सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका ३ बेसहारा परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।
विभिन्न कारणले बेसहारा भई जिविकोपार्जन गर्न समेत कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सहयोगीदाताहरुको सहयोगमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो।
जिटिभि नेपालबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथामा उनीहरुका कथा व्यथा समेटिएको सामाग्री प्रशारण भएपछि बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल अमेरीकामा बस्दै आउनुभएका समाजसेवी लिल बहादुर थापा र समाजसेवी राधिका राईले सहयोग रकम पठाउनुभएको थियो ।
उक्त सहयोग रकम जिटिभि नेपालको तर्फबाट अध्यक्ष दिपक नेपाली र सम्पादक सागर भण्डारीले उनीहरुको घरमै गएर हस्तान्तरण गर्नुभएको हो । समाजसेवी लिल बहादुर थापाले नगद रु.५० हजार र राधिका राईले झण्डै २० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गर्नुभएको थियो।
मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट बराङकी जन्मजात सुस्त मनस्थितिकी आयुष्मा सर्तुङ्गी मगरको परिवारलाई झण्डै २० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । श्रीमानले छाडेपछि दैनिक गुजारा गरेर परिवारको जिविका चलाउँदै आउनुभएकी आयुष्माकी आमा अनिता सर्तुङ्गीले सहयोगी दुवै दाता प्रति धन्यवाद व्यक्त गर्नुभयो । “श्रीमानले ३ वर्ष भयो छाडेको, जेठी छोरीको अवस्था यस्तो छ दाम्लोमा बाँधेर मेलापात गर्न जानुपर्छ, अहिलेसम्म यसरी कतैबाट सहयोग आएको थिएन सहयोगी दाई दिदीलाई सधै दिन र खान पुगोस” अनिताले भन्नुभयो।
त्यस्तै मुसिकोट नगरपालिका वडा नं ३ तोलादीका सहराविहिन बुबाआमाका लागि पनि उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । १२ भाई छोराछोरी भएपनि बुढेसकालमा बेसहारा भएर निकै कष्टकर जीवन बिताईरहेका उनीहरुलाई घरमै पुगेर सहयोग वितरण गरिएको हो । आफ्ना छोरा त आफ्ना भएनन् आज कहाँ न कहाँका भाई छोराले सहयोग गरे, आँखामा आँसु निकाल्दै भन्नुभयो, ‘उहाँहरुको अझै फुलोस् फलोस्।’

त्यस्तै श्रीमानले छाडेपछि अपागं छोरीको साथमा एकल बेसहारा जीवन बिताईरहनुभएकी मुसिकोट नगरपालिका वडा नं १ की रिमा घिमिरेको परिवारलाई पनि सहयोग सामाग्री हस्तान्तरण गरिएको हो। उहाँकी १८ वर्षीय छोरी मेनुका घिमिरे पूर्ण रुपमा शारिरिक अशक्त हुनुहुन्छ । बोल्न र हिँड्न समेत नसक्ने छोरीको सहारा बनेर बस्नुभएकी घिमिरेले सहयोगीदाता प्रति धन्यवाद व्यक्त गर्नुभयो।
३ परिवारलाई चामल, दाल, नुन, तेल, चिनी, साबुन, सर्फ, आटा, चिउरा, फुरनदाना लगायतका अन्य विभिन्न खाद्यान्न सामाग्री वितरण गरिएको हो। समाजसेवी लिल बहादुर थापाले आफुले ३ परिवारकै बारेमा जिटिभि नेपालमा भिडियो देखेपछि दुःख लागेको भन्दै थोरै भएपनि सहयोग गर्ने हेतुले रकम पठाएको बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










