Awareness

पुरानै लयमा फर्किदै लुम्बिनीको पर्यटन व्यवसाय

खबर पर्यटन

Place for ads

बुटवल: कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ। कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए। कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए।

तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशाको सञ्चार जगाएको लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले बताए। लुम्बिनीमा चहलपहल बढेसँगै घुम्न आउनेहरू पनि उत्साही देखिएका छन्। ‘यसले व्यवसायीलाई मात्र नभई घुम्न आउनेहरुलाई पनि उत्साही बनाएको हामीले पाएका छौं’, उनले भने।

Get Vaccinated

अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने महासचिव शर्माले बताए। ‘कोरोना कहर हट्दै जान थालेपछि लुम्बिनी आउन थालेका पर्यटकहरूका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनु जरुरी छ, नभए पर्यटन व्यवसायले खासै फाइदा उठाउन सक्दैन,’ उनले भने।

कोभिड-१९ को संक्रमणदर कम हुँदै जाँदा यतिबेला लुम्बिनीमा पर्यटकहरूको भीड लाग्न थालेको छ। तेस्रो मुलुकबाट भित्रिनेको संख्या बढ्दै गएको बेला अहिले भारतबाट आउने पर्यटकहरूको संख्या उल्लेख्य छ। संक्रमण नियन्त्रण उन्मुख भएसँगै खुला भएका विद्यालयहरू शैक्षिक भ्रमणमा निस्किन थालेका छन्। लुम्बिनीमा अहिले शैक्षिक भ्रमणमा आउनेको संख्या बढेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

सबै क्षेत्र खुला भएसँगै दैनिक ३ देखि ४ हजार पर्यटक भ्रमणका लागि आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। लुम्बिनीमा अघिल्ला महिनाहरूको तुलनामा पर्यटक बढ्दै गएको कोषका सूचना अधिकारी राजन बस्नेतले बताए।

लकडाउनमा सबै क्षेत्र ठप्प हुँदा लुम्बिनी विकास कोषले यहाँको सौन्दर्यीकरणका साथै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ। त्यसैले पनि पछिल्लो समय लुम्बिनी आउनेहरूको संख्या बढ्न थालेको कोषको भनाइ छ। ज्योतिन्यूज डटकमबाट यो खबर साभार गरिएको हो।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *