Awareness

Get Vaccinated

भित्र्याउन ठिक्क पारेको धानबाली बर्षाले पुर्यायो क्षति, किसान चिन्तितद



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बुटवल: दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुर्याएको छ। धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्याएको छ।

रुपन्देही मर्चवारका राम अवतार यादवले पाँच बिगाहा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए। ‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी वर्षा सुरु भयो। वर्षभरिको मेहनत खेर गर्यो,’ उनले भने।

धेरैजासो किसान दसैं मनाएर धान काट्ने तयारीमा थिए। केही किसानले धान काट्न सुरु पनि गरेका थिए। काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्याएको छ। बुटवल उपमहानगरपालिका-१५, रानीगन्जका जीतबहादुर रानाले एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पुर्याएको बताए। ‘यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै नष्ट गर्यो,’ उनले भने।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो। रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाईलगायतका स्थानीय तहमा धान काटिसकेको हुनाले धान खेतमै डुबेको छ । थोरैले मात्र उठाउन भ्याएका छन्।

ओमसतिया गाउँपालिका–५ का गजेन्द्र चौधरीले पनि सबै धानबाली डुबानमा परेको बताए। समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो। यसवर्ष समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६५ हजारभन्दा बढीमा धान खेती गरिएको छ। रुपन्देही समेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए। ‘हामीले स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौं, एक दुई दिनमै थाहा हुन्छ,’ उनले भने।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया