गुल्मी: गुल्मेली सोरठी भाग २ आज अपरान्ह २ बजे सार्वजनिक हुँदैछ। परार साल सार्वजनिक गरिएको गुल्मेली सोरठी भाग १ लाई दर्शक तथा श्रोताले दिएको माया र सद्भावका कारण दोस्रो भाग ‘रामायण सोरठी’ निर्माण पश्चात सार्वजनिक गर्न लागिएको हो। भाग १ ले धेरै दर्शक तथा श्रोताको माया पाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको थियो। जुन गुल्मेलीका लागि गौरवपूर्ण कुरा पनि हो।
मौलिक संस्कृती हाम्रा सभ्यता र पहिचान हुन्। यिनिहरुको संरक्षण र प्रवर्द्धन गर्नु सबै नेपालीको दायित्व हो। यसै मान्यतालाई शिरोपर गर्दै गुल्मीको मुसिकोट नगरपालिका, वामीमा जन्मेर हाल चेक रिपब्लिकलाई कर्मथलो बनाउँदै आउनुभएका संकृतिप्रेमी बैकुण्ठ रायमाझी र लोक गायक लिलसुगम छन्त्यालले मौलिक भाकाको सोरठी गीत निर्माण गर्नुभएको हो। जसमा स्वर लिल सुगम छन्त्याल, बैकुण्ठ रायमाझी र टिका पुनको रहेको छ।
यस सोरठी गीतका शब्द र संगीत संयोजन गायक स्वयं लिल सुगम छन्त्यालले गर्नुभएको हो। अनिशा गौतम, बबिता धिताल, उज्वल गिरी, बैकुण्ठ रायमाझी र साथीहरुको अभिनय रहेको म्युजिक भिडियोलाई लोकेन्द्र शाहले निर्देशन र मनिष पन्थले छायांकन गर्नुभएको हो।
यसैगरी मादलमा यम बहादुर थापा र लिल बहादुर थापाले साथ दिनुभएको छ। म्युजिक भिडियो निर्माणका क्रममा सहयोग गर्ने जमुना थापा, टिकुलीगढ देविनगर सोरठी समूह, गुरु कुल बहादुर छन्तेल, रेशम थापा र प्रेम बहादुर छन्तेललाई विशेष धन्यवाद व्यक्त गरिएको छ।
सोरठीको संक्षिप्त परिचय:
सोरठी प्राचीन मौरात सभ्यता भित्र उदय भएर हाल सम्म पनि नेपालको पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रमा बढी मात्रामा गाउने नाच्ने गरिन्छ। सबै सोरठीको श्रेय एघारौं सताब्दीमा सोह्र वर्षको उमेरमा मौरातकी रानी बनेकी सोरठीलाई नै जान्छ। उनले गाउने सोरठीलाई ‘सोह्र आँख्ली’ पनि भन्ने गरिन्छ। सोह्र आँख्ली सामान्य सोरठी भन्दा लामो हुन्छ।
सोरठी विभिन्न पौराणिक ग्रन्थहरूका कथामा आधारित रहेर गाउने गरिन्थ्यो भन्ने कुरालाई मध्यनजर गर्दै रामायण मको अरण्यकान्ड को श्रीराम-लक्ष्मण संवादको सानो पहेली २०७९ सांस्कृतिक पर्व तिहारको अवसर पारेर यस पटक एउटा अत्यन्तै प्रिय मौलिक सोरठीलाई संरक्षण गर्ने अभियानमा जोडिएको निर्माण पक्षले जानकारी दिएको छ।
सर्जक बैकुण्ठ रायमाझीले ओझेलका खबर डटकम संगको विशेष कुराकानीमा मौलिक लोक संस्कृति संरक्षण अभियान अन्तर्गत यो प्रयास दर्शक तथा श्रोतालाई राम्रो लाग्ने कुरा विश्वस्त हुँदै रचनात्मक सुझावको अपेक्षा पनि राखेको बताउनुभयो। पहिलो भागलाई झैँ यस भिडियोले पनि दर्शक तथा श्रोताको अपार माया र सद्भाव बटुल्ने कुरामा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










