गुल्मी: गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ। विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो।
खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताउनुभयो। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए।
चिदिचौर खेल मैदानमा यसअघि रेसुङ्गा नगरपालिका-८ ले सवारीसाधन पार्किङ, सिक्न र सिकाउन निषेध गरेको छ। तर यसको कार्यान्वयन भएको छैन। आज दिनभर यहाँ १५ देखि २० सम्म जीप र १० देखि १५ सम्म मोटरसाइकल पार्किङ गरिएको थियो। सवारी साधन आएपछि चिदिचौरमा पार्किङ गर्दा खेल्ने समयमा नै असर गरेको छ।
पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकाले बढी सवारी हुँदा सवारीधनी आफैँले चिदिचौरमा पार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारी बताए। उनले आफूहरूले चाहेर पनि हटाउन नसकेको गुनासो गरे।
सर्वपक्षीय छलफलबाट पार्किङको स्थान तोकिने उनको भनाइ छ। तम्घासमा रहेको जीप पार्कमा सवारी पार्किङ कममात्रामा गरिएको छ। बसपार्क निकै साँघुरो रहेको छ।
खेल मैदानमा सवारी पार्किङ गर्न नहुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिलेले बताए। उनले सम्बन्धित निकायबाट पार्किङ स्थल अन्यत्र तोक्न आग्रह गरे।
रेसुङ्गा नगरपालिका ८ का वडाध्यक्ष निरञ्जन काउछाले वडाको तर्फबाट निषेध गरिएकाले सवारी सिक्न, सिकाउन र पार्किङ गर्न नहुने बताए। उनले यसको कार्यान्वयन हुने जानकारी दिए। -प्रतिक खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










