बागलुङ: आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनले शुक्रबार औपचारिक प्रचार थालेको छ। गठबन्धनले शुक्रबार क्षेत्र नंं १ को निर्वाचन परिचालनको कार्यालय उद्घाटन गरेर काम थालेको हो।
राजमो अध्यक्ष चित्रबहादुर केसीले कार्यालयको उद्घाटन गरे । उनले धरापमा परेको गणतन्त्र जोगाउन सबै जनता एक हुनुपर्ने बताए।
‘धर्म निरपेक्षता, गणतन्त्र, समावेशी लोकतन्त्रलाई बचाउन गठबन्धन गरेर निर्वाचनमा जानु परेको हो’ उनले भने, ‘राजनीतिक संस्कार पनि जोगाउनु पर्छ ।’ निर्वाचन जित्ने नाउँमा जथाभावी खर्च गर्नेदेखि अस्वस्थ्य प्रतिष्पर्धा गर्न नहुने उनले सुझाए।
कार्यक्रममा कांग्रेस पूर्व सभापति दिपेन्द्र बहादुर थापा र अर्का उमेदवार डिल्लीराम सुवेदीले लोकतन्त्रको रक्षाका लागि आवधिक निर्वाचन आएजस्तै गणतन्त्रको रक्षाका लागि गणतन्त्रबादी दलहरु एक हुनुपर्ने बताए।
कार्यक्रममा सत्ता गठबन्धनका नेता तथा कार्यकर्ता सहभागि थिए । गठबन्धनले कार्यकर्ताका लागि एक दिने अभिमूखिकरण तथा प्रशिक्षण समेत आयोजना गरेको थियो । प्रशिक्षणमा दलका नेतृत्वले मन्तव्य राखेका थिए । उनीहरुले राजनीतिक इमान्दारिता प्रस्तुत गरेर गठबन्धन सफल पार्ने धारणा राखेका थिए।
शनिबारदेखि गठबन्धनले निर्वाचन प्रचारका कार्यक्रम लिएर गाउँ जाने सुवेदीले जानकारी दिए। ‘हामी कार्यक्रम लिएर जाँदैछौं, यो पटक आफ्नो विचार राखेर जनताको घरदैलोमा जान्छौं’ उनले भने, ‘प्रचारका नाउँमा भड्किलो काम गर्दैनौँ।’ उनले जनताले पचाउने खालको प्रचार शैली अपनाउने बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








