगै प्रधानाध्यापक शर्मा, जिटिभि नेपालका व्यवस्थापक प्रकाश घिमिरे, सम्पादक सागर भण्डारी, भिडियोग्राफर सुरज नेपाली, नवखबर डटकमका सञ्चालक भुवन काफ्ले, विद्यालयका शिक्षक कुलराज शर्मा लगायतको उपस्थिति रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









