सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ की देउकला वि.क सबेरै ५ बजे बारीमा पुग्नुपर्छ। घरको धन्दा भन्दा पनि उनलाई बारीको मकै जोगाउने पिरलो छ। “बिहानै बारीमा निस्किन्छु देउकलाले भनिन्- बेलुकी अवेरसम्म नबसे बाँदरले मकै सखाप पारिदिन्छ, के गर्ने हाम्रो त बर्षभरी खानेखेती हो।”
सोही ठाउँकै कुमारी भर्तालले बाँदरले साह्रै सताएपछि मकै नपाक्दै स्याहार्नुपरेको गुनासो गरिन्। “अझै १/२ हप्ता बारीमा राख्न पाएको भए त मकै पाक्थ्यो होला के गर्ने बाँदरले खानुभन्दा बरु अलिअलि बाँकी रहेको मकै हरियै भएपनि काट्नुपर्यो।”
त्यसठाउँका स्थानीयको दैनिकी अहिले बाँदर धपाउँदै बित्ने गरेको छ। स्थानीय कुलबहादुर विश्वकर्माले जग्गा बाँझै राखे के खाने भन्ने पिरलो पर्ने तर खेती गरे बाँदरले नष्ट गरेर पीडित बनाएको गुनासो गरे। उनले ५ हल मेलोमा लगाएको मकैबाली आधा त बाँदरले नै नष्ट गरेको बताए।
पहिले पहिले भन्दा आजभोलि धेरै नै बाँदरको आतकं रहेको स्थानीय बताउँछन्। पहिले गाउँमा धेरै मान्छे बस्थे अहिले बसाईँसरेर हिँडे बाँदरको आहारा कम भएपछि घरघरमै आएर सास्ती दिने गरेको स्थानीय राजु नेपाली बताउँछन् । बाँदरले खेती नष्ट गरिदिएपछि बसाईँसराईँ समेत बढेको उनको बुझाई छ।
मकैले घोंगा हाल्दादेखि पाक्दासम्म उनको बारीमा बाँदरको बासै हुन्छ । चुनावका बेला भोट् माग्दा बाँदरको समस्या समाधान गर्ने भनेर आश्वासन दिएपनि स्थानीय सरकारले केही नगरेको उनको गुनासो छ।
मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारकी हुमकला सापकोटा बाँदरले गर्दा बारी नै बाँझो राख्ने सोचाईँमा छिन्। मकै रोपेपनि स्याहार्नुपर्ने हैन् बरु बाँझै राखे त खर्च बँच्छ उनले भनिन्- जग्गा बाँझै राखे कारबाही गर्ने नीति ल्याउने सरकारले किसानका समस्या पनि अध्ययन गर्नुपर्ने माग राखिन् । वामी बजारक्षेत्रमै बाँदरले हैरानी दिने गरेकाले धेरैले खेतबारी बाँझो राख्न थालेको उनले बताईन्।
मुसिकोट नगरपालिकाका ९ वटै वडाका किसान बादरको समस्याले आजित छन्। ठूलो समूहमा जङ्गलबाट आउने बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्ने गरेको छ।
बाँदरले मानिसलाई समेत आक्रमण गर्ने गरेको स्थानीयको गुनासो छ। ’घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ’, स्थानीय मिठे बिकले भने।
बाँदर नियन्त्रणको उपाय खोज्दै छौँ: नगरप्रमुख खरेल
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भईरहेको बताए। नगरपालिकाका प्रायः वडाहरुमा बाँदरको समस्या रहेकोले यसको दिर्घकालिन व्यवस्थापनकालागि अन्यत्रका स्थानीय तहले गरिरहेका अभ्यास र मुसिकोटको सन्धर्भमा यहाँको आवश्यकता र क्षतिको अवस्थालाई दृष्टिगत गरी छिट्टै त्यससम्बन्धी कार्यक्रम ल्याईने बताए।
उनले बाँदरका कारण क्षति भोगेका कृषकहरुलाई क्षतिको विवरण सकंलन गरी राहत उपलब्ध गराउने विषयमा पनि सोँच्न सकिने जानकारी दिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |