गोविन्द कंडेल, गुल्मी: जिल्लाको मुसिकोट नगरपालिकामा गए राती एक विद्यालयमा तोडफोड भएको छ।
नगरपालिकाकाे वडा नं. ५, तल्लाफाँटमा अवस्थित श्री शिव शंकर मा.वि.मा अज्ञात व्यक्तिको समूहले तोडफोड गरी चोरीको प्रयास गरेको बताइएको छ। अज्ञात व्यक्तिले विद्यालयको च्यानल गेट र कार्यालयमा लगाइएको ताला फोडी कार्यालयमा रहेका २ वटा स्टिल दराजमा तोडफोड गर्नुका साथै रहेका कागजात लथालिंग पारिदिएको विद्यालयले जनाएको छ।
कार्यालयमा नगद नरहेको र जिन्सी सामग्री चोरी नभएको विद्यालयका प्रधानाध्यापक बाबुराम काफ्लेले बताउनु भयो। तोडफोडको खबर प्राप्त भए पश्चात तुराङ्ग प्रहरी चौकी मजुवा र मुसिकोट नगरपालिकाले विद्यालयमा अनुगमन गरेको छ। नगरपालिका कार्यालयबाट अनुगमनमा जानु भएका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वडा नं. ५ मा यस्ता घटना दोहोरिएकोले गम्भिर अनुसन्धान गर्नुपर्ने बताउनु भयो।
साथै उहाँले तोडफोडका कारण कमि हुने फर्निचर व्यवस्थापनका लागि नगरपालिकामा समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनु भयो। स्मरण रहोस्, गत असारमा वडा नं. ५ को कार्यालयमा समेत तोडफोड हुनुका साथै नगद चोरी भएको थियो।