हुमाकान्त पोखरेल, गुल्मी: कार्यसम्पादन मूल्याकंनमा गुल्मीमा मदाने गाउँपालिका प्रथम भएको छ। संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्याकंनमा मदाने गाउँपालिका जिल्लामै प्रथम भएको हो।
कुल एक सय अंकमा ७६.०१ अंक ल्याउदैँ मदाने जिल्लामै प्रथम एवम् देशभरका ४६० गाउँपालिकामध्ये छैठौँ स्थानमा परेको छ। मदाने बाहेक जिल्लाका अन्य तीन पालिकाले मात्रै ७० अंक कटाएका छन्। रेसुङ्गा नगरपालिकाले ७३.६८, छत्रकोट गाउँपालिकाले ७१.८१ र गुल्मीदरबार गाउँपालिकाले ७१.४८ अंक ल्याएको प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ। गुल्मीमा सबैभन्दा कम कालिगण्डकी गाउँपालिकाले ५७.१७ अकं ल्याएको छ।
धुर्कोट गाउँपालिकाले ६६.८०, मालिका गाउँपालिकाले ६३.८७, मुसिकोट नगरपालिकाले ६३.३० अकं प्राप्त गरेका छन्। चन्द्रकोट गाउँपालिकाले ६२.४३, सत्यवती गाउँपालिकाले ६१.४५ र रुरुक्षेत्र गाउँपालिकाले ६१.३१ अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत १७ सूचकलाई मूल्यांकनको आधार बनाएको थियो। मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित निकायको पूर्ण सहयोगको कारण ७६।०१ सम्म अंक ल्याउन सफल भएको बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







