गुल्मी: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले भिडियो एक्सरे सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन्। यो सेवा जिल्लामा अहिलेसम्म थिएन। भिडियो एक्सरेबाट गाई-भैंसीको बाँझोपनको समस्या र गर्भ परिक्षण गरिने छ। यी दुई प्रमुख समस्याको समाधान संगै पत्थरी, कलेजो लगायतका परिक्षण पनि हुने केन्द्रले जनाएको छ।
केन्द्रले भिडियो एक्सरे ल्याएसंगै इस्मा गाउँपालिका-६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्ना गाई-भैंसीको समस्या परिक्षण गराए। केन्द्रले नयाँ सेवा प्रवाह गरेको भन्दै घिमिरेले खुसी व्यक्त गरे। ‘उपचारमा प्रविधी भित्रिएकोमा खुसी छौँ। मैले पनि भिडियो एक्सरे मार्फत गाई (भैंसीको बाँझोपनको पहिचान गरेर उपचार गरिरहेको छु,’ उनले भने, ‘धेरै किसानले यो सुविधाको उपभोग गर्नुपर्छ।’
लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए।
पशुहरुमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन्। बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च खरेर पशुचौपाय पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
पशुहरुको गर्भ पहिचान अहिलेसम्म तीन महिनापछि हातले छामेर हुने गरेको थियो। कार्यालयमा मेसिन आएसंगै बाँझोपन निवारणका लागि किसानका घरघरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्नका लागि पालिकाका प्राविधिक मार्फत तथ्यांक संकलन भइरहेको छ। -स्रोत: नयाँ पत्रिका
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







