Hi-Speed Computer

Awareness Campaign

बागलुङ: सडकको एकातर्फ सवारी पार्किङ, अर्काेतर्फ व्यापारी, पैदलयात्री जाने कता?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

राजेश पराजुली, बागलुङ: दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार। बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ। भर्खरभर्खर विकासको गति लिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ। भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षितरुपमा विकास भएका हुन्।

तीनवटै बजारमा तीव्रगतिमा बस्ती विस्तार भइरहेको छ । दिनदिनै अव्यवस्थितरुपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । बढी चुनौती त पार्किङमा छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि सहरका रुपमा विकास भएका हटिया र बुर्तिबाङमा ठूलाठूला घर भवन निर्माण भइरहेका छन् । यसले गर्दा खुला ठाउँ कत्ति पनि छैन ।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने तथा रोकिने बुर्तिबाङ र गलकोटमा व्यवस्थित बसपार्क छैन । बुर्तिबाङ बजारमा बसपार्क भए पनि गलकोटमा भने छैन ।

Forest
Forest
Ad.

ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा बसपार्क भए पनि निकै साँघुरो छ । साँघुरो बसपार्कमा २० वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । त्यसले गर्दा चालकले जथाभावीरुपमा गाडी रोक्दा बजार नै अस्तव्यस्त बनेका छन् । त्यसमाथि पनि व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या थपिएको छ । “बजार साँघुरो छ, गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिड्ने, बसपार्क पनि यति सानो छ, व्यापारीले पनि सडकमै ल्याएर सामान राखेका छन्,” स्थानीयवासी जगत घर्तीले भने, “एकातिर गाडीले बाटो छेकेको छ, अर्कोतिर व्यापारीका सामानले, पैदल यात्रु कहाँबाट हिँड्ने?”

उनले १२ वर्ष अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउँछन । “आजभन्दा १२ वर्ष अगाडि बुर्तिबाङ बजार सुनसान थियो, घर थोरै थिए, अहिले जताततै भरिए, खाली ठाउँ कतै पनि छैन”, उनले भने, “विकास हुनु राम्रो हो त यसरी अस्तव्यस्तरुपमा भएको विकासले नागरिकले दुःख पाउँछन् ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले अहिले सञ्चालनमा आएको बसपार्क निकै साँघुरो हुँदा बजार व्यवस्थापनमा समस्या भएको बताए । नयाँ सहरी विकास आयोजनासँग सहकार्य गरेर वडा नम्बर १ को खप्तरीबाङमा खरिद भएको जग्गामा व्यवस्थित बसपार्क निर्माणका गरिने उनले बताए । “बसपार्क निर्माणका लागि दुई वर्ष अगाडि नै खप्तरीबाङमा जग्गा खरिद भइसकेको छ, अहिले सञ्चालनमा रहेको बसपार्क निकै साँघुरो छ, यहाँ धेरै गाडी राख्न मिल्दैन, यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ, यसको व्यवस्थापनमा नगरपालिका गम्भीर भएर लागेको छ”, उपप्रमुख कायतले भने, “नयाँ सहरी विकास आयोजनाले पनि बसपार्कका लागि जग्गा खोजिरहेको छ, अब आयोजनासँग समन्वय गरेर बसपार्क निर्माण गर्ने र अहिले भएको बसपार्कलाई कार्यक्रम स्थल बनाउने र अन्य गतिविधिका लागि प्रयोग गर्ने गरी योजना बनाएका छौँ ।”

उपप्रमुख कायतले लोकमार्ग कालोपत्र भएपछि यातायातको चाप निकै बढेको हुँदा बजार व्यवस्थापनमा समस्या परेको बताए । बुर्तिबाङ बजार नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार भएको हुँदा ढोरपाटन जाने पर्यटकका कारणले पनि यहाँ गाडी व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । अस्तव्यस्त सवारी साधनको पार्किङले बजारलाई नै कुरुप बनाएको भन्दै केही समयमा यो समस्याको समाधान गर्ने बताउँछन।

Awareness by SKF

“बुर्तिबाङ पर्यटकीय क्षेत्र ढोरपाटनको ढोका हो, यहाँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्छन्, उनीहरुले चढेर आएका गाडी यहाँ पार्किङ हुन्छ, त्यो बाहेक यहाँ सवारीको चाप बढ्नुका कारण लोकमार्ग राम्रो बन्नु हो, पहिले सडक राम्रो थिएन, टाढाटाढाबाट मान्छे आउँदैनथे”, उनले भने, “अहिले सेवासुविधाको हिसाबले बुर्तिबाङ विकास भयो, सडक राम्रो भयो, जताततै घरहरु भरिए, खाली ठाउँ भएन, त्यसले गर्दा समस्या आएको हो, यो समस्याको समाधानका लागि हामी प्रयास गरिरहेका छौँ ।

बुर्तिबाङ बजार निसीखोला, भुजीखोला र तमाखोलाको सङ्गमस्थल हो।

जिल्लाकै दोस्रो ठूला व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ तीनवटै क्षेत्रका बासिन्दा किनमेलका लागि बुर्तिबाङ झर्ने गर्छन् । अझ अहिले त मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाको किनमेल गर्ने ठाउँ बुर्तिबाङ बजार बनेको छ । बुर्तिबाङ बजारदेखि हरेक दिन दर्जनौँ गाडी देशका विभिन्न सहरमा पुग्ने गर्छन।

मध्यबागलुङमा पर्ने गलकोटको हटिया बजार पनि एक दशक अगाडिसम्म सुनसान थियो । मध्यपहाडी लोकमार्गले जोडिएपछि बजारमा परिणत भएको छ । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो छ । यहाँ पनि गाडी र मान्छेको चाप उस्तै हुँदा बजार व्यवस्थापनमा निकै चुनौती छ । गलकोटमा लोकमार्गमा सञ्चालन हुने तथा बजारदेखि ठूला सहर र ग्रामीण क्षेत्रमा चल्ने गाडीले बजार अस्तव्यस्त बनाएको छ।

सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको आवश्यक परेको स्थानीय बासिन्दा थम्मन थापाले बताउँछन । गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले भरिएको उनले बताए । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको थापा बताउँछन।

“तीव्र बजारीकरणका कारण गलकोटमा बसपार्कको अतिआवश्यक छ, सानो ठाउँ छ, धेरै मान्छे र सवारी साधान छन्, बजारको जता हे¥यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ”, उनले भन्नुभयो, “खुला ठाउँ भएको भए गाडी व्यवस्थापन गर्न पनि सजिलो, किनमेल गर्न बजार आउने मान्छेलाई फुटपाथमा हिँड्न पनि सजिलो हुन्थ्यो, अहिले त मान्छे उहीँ, गाडी उहीँ, यसले गर्दा दुर्घटनाको जोखिम त निकै बढायो।”

उनले कुनै समय ठूलो कार्यक्रम गर्दा मान्छेहरु राख्न नसक्ने, होटल अभाव हुने गलकोटमा अहिले सुविधा सम्पन्न होटल रेष्टुरेन्ट बनिरहेको भन्दै बाहिरी मान्छेसमेत यहाँ घुम्न आउने गरेको बताए । यहाँ जनसङ्ख्या बढ्नु र बाहिरी मान्छेको आगमनमा समेत वृद्धि हुँदा बजार व्यवस्थापनमा थप चुनौती थपिएको थापाको भनाइ छ ।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा बजार विस्तार भएको हुँदा बसपार्कको अतिआवश्यक परेको बताए। बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिरहेको उनको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको प्रमुख गैरे बताउँछन।

“जनघनत्व बढी भयो, सवारी साधन पनि बढे, त्यसकारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ”, नगर प्रमुख गैरेले भने “हामीले निकै प्रयास गरेका छौँ, जग्गा व्यवस्थापन हुँदासाथ प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गर्छौं।

अहिले बजार क्षेत्रको सडकलाई एकतर्फीरुपमा सञ्चालन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए ।गैरेले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारी साधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको जानकारी दिए।

यता जिल्ला सदरमुकाम बागलुङ बजारमा भने बसपार्क नभएका होइनन् । यहाँ दुई वटा बसपार्क छन् । वडा नं ३ मा चिप्लेटी बसपार्क र वडा नम्बर ४ उपल्लाचौरमा नयाँ आधुनिक बसपार्क निर्माण भएको छ। चिप्लेटी बसपार्क साँघुरो भएको हुँदा उपल्लाचौरमा नौ करोड लागतमा बसपार्क निर्माण गरिएको हो। निर्माण भएको एक वर्ष बितिसक्दा पनि यो बसपार्क सञ्चालनमा आउन सकेको छैन। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया