गुल्मी: मानव बेचबिखन अभियोगमा पक्राउ परेका गुल्मी सत्यवती गाउँपालिका-४ का ५२ वर्षीय नेत्रलाल ज्ञवालीविरुद्ध अनुसन्धानमा जुटेका प्रहरी त्यतिबेला आश्चर्यमा परे, जब उनी कलेजको अध्यापक भएको तथ्य खुल्यो।
अनुुसन्धानका क्रममा प्रहरीले ज्ञवालीले अंग्रेजी विषयमा डबल मास्टर्स (लिटरेचर र लिङ्ग्विस्टिक) गरेको फेला पार्यो। ज्ञवाली कुलेश्वरस्थित जनमैत्री कलेजमा ‘पार्ट टाइम’ पढाउँथे। उनको ‘फुल टाइम’ भने यौनधन्दाका लागि ग्राहक खोज्नुमा बित्थ्यो।
कोटेश्वरको भाटभटेनी सुपर मार्केटनजिकै नेवारी खाजाघर थियो। खाजाघरमा यौनधन्दा चल्थ्यो। सञ्चालिका थिइन्, भक्तपुरकी माया भनिने उर्मिला श्रेष्ठ। धन्दाका लागि ग्राहक खोज्ने जिम्मा भने ज्ञवालीको थियो।
गत १७ कात्तिकमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट पक्राउ परेका उनको सम्बन्धमा ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्, ‘खाजाघरमा यौनधन्दा सञ्चालन भएको सूचनापछि हामीले अपरेसन चलायौँ। यही क्रममा नेत्रलाल पक्राउ परे। अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चर रहेको खुल्यो। शैक्षिक योग्यता हेर्दा उनले त अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन्।’
एसएसपी दुर्गा सिंह, प्रमुख मानव बेचबिखन अनुसन्धान ब्युरो
खाजाघरमा यौनधन्दा सञ्चालन भएको सूचनापछि हामीले अपरेसन चलायौँ। यही क्रममा नेत्रलाल पक्राउ परे। अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चरर रहेको खुल्यो। शैक्षिक योग्यता हेर्दा उनले अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन्।
खाजाघरमा यौनधन्दा
यौनधन्दा चलेको सूचनापछि ब्युरो र माइती नेपालको संयुक्त टोलीले २५ भदौमा खाजाघरमा छापा मार्यो। घरबाट पाँचभन्दा धेरै किशोरी उद्धार गरिए। उनीहरूलाई माइती नेपालको आश्रयमा राखियो। पहिलोपटकको बयानमा किशोरीहरू खाजाघरको सम्बन्धमा खुल्न चाहेनन्। महिना दिनको काउन्सिलिङपछि उद्धार गरिएकामध्येकी १६ वर्षीया विनिता शर्माले (परिवर्तित नाम) खाजाघरमा यौनधन्दा चल्ने गरेको खुलाइन्।
बयानका क्रममा उनले दैनिक पाँचजना भन्दा धेरै ग्राहकलाई सेवा दिनुपरेको र ग्राहकबाट प्राप्त रकम खाजाघर सञ्चालिका उर्मिलाले लिने गरेको बताइन्। ग्राहक खोज्ने काम भने नेत्रलाल ज्ञवालीबाट हुने गरेको खुलेपछि प्रहरी खोजीमा जुट्यो। केही दिनको खोजीपछि उनी पक्राउ परे।
अनुसन्धानका क्रममा खुल्यो, यौनधन्दामा संलग्न उनी कलेजका लेक्चरसमेत रहेछन्। तर, खाजाघर सञ्चालिका उर्मिलालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। ‘खाजाघर सञ्चालिका र नेत्रलाल लिभिङ टुगेदरमा बस्ने रहेछन्। खाजाघरमा यौनधन्दा चल्ने रहेछ। ग्राहक खोज्ने काम भने नेत्रलालले गर्ने रहेछन्। किशोरीसँगको बयानबाट यही खुलेको छ। खाजाघर सञ्चालिका र धन्दामा संलग्न अर्को एकजना फरार छन्। खोजीकार्य तीव्र पारेका छौँ। केही दिनभित्रै उनीहरू पक्राउ पर्नेछन्,’ ब्युरो प्रमुख एसएसपी सिंहले भनिन्।
प्रहरीका अनुसार बयान दिने किशोरी काठमाडौंकै स्थानीय हुन्। उनी अहिले यौनरोगबाट ग्रसित छिन्। माइती नेपालको आश्रयमा रहेकी उनले सानैमा आमा गुमाएकी थिइन्। आर्थिक अभावपछि उनको अध्ययन पनि अघि बढ्न सकेन। आफन्तकहाँ बसिरहेकी उनी गत वैशाखबाट उर्मिलाको खाजाघरमा कार्यरत थिइन्। खाजाघरमा उनलाई दिदीको छोराले लगेर राखेका थिए।
सरकारी अधिकृतबाट रिटायर्डपछि यौनधन्दा सञ्चालन
नेपाल सरकारको अवकाशबप्राप्त अधिकृत हुन्, ठुटे बुढा भनिने दीपबहादुर श्रेष्ठ। स्वास्थ्य विभागअन्तर्गत कार्यरत उनी अवकाश भएलगत्तै होटेल व्यवसायमा लागे। कोटेश्वरमा दिपलक्ष्मी खाजा तथा गेस्टहाउस खोले।
गेस्टहाउसमा मदिरासँगै यौनधन्दा पनि चलाउन थाले। धन्दाका लागि किशोरी खोज्ने जिम्मा प्रिया भनिने विमला विकले लिएकी थिइन्। यौनधन्दा चलाउने गरेको सूचनापछि प्रहरीले गेस्टहाउसमा छापा मार्यो। नभन्दै एक किशोरी बन्धक बनाइएको अवस्थामा भेटिइन्। उनैको बयानका आधारमा प्रहरीले दीप र विमलालाई पक्राउ गर्यो। पक्राउ परेका दुवै अहिले पुर्पक्षका लागि जेलमा छन्।
उपत्यकाका खाजाघर प्रहरीको निगरानीमा
उपत्यकाभित्रका खाजा तथा गेस्टहाउसमा यौनधन्दा सञ्चालन हुने गरेको भेटिएपछि प्रहरीले निगरानी बढाएको छ। सूचना संकलनका लागि प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ। यसक्रममा धन्दामा संलग्न पाँचजना पक्राउ परेका छन्। उद्धार गरिएका युवतीलाई भने माइती नेपालको आश्रयमा राखिएका छन्। अन्तरिक तवरले हुने मानव बेचबिखनजस्ता अपराध रोक्न प्रहरीले यस्तो अपरेसन चलाउनुपरेको ब्युरो प्रमुख एसएसपी सिंहले बताइन्।
‘मानव बेचबिखनजस्ता जघन्य अपराध अन्तरदेशीय मात्रै हुने होइन, देशभित्र पनि हुने गरेका छन्। यसप्रति प्रहरी सचेत छ। उपत्यकाभित्रका खाजाघरमा यस्ता धन्दा हुने गरेको सूचना हामीले पाएका छौँ। त्यसो हुँदा त्यस्ता घर हाम्रो निगरानीमा छन्। केहीमा छापा मारेका छौँ,’ उनले भनिन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |