अनिल खत्री, गुल्मी: गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माणको काम तिव्र गतिमा अगाडी बढेको छ। गुल्मी अस्पताल स्थापना भएको लामो समयदेखि जीर्ण र साँघुरो भवनबाट सेवा प्रवाह गर्न बाध्य रहेको थियो।
भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणले तिब्रता पाएपछि खुसी छाएको छ। गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको थियो।
अब गुल्मी अस्पतालको सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण कामको तिव्र गतिमा अगाडी बढेको छ। २०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडी बढेको छ।
जिल्ला अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ भवनबाट रकम विनियोजन गरेको छ। अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा निर्माणको काम अगाडी बढेको हो।
गत साउन १५ गतेबाट निर्माणको काम सुरु भएको भवनको मंसिरको पहिलो सातासम्म १२ प्रतिशत काम भएको निर्माण कम्पनीका साहयक इन्जीनियर निरञ्जन ठाकुर बताए। यहि गतिमा काम गर्दै गए अबको डेढवर्ष भित्र काम सम्पन्न हुने उनले बताए।
भवन निर्माणको लागि दिन रात गरेर २४ सै घण्टा काम भइरहेको छ। अहिले फाउण्डेशन निर्माणको काम भइरहेको छ।
गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन। पाँच तले नयाँ भवनमा दुई वटा अप्रेशन कक्ष हुनेछन् भने आईसीयु, सर्जिकल, जेष्ठ नागरिक कक्ष, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था सहितको हुने गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए। संरचना निर्माण भएपछि सम्बन्धी विशेषज्ञ पनि परिपूर्ति हुनसके जिल्ला वासीको निम्ति ठूलो खुसीको कुरा रहेको डाक्टर पच्चाको भनाई छ।
अहिले आबश्यक संरचना नहुदा चाहेर पनि बिरामी भर्ना गर्न कठिनाइ हुने गरेको उनले बताए। अहिले पनि गुल्मी अस्पतालबाट ठाउँकै कारण सेवामा कुनै कमी नभएको डाक्टर पच्चाको भनाई छ।
नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नी लगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन्। नयाँ भवन निर्माणसँगै गुल्मीमै थप सेवा बिस्तार हुनेभएकाले गुल्मीवासीको लागि खुसीको कुरा रहेको स्थानीय घनश्याम पाण्डेले बताए।
भवन निर्माणसँगै जिल्लाले स्वास्थ्यको क्षेत्रमा धेरै फडको माने उनले बताए। भवन छिटो निर्माण भए गुल्मीबाट उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता धेरै कम हुने पाण्डेले बताए।
अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता छ। अस्पतालको नयाँ संरचना निर्माणसँगै उपचारकै लागि पाल्पा, वुटवल र काठमाडौं जानुपर्ने बाध्यताको अत्य हुनेछ भनेर पत्रकार अनिल खत्रीले गुल्मी न्यूज डटकममा यो खबर लेख्नुभएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |