बागलुङ: प्रसिद्ध बागलुङ भगवती मन्दिरदेखि भकुण्डेसम्म केबुलकार बनाउने विषयमा छलफल शुरु भएको छ। पर्यटन क्षेत्रका अगुवा कृष्ण केसीको नेतृत्वमा प्राविधिक टोलीले प्रारम्भिक अध्ययन समेत गरेको र सरोकारवाला संगको छलफल पछि यो अभियानलाई अगाडि बढाइने जनाइएको छ।
मंगलवार जिल्ला समन्वय समितिमा भएको एक छलफलमा इन्जिनियर गुणराज ढकाल र रुपेश पुडासैनीले प्रारम्भिक संभाव्यताको लागि तयार पारेको प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संभाव्यता अध्ययन पटक पटक भएपनि लगानीको सुनिश्चितता नभएसम्म काम अगाडि बढाउँदा अलपत्र पर्ने बताए। उनले पहिलो चरणमा कालीका भगवती गुठी र भकुण्डेमा समेत ती संरचना बनाउने स्थान छनौट गर्नुपर्ने, जग्गा प्राप्ती गरेपछि लगानीकालागि नीजि क्षेत्रलाई आब्हान गर्नुपर्ने धारणा राखे।
सरकारी योजनामा परेपनि यहाँको पर्यटन प्रवद्र्धनकालागि स्थानीय नै सक्रिय बन्नुपर्ने श्रेष्ठको सुझाव थियो। ‘प्रधानमन्त्री आएपनि लगानी नीजि क्षेत्रको जुटाउनु पर्ने अबस्था छ’ श्रेष्ठले भने, ‘पूर्वाधार बनेपछि पर्यटनका अन्य कार्यक्रम समेत जोडिने गरी जग्गा खोज्न जरुरी छ ।’ बागलुङ नगरपालिकाले थालेको एक वडा एक ठूला पूर्वाधार योजनाको बजेट समेत यो अभियानमा जोड्न पहल गरिने उनले बताए।
कर्यक्रममा भकुण्डेका स्थानीय समेत सहभागि थिए। उक्त अवसरमा नगरउपप्रमुख राजु खड्काले योजना कोठामा बसेर नभइ आम नागरिकको माझमा बसेर बनाउनुपर्ने सुझाव दिए। ‘केवलकार बनाएर सरर जाने चाहना त सबैलाई छ, तर लगानीकर्ताले कहिले प्रतिफल पाउँछन् भन्ने समेत हिसाब गरेर जान सक्नुपर्छ’ उनले भने, ‘त्यसकालागि भकुण्डे मात्र नभइ नजिकैको भैरवस्थानलाईपनि जोड्न सक्नुपर्छ।’ धार्मिक पर्यटकहरु भित्रिने वातावरण नभएसम्म केवलकारको योजना अधुरो हुने उनले बताए।
कार्यक्रममा केसीले आगामी चैते दशैं सम्म डिपिआर बनाएर प्रस्तुतीकरण गर्नकालािग बागलुङ नगरपालिकाले अगुवाइ गर्नुपर्ने धारणा राखेका थिए। ‘हाम्रो क्षेत्र, जिल्ला र भूगोलकै प्रतिनिधित्व हुने गरी पर्यटन प्रवर्द्धनको काम हुँदैछ भने नगरपालिकाले किन अगुवाइ नगर्ने?’ केसीले भने, ‘भोलीका दिनमा स्थानीयले पनि शेयर लगानी गर्ने अबस्था आउँछ ।’ उनले नगरक्षेत्र भित्र भएकोले पहिलो पहल नगरको र त्यसपछि जिल्लाका सबै पालिका, प्रदेश र संघिय सरकार सम्मको हुनुपर्ने बताए।
कालीका मन्दिरमा अहिले पनि सयौं भक्तजन तथा धार्मिक पर्यटक आउने गरेका छन्। ती पर्यटकलाई भकुण्डे र भैरवस्थान सम्म लैजान सकेमा पर्यटनबाटै नगर र जिल्लाले लाखौं राजश्व समेत कमाउन सक्ने सहभागिले तर्क गरेका थिए। कार्यक्रममा काठेखोला गाउँपालिकाको घोडाबाँधेलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने अवस्था बारे छलफल भएको थियो। उक्त अवसरमा पर्यटन अभियान्ता महादेव शर्मा, काठेखोला गाउँपालिकाका पूर्व अध्यक्ष अमर थापा लगायतले पनि सुझाव दिएका थिए।
यस अघि शर्मा र केसीको पहलमा पहाडी ट्रेलको रुपमा भकुण्डे देखि सिगाना हुँदै रेश सम्मको पहाडी ट्रेल बनाएर अमेरिकाका भेगन समूहलाई भ्रमण समेत गराएका थिए। उक्त भ्रमणमा आएका पर्यटकले ६ दिन सम्मको पैदल यात्रा गरेर पहाडी वातावरण, जीवन शैली र संस्कृतिको अध्ययन अवलोकन गर्ने तथा हिमाली श्रृङ्खला हेर्दै बस्ने मौका पाएको बताएका थिए। त्यो अभियानलाई संस्थागत गर्दै पर्यटकीय रुट निर्माण गर्ने, केही स्थानमा पदमार्ग बनाउने र होमस्टेहरु थपेर पाहुना स्वागतको कार्यक्रम जोड्न पहल समेत भएको थियो। केवलकार बनाउने अभियानले उक्त रुटको विकासमा पनि थप योगदान पुग्ने सहभागिको भनाइ थियो। -ढोरपाटन न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










