Awareness

Get Vaccinated

गुल्मीको धुर्कोटमा १९० जनाले एकीकृत घुम्ती शिविरबाट लिए सेवा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: धुर्कोट गाउँपालिका-१, नयाँगाउँका बुद्धिराम पोखरेल २२ बर्षअघि भारतमा दुर्घटनामा परे। दुर्घटनामा परी उनको ढाड भाँचियो। अहिले दुवै खुट्टा चल्दैनन्। अहिले उनलाई जाँच गराउन प्रत्येक तीन महिनामा एक पटक पाल्पा जानुपर्छ।

यहि समयमा धुर्कोट गाउँपालिकाले स्वास्थ्य सेवा सहितको एकीकृत घुम्ती शिविर संचालन गर्यो। सोही शिविर अन्तर्गत उनले तम्घासबाट गएका स्वास्थ्यकर्मीसँग खुट्टाको जाँच गराए।

त्यसले गर्दा उनलाई पाल्पा जाने-आउने समय र खर्चको बचत भएको छ। ‘जाँच गराउन पाल्पा जाँदा/आउँदा धेरै खर्चिलो हुन्थ्यो।’ उनले भने, ‘घरदैलोमै गाउँपालिकाले शिविर संचालन गर्दा फाइदा पुगेको छ।’ उनले एक महिनाको लागि निःशुल्क औषधी पनि पाएका छन्।

अघाँखाँचीको खनदह निवासी ६५ बर्षिय रमादेवी खनालले पनि स्वास्थ्य शिविरबाट दम, प्रेसर, ग्यास्ट्रिक लगायतको औषधी पाइन्। रेडियोमा सुचना बजेर स्वास्थ्य शिविरबारे थाहा पाएकी उनले शिविरले आफुजस्ता धेरैलाई फाइदा पुगेको बताइन्। ‘तम्घासमा पाइने सेवा यही (नयाँगाउँ) पाइएको छ।’ उनले भनिन, ‘समय र खर्चको बचत भएको छ।’

बुद्धि र रमादेवीले मात्र होइन, नयाँगाउँकी हिरा कुमारी घर्तीले पनि एकीकृत घुम्ती शिविरबाट सेवा लिइन्। सेवामा उनले गोरुको लागि औषधी लगिन्। ‘गोबर परीक्षणदेखि औषधीसम्म पाइदो रहेछ।’ उनले भनिन्, ‘पालिकाको कार्यालयबाट दिने सेवा नै वडाबाट पाउँदा स्थानीय सरकार घरमै आएजस्तो लाग्यो।’

गाउँपालिकादेखि भुगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै धुर्कोट गाउँपालिकाले सोमबार वडा नम्बर १ नयाँगाउँमा एकीकृत घुम्ती सेवाको संचालन गर्यो। शिविरबाट पशुको लागि गोबर परीक्षण र औषधी वितरण, राजस्व बुझ्ने, व्यवसायीको लागि फर्म दर्ता र नविकरण सेवा प्रदान गरिएको थियो।

ज्येष्ठ नागरिकको लागि परिचय पत्र वितरण, अपाङ्गता परिचय पत्र वितरण, सनराइज बैंकमा खाता खोल्ने सेवा नयाँगाउँमा प्रदान गरेको छ। त्यस्तै तम्घासको शुभलक्ष्मी फर्मासँगको सहकार्यमा भिडियो एक्सरे सहितको स्वास्थ्य सेवा पनि संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिए।

Awareness by SKF

एकदिने शिविरबाट नयाँगाउँका ९८१ बाख्रा तथा ५६ भैँसीलाई औषधी वितरण गरिएको छ। त्यस्तै ७० बाख्रा र ३५ भैँसीको गोबर परीक्षण गरिएको छ। पशुतर्फ कुल १८२ घरपरिवारले सेवा लिएका छन्। सनराइज बैंकमा २३ जनाले नयाँ खाता खोलेका छन्।

कृषि, पशु र पसल नविकरण नौ जना तथा पाँच जनाले नयाँ दर्ता गरेको गाउँपालिकाका कम्युटर अपरेटर झविन्द्र भण्डारीले जानकारी दिए। कुल १९० जनाले स्वास्थ्य परीक्षण गरेका छन् भने १५८ भन्दा धेरैलाई ज्येष्ठ नागरिकको परिचय पत्र वितरण गरिएको भण्डारीले जानकारी दिए।

नागरिकलाई सहज सेवाका लागि गाउँपालिकाले घुम्ती सेवा संचालन गरेको हो। केही समयपछि यो सेवा वडा नम्बर २ पिपलधारा, वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लामा पनि संचालन गर्ने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

‘संघीयताको सफल कार्यान्वयन अन्तर्गत टाढा रहेका ठाउँमा सेवा प्रदान गर्ने उद्येश्य हो।’ उनले भने, ‘यसबाट नागरिकलाई धेरै सहज भएको छ।’ खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया