रूपन्देही: लगातार पाँचपटक संसदीय निर्वाचनमा जित हात पार्दै कम्युनिष्ट किल्लाका रूपमा रहेको गुल्मीको निर्वाचन क्षेत्र नं. २ मा यसपटक पनि कम्युनिष्टबीच नै प्रतिस्पर्धा हुने भएको छ। कांग्रेसले गठबन्धनका समाजवादी र माओवादीलाई प्रतिनिधिसभा तर्फको सिट दिएर प्रदेश सभाको एक क्षेत्र लिन सहमत भएपछि दुवै पार्टीका नेता टिकट लिने प्रतिस्पर्धामा छन्। गुल्मीको यो क्षेत्रमा बहुदलपछिको एउटा चुनाव मात्र कांग्रेसले जितेको छ।
गुल्मीमा २०७४ अघिसम्म तीन निर्वाचन क्षेत्र थिए । साबिकको ३ र अहिले २ बनेको क्षेत्रमा बहुदलपछिको २०४८ सालको चुनावमा कांग्रेसका रुद्रमणी शर्मा भण्डारीले संसदीय निर्वाचन जितेका थिए । त्यसपछि २०५१ सालमा एमालेका टंक पोखरेल विजयी भए । २०५६, २०७० र २०७४ सालका निर्वाचन एमालेका गोकर्ण विष्टले जिते । २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादीका चन्द्रबहादुर थापाले जितेका थिए।
२०६४ को निर्वाचनमा एमालेका विष्ट दोस्रो र कांग्रेसका सुरेशचन्द्र भुसाल तेस्रो भएका थिए । एक निर्वाचन बाहेक लगातार पाँचपटक चुनाव कम्युनिस्टले जितेको यो क्षेत्रमा यसपटक पनि कांग्रेसले गठबन्धनलाई छोडेपछि एमाले र माओवादी वा एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
यो क्षेत्रबाट एमालेले गोकर्ण विष्टलाई नै सिफारिस गरेको छ । उनीसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम पनि सिफारिसमा परेको छ । तर, विष्टले नै चुनाव लड्ने निश्चित छ । त्यस्तै माओवादीले युवा नेता भीमकान्त भण्डारी, निमबहादुर पाण्डे र वीरबहादुर कार्कीलाई सिफारिस गरेको छ । माओवादीले गुल्मीको क्षेत्र नं. २ पाएको अवस्थामा युवा नेता भण्डारी निश्चितजस्तै छन् । कांग्रेसले डा.दामोदर भुसाल, चन्द्रबहादुर केसी र त्रैलोक्यप्रताप सेनको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीले रामकुमारी झाँक्रीको एकल नाम सिफारिस गरेको छ।
कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले यस क्षेत्रमा गठबन्धनबाट झाँक्री र भण्डारीमध्ये एक उम्मेदवार हुने निश्चित भएको बताए। ‘अहिलेसम्म गठबन्धनबाट समाजवादी वा माओवादीले प्रतिनिधिसभाको चुनाव लड्ने र क्षेत्र नं. १ मा कांग्रेसले चुनाव लड्ने निश्चितजस्तै छ,’ उनले भने, ‘क्षेत्र नं. २ मा कांग्रेसले प्रदेश सभाको एक क्षेत्र मात्र लिनेछ ।’ गठबन्धनबाट कांग्रेसले चुनाव नलडेपछि टिकटका लागि माओवादी र समाजवादीको तीव्र प्रतिस्पर्धा छ । माओवादीका भण्डारीले कोरोना महामारीका बेला गुल्मीका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएर चर्चा बटुलेका थिए । जिल्ला नेतृत्वले पनि उनलाई उम्मेदवार बनाउन पार्टीमा दबाब दिएको छ।
एकीकृत समाजवादीबाट केन्द्रीय सचिव एवं पूर्वमन्त्री झाँक्री पनि उम्मेदवारको टिकटका लागि तीव्र लबिङमा छिन् । यद्यपि, झाँक्रीको आफ्नै पार्टी जिल्लामा छिन्नभिन्न भएको छ । जिल्ला इन्चार्ज र अध्यक्षसहितको ठूलो टिम एमालेमा फर्केपछि उनी आफैं संकटमा छिन् । तैपनि, उनी निरन्तर घरदैलोमा लागेकी छन्।
विकास आयोजना शिलान्यास र उद्घाटन पनि गरिरहेकी छन् । एमाले जिल्ला सचिव गणेश श्रीपालीले कांग्रेसले उम्मेदवार नदिएको अवस्थामा एमालेका नेता विष्टलाई जितका लागि सहज हुने दाबी गरे। विष्टले पनि आफ्नो क्षेत्रमा घरदैलो र भेटघाट अभियान चलाइरहेका छन्। -इकान्तिपुर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










