Awareness

Get Vaccinated

जून ताराको नतिजा प्रकाशन सँगै विजेता तथा उत्कृष्ट १० को मुक्तक र नाम प्रकाशित



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

जून तारा साहित्य समाजले असार २३ देखि ३२ गते सम्म आयोजना गरेको ‘आमा’ शिर्षकमा मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। १०८ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा हुम्लाका अनुराग विकाश क्षेत्री प्रथम, सुर्खेतका मिशन शर्मा द्वितीय, रुकुमका गंगाराम बुढा मगर तृतीय र नवलपुरकी प्रमिला पाठक सान्त्वना हुनुभएको छ। ओझेलका खबर डटकम यस प्रतियोगिताको मिडिया पार्टनर रहेको थियो।
पहिलो, दोस्रो, तेस्रो र चौथो हुने प्रतियोगीहरुका मुक्तक यसप्रकार रहेका छन्:

पहिलो:

म रिसाउँदा मलाई फकाउने मेरी आमा हुनुहुन्छ।
आफु रुँदापनि मलाई हँसाउने मेरी आमा हुनुहुन्छ॥
खाली पेटमा पटुकी कसी शिरमा सिङ्गो पहाड बोकी।
आफू पलपल मरि मलाई बचाउने मेरी आमा हुनुहुन्छ॥
– अनुराग विकास क्षेत्री (३४)
अदानचुली गा.पा.-१, हुम्ला, हाल मलेसिया

दोस्रो:

जुनसुकै परिस्थितीमा साथ दिने भगवान् लाग्छ।
आफूले नसम्झिए पनि सम्झिने भगवान् लाग्छ॥
अरुलाई आमा कस्तो लाग्छ त्यो त थाहा छैन।
मलाई त आमा प्रत्यक्ष देखिने भगवान् लाग्छ॥
– मिसन शर्मा ‘बाईबाई’ (२६)
गुर्भाकोट नगरपालिका-४, सुर्खेत

तेस्रो:

मेरो सारा जीवन यो ज्यानमा आमा हुनुहुन्छ।
भगवान् लाग्छ मेरो सम्मानमा आमा हुनुहुन्छ॥
ठिकै छ तिमीलाई पनि मुटुको ठाउँमा राखौँला।
तर यो मुटुको पहिलो स्थानमा आमा हुनुहुन्छ॥
– गंगाराम बुढा मगर (२८)
मुसिकोट-१०, रुकुम पश्चिम, हाल भारत

चौथो:

परेको खण्डमा सर्वस्व सुम्पिने ज्यान दिन सक्ने
जटिल परिस्थितिमा अगाडि आएर उभिन सक्ने
यस्तो अद्भुत शक्ति कहाँ हुन सक्छ र जो कोहीमा
आमा हुनुहुन्छ एउटा मैले मनैदेखी सम्झिन सक्ने
– प्रमिला पाठक (३०)
नवलपुर

उत्कृष्ट दश (टप टेन) मुक्तकहरु यस प्रकार रहेका छन्:
१.
मेरो शान मेरो पहिचान, मेरै आमा हुनुहुन्छ।
मेरा लागि त भगवान्, मेरै आमा हुनुहुन्छ॥
जन्माउनुभो, हुर्काउनुभो, यहाँ सम्म पुर्‍याउनुभो।
यो संसारमा सबैभन्दा महान मेरै आमा हुनुहुन्छ॥
– छविकिरण अधिकारी
बागचौर नगरपालिका-१०, पिपलनेटा, सल्यान

२.
जति नै कमाए नि हजार लाख किन्न सकिदैन।
धरोधर्म यो कुरा संधै याद राख किन्न सकिदैन॥
संसारका सबै चीज धन दौलतले किन्न सकेनी।
आमा र आमाको न्यानो काख किन्न सकिदैन॥
– सुरेन्द्र चौधरी 
लमही, दाङ

Awareness by SKF

३.
सम्मान गर दिलमा सजाऊ देवी हुन् आमा।
विश्वास गरी भगवान् बनाऊ देवि हुन् आमा॥
ढुङ्गा पुज्न मन्दिर धाउनु पर्दै पर्दैन तिमीले।
अब पुजा गरी फूल चढाऊ देवि हुन् आमा॥
– सुजाता सुवेदी ‘सुजु’ 
प्रकाशपुर, सुनसरी

४.
मलाई यो संसार देखाउने महान प्यारी आमा।
गलत बाटोबाट राख्ने सावधान प्यारी आमा॥
भगवान् कस्तो हुन्छ,त्यो त मलाई थाहा छैन।
तर मेरो लागि हजुर नै हो भगवान् प्यारी आमाख
– विरेन्द्र बि.एम.”बिन्दास”
पूर्वी रुकुम, हाल: दोहा कतार

५.
संसारको सबै भन्दा सुन्दर नारी हुन मेरी आमा।
हरेक दुःख पीडा बिसाउने छहारी हुन मेरी आमा॥
तेत्तिस कोटि देवताको रुप उनिमा नै पाउने गर्छु।
सन्तानको निम्ति मायाको फूलबारी हुन मेरी आमा॥
– कुशल श्रेष्ठ ‘कमल’

६.
विश्वास छ आमाले सधैं भलो चिताउने छिन्।
बरु आफैँ हारेर पनि मलाई जिताउने छिन॥
यो दशैमा मैले एक हप्ता बिताए गाउँमा।
आमाले त्यही हप्ता सम्झेर वर्ष बिताउने छिन्॥
– हेमन्त आँसु
महाकाली नगरपालिका-९, दार्चुला

७.
हाम्रो लागि जे पनि गर्ने मेरी प्यारी आमा हुन्।
धर्तीमा मर्नै परे बरु मर्ने मेरी प्यारी आमा हुन्॥
जीवनमा जस्तोसुकै दुःख पीडा बाध्यता भए पनि।
सहेर उज्यालो ज्योति छर्ने मेरी प्यारी आमा हुन्॥
– प्रयासी प्रविना पौडेल
ओखलढुङ्गा

८.
सके कुरा काट्छ बरु गुणगान गर्दै गरेन।
जन्माएको बिर्सेर हो या जानाजान गर्दै गरेन॥
सहर कुकुर डुलाउँनेलाई दर्शन गर्नेले।
गाउँमा आफ्नै आमाको सम्मान गर्दै गरेन॥
– दुर्गा सानु खड्का 
खोटेहाङ-२, खोटाङ

९.
पानी पिएर पेट भर्न तयार हुन्छिन आमा।
संघर्षको जँघार तर्न तयार हुन्छिन् आमा॥
दुनियामा भोकभोकै हिँड्न किन नपरोस्।
सन्तानको लागी मर्न तयार हुन्छिन् आमा॥
– प्रजित कुँवर
स्याङ्जा

१०.
घरको छानो चुहिदा भित्र पानीको ताल होला आमा।
हामी छुटिएको पनि त्यै पुरानै साल होला आमा॥
म सहरमा पसेकि छु गरिबीलाई हटाउँन भनेर।
एक्लै बसेकी छ्यौ घरमा कस्तो बेहाल होला आमा॥
– सपना कुवर
धादिङ


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया