कैलाली: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी एक आमाले बाटोमै शिशुलाई जन्म दिएकी छन्।
स्वामीकार्तिक खापर गाउँपालिका- २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया कार्तिका विकले बाटोमै शिशुलाई जन्म दिएकी हुन्।
सुत्केरी व्यथा लाग्नेबित्तिकै आफन्तले गाउँबाट एक घण्टा दूरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए। घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरालाई जन्म दिएको स्थानीय बलबहादुर विकले बताए । कार्तिका विकको यो तेस्रो बच्चा हो।
‘स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी होलान् भनेर लग्यौँ, त्यहाँ कोही पनि नभएपछि फिर्ता ल्याउँदै गर्दा बाटोमै छोरा जन्मिएको हो’ बल बहादुर विकले भने।
वडा अध्यक्ष अजयबहादुर विकले माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको प्रष्ट पारे । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि स्वास्थ्य चौकी कर्मचारीविहीन भएको अजयले बताए।
स्वास्थ्यचौकीमा कार्यरत अनमी, अहेव कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन। आवश्यकता आधारमा मात्र करार थप गर्ने वा विज्ञापनमार्फत भर्ना गर्ने बताएको भए पनि गाउँपालिकाले अहिलेसम्म कुनै निर्णय लिएको छैन। अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |