सागर भण्डारी, गुल्मी: प्राथमिक तहसम्म उपचारको पहुँच टोल-टोलमै पुर्याउन मुसिकोट नगरपालिकाले सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई परिचालन गर्ने भएको छ।
नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि समेत स्वास्थ्य चौकीमै धाउनुपर्ने बाध्यतालाई चिर्न नगरपालिकाले टोलमै प्राथमिक स्वास्थ्य उपचार हुने गरी नगरभित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्राथमिक उपचार सामग्री रहेको बक्स वितरण गरेको छ।
बुधबार नगरपालिकाले नगरभित्र रहेका १ सय १९ जना सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई बक्स वितरण गरेको हो। नगरप्रमुखको रुपमा पदबहाली ग्रहण गर्दा नै आफुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिने गरी प्राथमिक उपचार बक्स वितरण गर्ने पहिलो निर्णय गरेको भन्दै नगरप्रमुख जीवन खरेलले उक्त निर्णय कार्यान्वयन भएको बताए।
खरेलले नेपालका महिला स्वास्थ्य स्वयं सेविकाहरुले विभिन्न चरणमा गरेका कार्यहरुको विश्वभर प्रशंसा हुने गरेको भन्दै आफ्नो टोल र छिमेकमा प्राथमिक र आधारभूत स्वास्थ्य उपचारको पहुँच पुर्याउन पनि उच्च भूमिका खेल्ने आफुले अपेक्षा गरेको बताए।

नगरप्रमुख खरेलले स्वास्थ्य स्वयं सेविकाहरुको भावना बुझेर अगाडि बढ्ने बताउँदै उत्कृष्ट स्वयं सेविकाहरुलाई प्रोत्साहन एवं पुरस्कृत गर्ने खालका कार्यक्रम ल्याउने बताए।
नगर उपप्रमुख गगां श्रेष्ठले आफुले १८ वर्ष महिला स्वास्थ्य स्वयं सेविका भएर काम गरेको अनुभव सुनाउँदै स्वयं सेविकाहरुको पिडा आफुले नजिकबाट बुझेको बताइन् । श्रेष्ठले अन्य कर्मचारीको तलब बढ्दा महिला स्वास्थ्य स्वयं सेविकाहरु अन्यायमा परेको भन्दै नगरपालिकाले स्वयंसेविकाहरुका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिइन्। उनले मुसिकोट नगरपालिकाले स्वास्थ्य आमा समुहको बैठकमा खाजाको व्यवस्था गरिएको समेत जानकारी दिइन्।
मुसिकोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमानन्द भुषालले सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुले समाजको सामाजिक तथा आर्थिक मनोविज्ञान बुझेकाले उनीहरुको व्यवहारले पनि उपचारको काम गर्ने बताए । भुषालले मुसिकोट नगरपालिकाले स्वयं सेविकाहरुको विषयमा मागका आधारमा र समयक्रममा आएका सेवा सुविधालाई कार्यान्वयन गर्ने समेत बताए।
मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार उक्त बक्समा २० प्रकारका प्राथमिक उपचार सामग्री तथा औषधीहरु रहेका छन्। गाउँमा हुने स-साना स्वास्थ्य समस्याहरुको घरघरमै सेवा दिन मुसिकोट नगरपालिकाले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई उक्त बक्स वितरण गरेको जिसीले बताए।
स्वास्थ्य सह–संयोजक पुष्कर गौतमले सरकारले लिने स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सफल बनाउन महिला स्वास्थ्य स्वयं सेविकाहरुको भूमिका प्रमुख रहेको भन्दै मुसिकोट नगरपालिकाले प्राथमिक उपचार टोलमै पुर्याउने लिएको लक्ष्य पनि जिम्मेवारी पूर्वक पुरा गर्ने विश्वास व्यक्त गरे।
महिला स्वास्थ्य स्वयं सेविका हुमकला खरालले नगरपालिकाले आफुहरुलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै यसलाई पुरा गर्ने प्रतिबद्धता जनाइन् । उनले आफुहरु यस्ता अन्य जिम्मेवारी बहन गर्न तत्पर रहेपनि सेवा सुविधामा भने स्थानीय सरकारले पनि ध्यान दिन आग्रह गरिन्।
प्राथमिक बक्स वितरण कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत समितिका प्रमुख एवं सामुदायिक स्वास्थ्य स्वयं सेविका र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










