Hi-Speed Computer

Awareness Campaign

गुल्मी अस्पतालमा संरचना थपिदा बिरामीलाई सहज



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मी जिल्ला अस्पतालमा संरचना थप हुँदा बिरामीलाई सहज भएको छ । बिरामीको लागि प्रतिक्षालय, टोकन प्रणाली, अनलाईन प्रणाली लगायतका संरचनाले बिरामी एवम् सेवाग्राहीलाई सहज भएको हो ।

‘पहिले-पहिले त अस्पतालको गल्लिमा कोचिएर बस्नुपथ्र्यो ।’ मंगलबार अस्पतालमा सेवा लिन गएका रेसुङ्गा नगरपालिका – ४ का गोपाल प्रसाद गौतमले भने, ‘अहिले घाम–पानीमा पनि बाहिर आनन्दसँग बस्न पाइएको छ ।’ आफु महिनाको कम्तिमा दुई पटक अस्पताल आउने गरेकोमा पछिल्लो अढाई महिनायता प्रतिक्षालयमा बस्न पाएको बताउछन् । अर्घाखाँचीको मालारानी मरेङबाट सेवा लिएन आएकी खिमकला आचार्यले पनि पछिल्लो केही महिनायता अस्पतालमा सुधार भएको प्रतिक्रिया दिइन् ।

टोकन प्रणाली लागु गरेपछि पहुँचवाला व्यक्तिले अरुको पालो नमिच्ने उनले बताइन् । ‘प्रतिक्षालय र टोकन प्रणालीले धेरै आनन्द महसुस भएको छ ।’ उनले भनिन्, ‘बाहिर बसेर टिभि हेरेपछि उपचारको पालो नआउदा पनि दिन कटेको पत्तै हुँदैन ।’ रेसुङ्गा नगरपालिका २ कि तुलसा खनालले पनि टोकन प्रणाली लागु भएदेखि धेरै सहज भएको बताइन् । आफन्त नभएका बिरामी वा बृद्ध–बृद्धाका लागि टोकन प्रणालीले सजिलो भएको उनको भनाई छ । दिउँसोमा ड्युटि गर्ने सुरक्षाकर्मीले पनि कहिलेकाँही टोकन काटेर दिदाँ झनै सहज भएको उनले बताइन् ।

Forest
Forest
Ad.

गुल्मी अस्पतालमा अध्यक्ष भरत पाण्डेयले पदभार ग्रहण गरेकै दिन टोकन प्रणालीको सुरुवात गरेका थिए । चैत ६ गतेबाट सुरु भएको टोकन प्रणालीको कुल लागत चार लाख ९८ हजार ३३० रहेको छ । सबै बिरामीको पालो टोकन नम्बरका आधारमा निर्धारण हुने भएकोले पहुँचका आधारमा उपचार गराउने प्रणालीमा कमि आएको छ । अस्पतालमा गत वैशाखबाट सेवाग्राहीका लागि प्रतिक्षालय कक्षको निर्माण गरिएको छ । अस्पतालको बाहिर खाली जग्गामा निर्माण गरिएको प्रतिक्षालयको लागत तीन लाख ४० हजार ६५ रहेको अस्पतालका जिन्सी शाखा प्रमुख भिम खनालले जानकारी दिए।

प्रतिक्षालयमा एकपटकमा टिभि हेर्दै ६० जनासम्म बस्न मिल्छ । प्रतिक्षालय निर्माण भएसँगै अस्पतालको गल्लिमा बिरामीहरु कोचिएर बस्नुपर्ने बाध्यतामा कमी आएको छ । अस्पतालमा स्वास्थ्य बीमा र सामाजिक सेवा इकाईको छुट्टै कक्ष निर्माण भएको छ । बिरामीले टिकट काट्ने ठाउँनजिकै उक्त सेवा संचालन गरिएकोले बिरामीलाई बिमा कार्ड लिन जान समेत सहज भएको छ । उक्त कक्षको लागत तीन लाख ६५ हजार चार रहेको न्यौपानेले बताए।े अस्पतालमा कोजेन्ट सफ्टवयरबाट सेवा प्रवाह भएको छ।

गुल्मी अस्पतालमा पछिल्लो समय ल्याब सेवाको पनि विस्तार गरिएको छ । अस्पतालमा थाइराइड, ट्युमर मार्कर अर्थात क्यान्सर, मधुमेह विशेष परीक्षण, बाथरोग, रक्त अल्पत्ता, टिभि, कलेजो र मुटुको जाँच एवम् हैजासम्बन्धी परीक्षण सेवा सचालन आएको हो । लुम्बिनी प्रदेशका ५० शैयाका अस्पतामध्ये धेरै ल्याबका सुविधा भएको गुल्मी अस्पताल प्रशासनले जनाएको छ।

दरबन्दी रिक्त हुँदा काममा समस्या

Awareness by SKF

गुल्मी अस्पतालमा कुल ५९ दरबन्दी छन् । जसमध्ये अहिले १८ जनामात्रै छन् । कार्यरतमध्ये दरबन्दी करारमा ११, छात्रवृत्ती करारमा पाँच र कार्यक्रम करारमा तीन जना रहेका छन् । अस्पतालमा ४१ जनाको दरबन्दी रिक्त रहेको छ । अहिले चार जना अध्ययन बिदामा छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याका अनुसार आवश्यक सङ्ख्यामा डाक्टर एवम् स्वास्थ्यकर्मीहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । ‘दिनहुँ शल्यिक्रिया भइरहेका छन् तर अझैपनि विशेषज्ञ सेवा दिन सकेका छैनौ ।’ पच्याले भने।

११ महिनामा ६१ हजार सेवाग्राही

अस्पतालमा ११ महिनामा ६१ हजारले सेवा लिएका छन् । अस्पतालमा गत साउनदेखि जेठसम्म ६१ हजार १७० ले सेवा लिएका हुन् । साउनमा चार हजार ९९८, भदौमा पाँच हजार ४९२, असौजमा पाँच हजार ४८५, कात्तिकमा चार हजार ९४४, मंसिरमा पाँच हजार ९०, पौषमा पाँच हजार २३३ जनाले सेवा लिएका छन्। त्यस्तै माघमा चार हजार ५६१, फागुनमा छ हजार ४०३, चैतमा छ हजार ६९८, वैशाखमा पाँच हजार ३० र जेठमा छ हजार ७३६ जनाले सेवा लिएको अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर बाबुराम पोख्रेलले जानकारी दिए।

स्वास्थ्य अधिकार प्रत्याभूतिको लागि लागिपरेका छौँ: पाण्डेय

अस्पताल विकास समिति अध्यक्ष भरत पाण्डेयले अस्पतालको सेवा सुधार उन्मुख रहेको बताए। आफ्नो कार्यकालमा जसरी पनि केही विशेषज्ञ डाक्टरहरु ल्याउने र आइसियु सेवा संचालन गर्ने पाण्डेले बताए। ‘जनशक्ति ल्याउनको लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।’ उनले भने, ‘संविधानमा उल्लेख गरिएका नागरिकको स्वास्थ्य अधिकार प्रत्याभूतिको लागि लागि परेका छौँ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया