सागर भण्डारी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा सरोकारवालाहरुसंग अन्तरक्रिया, छलफल र सुझाव संकलनको गरेको छ।
कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा जानकारी दिनुभएको थियो। कार्यक्रममा सहभागीहरुले स्थानीय तहले नागरिकको नजिकको सरकारको रुपमा प्रत्याभूत हुने गरी काम गर्न सुझाव दिएका थिए ।
सहकारीको तर्फबाट विवेक पेमीले सहकारीहरुको प्रवद्र्धन र क्षमता विकासमा नगरले योजना बनाउनुपर्ने भन्दै नागरिकहरुलई आर्थिक उपार्जनसगं जोड्न सहकारीहरुसगं सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनुभयो । त्यस्तै उद्योग वाणिज्य सघं मुसिकोटका सुन्दर प्रधानले एउटा व्यवसायको ईजाजत लिई थुप्रै व्यवसायहरु सञ्चालन गर्ने गरेको,मूल्य पसल पक्ष फरक रहेको लगायतका विषयमा नगरले अनुगमन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले लामो समयदेखि वामीबजारको फोहोर व्यवस्थापन हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै फोहोर व्यवस्थापनको दिर्घकालिन योजना ल्याउन आग्रह गर्नुभयो ।
राजनैतिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चाका ईश्वरी प्रसाद आचार्यले नगरपालिकाले दिने अनुदानहरुको दुरुपयोग हुन नदिन समय समयमा अनुगमन गर्ने,बर्खायाम सुरु भएसगैं मोटरबाटो खन्ने परिपाटीको अन्त्य गर्नुपर्ने,प्राविधिक एवम् व्यवसायिक शिक्षामा लगानी बढाउनुपर्ने र टुक्रे योजनाहरु भन्दा पनि दिर्घकालिन महत्वका योजनाहरुलाई बढी महत्व दिने गरी योजना बनाउन सुझाव दिनुभयो।
त्यस्तै नेपाली काँग्रेसका नगरसचिव मधुसुदन रायमाझीले ग्रामीण बस्तीहरुबाट नगरको केन्द्रसम्म आउने सडकहरुको स्तरवृद्धि गर्नुपर्ने र भुगोल अनुसार करको मूल्य निर्धारण गर्न सुझाव दिनुभयो । नेपाली काँग्रेसकै तर्फबाट पूर्व जिल्ला सचिव हरिनारायण सापकोटाले स्थानीय श्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकहरुलाई आर्थिक उपार्जनसगं जोड्न सकिने भएकाले ती सम्भावनाहरुको खोजी गरी कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो । उहाँले अझै पनि आर्थिक अभावमा कतिपय विद्यार्थीहरु शिक्षाको पहुँचमा पुग्न नसकेकाले गरिब विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन सचेतना एवम् नगरले शैक्षिक सामाग्री खर्च उपलब्ध गराउने कार्यक्रम ल्याउन आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने र सामाजिक सुरक्षा भत्ता वितरणमा नागरिकले खेप्दै आएको सास्तीलाई कम गर्ने योजना ल्याउन सुझाव दिनुभयो।
नेकपा एमाले मुसिकोट नगरकमिटी उपाध्यक्ष राम बहादुर थापाले नगरले ल्याउने हरेक कार्यक्रम र योजना उत्कृष्ट भएपनि कार्यान्वयन र अनुगमनको पक्ष कमजोर रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले निशुल्क शिक्षा भने पनि कतिपय सामुदायिक विद्यालयहरुले अझै पनि शुल्क लिने गरेकाले नगरपालिकाले मिनाहा गर्ने योजना ल्याउन सुझाव दिनुभयो । त्यस्तै समय समयमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना गर्न,विद्यार्थीहरुको आँखा परिक्षण गर्ने,मुख्य सडकहरुलाई कालोपत्रे गर्ने र वातावरणीय पर्यावरणको ख्याल नगरी अवैद्य रुपमा हुने नदी दोहनलाई नियन्त्रण गर्ने कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो।
नेकपा एमालेकै तर्फबाट लुम्बिनी प्रदेश कमिटी सदस्य अग्नीधर लोहोनीले कृषकहरुले उत्पादन गरेका कृषि सामाग्रीहरुको बजार ग्यारेन्टी गर्ने,सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई झन्झट मुक्त बनाउन र सहुलियतमा कृषि कर्जा उपलब्ध गराउने कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभयो।
मुसिकोट नगरपालिकाका पूर्व नगरप्रमुख सोमनाथ सापकोटाले विगतको ५ वर्षे कार्यकालमा मुसिकोट नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबीच स्थानीय सरकार सञ्चालनका विषयमा अभ्यास भईसकेकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई काम गर्न सहज हुने बताउनुभयो। उहाँले अब नगरपालिकाले पूर्वाधार विकास भन्दा पनि सामाजिक र आर्थिक विकासमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले बिप्रेषण मार्फत मुसिकोटमा भित्रने पैसा यही नगरभित्रै लगानी हुन सक्ने गरी नीति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो
कार्यक्रममा उठेका सुझावहरुलाई सम्बोधन गर्दै नगरप्रमुख जीवन खरेलले निकै महत्वपूणर् र अर्थपूणर् सुझावहरु आएकाले सबैलाई समेटेर नीति तथा कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले कृषि विकास र सिँचाई सुविधालाई प्रमुख प्राथमिकतामा राखेर योजना बनाएको भन्दै उत्पादन बढाउने र उत्पादित सामाग्रीको बजार ग्यारेन्टी हुने गरी विक्री सुनिश्चित गर्न चुनौती भएपनि आगामी नीति तथा कार्यक्रममै यसलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम निर्माण गर्ने बताउनुभयो । नगरप्रमुख खरेलले त्यसका लागि नगरपालिकाले कृषि उपज विनिमय बजारको निर्माण गर्ने समेत धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,बैकं तथा वित्तिय संस्थाका प्रमुखहरु, सहकारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |