Smoking Causes Cancer

मालिका बज्यूसँग जोडिएको मेरो जीवनकथा : सात घण्टाको पैदल यात्रादेखि अटुट आस्थासम्म



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

बाबुराम महत, कतार । गुल्मीको मुसिकोट नगरपालिका–६, कुर्घामा अवस्थित प्रसिद्ध मालिका देवी मन्दिर मेरा लागि केवल पूजाआजा गर्ने धार्मिक स्थल होइन। यो मेरो बाल्यकालका सम्झना, परिवारको दुःख, बुबाको आँसु, एउटा भावुक प्रार्थना र जीवनभर नमेटिने आस्थासँग जोडिएको पवित्र धरोहर हो।

कसैका लागि मन्दिर धार्मिक विश्वासको केन्द्र होला, कसैका लागि मनोकामना पूरा हुने आस्थाको थलो। तर मेरा लागि मालिका बज्यूको मन्दिर आफ्नै विगतसँग भेट हुने ठाउँ हो। वर्षौँसम्म दर्शन गर्न नपाए पनि मालिका बज्यूको सम्झना मेरो मनबाट कहिल्यै टाढा हुन सकेन।

धर्म, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गमका रूपमा परिचित मालिका क्षेत्रमा आगामी मङ्सिर ५ देखि ८ गतेसम्म ‘मालिका पूर्णिमा मेला–२०८३’ आयोजना हुँदैछ। यस मेलाले धार्मिक आस्थासँगै यहाँको मौलिक संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरेको छु।

सिंचाई
Forest
Ad.

सात घण्टाको पैदल यात्रा र बाल्यकालको उत्साह
मेरो जन्मथलो इस्मा गाउँपालिका–३, रामकोट हो। त्यहाँबाट मालिका मन्दिर पुग्न त्यतिबेला करिब सात घण्टा पैदल हिँड्नुपर्थ्यो। अहिले जस्तो सडक र यातायातको सुविधा थिएन।

तिहार सकिएपछि कोदो नल काट्ने र खेतीपातीको काममा गाउँलेहरू व्यस्त भइरहेका बेला मालिका जाने तयारी पनि सुरु हुन्थ्यो। मालिका जाने कुरा गाउँघरमा सामान्य विषय थिएन। एक साताअघिदेखि नै कसले के लैजाने, को–को सँगै जाने र कुन दिन हिँड्ने भन्ने सल्लाह हुन थाल्थ्यो। बालबालिकादेखि वृद्धवृद्धासम्ममा छुट्टै उत्साह देखिन्थ्यो।

म पनि सानैदेखि बुबासँगै मालिका जाने अवसर पाउँथेँ। पाठी डोर्‍याउँदै लगातार पाँच वर्षसम्म मालिका बज्यूको दर्शन गर्न गएको सम्झना आज पनि आँखाअगाडि घुमिरहन्छ ।

बिहान सबेरै घरबाट सुरु भएको पैदल यात्रा साँझ मन्दिर पुगेर मात्र टुङ्गिन्थ्यो। बाटोको थकानभन्दा मन्दिर पुग्ने उत्साह ठूलो हुन्थ्यो।
अहिले सडक र यातायातको सुविधा पुगेको छ। यात्रा सहज भएको छ। तर घण्टौँको पैदल यात्रामा पाइने आनन्द, बाटोभरिका रमाइला कुराकानी र मन्दिर पुग्दाको उत्साह भने बेग्लै थियो।

Awareness by SKF

बुबाको आँसु र मालिका बज्यूसँग मागिएको वर
मेरो परिवारमा मालिका देवीप्रतिको श्रद्धा र विश्वास गहिरो हुनुको पछाडि एउटा हृदयविदारक पारिवारिक घटना छ।
म जन्मनुभन्दा पहिले मेरा दाजु करिब छ वर्षका हुनुहुन्थ्यो। एक दिन इस्मा–३, ठाडुङ्गा क्षेत्रका एक व्यक्ति मादलमा खरी हाल्न मादल बजाउँदै रामकोटको ठुलापोखरा हुँदै पातलको जङ्गलबाट हर्पुकोटतर्फ जाँदै रहेछन्। त्यसै क्रममा ठुलापोखरामा खेलिरहेका मेरा दाजु ती व्यक्तिलाई पछ्याउँदै जानुभएछ।

पोखरीबाट केही तल लोहोसेको जङ्गल पुगेपछि ती व्यक्तिले घर फर्किन भन्नुभएछ र आफू हर्पुकोटतर्फ लाग्नुभएछ। तर बाक्लो झाडी र अप्ठ्यारो बाटोका कारण दाजुले बाटो बिराउनुभएछ। त्यही क्रममा भिरबाट लडेर उहाँको दुःखद निधन भएछ। पछि गाउँलेहरूले खोजी गर्दै जाँदा जङ्गलमा उहाँको शव फेला पारेछन्।

दाजुको शव घरमा ल्याइपुर्‍याउँदा हाम्रो परिवारमाथि बज्रपात परेछ। बुबा शोकले विक्षिप्त हुनुभएछ। आफ्नै काखमा छोराको शव राखेर रुँदै, भावविह्वल हुँदै मालिका देवीतर्फ फर्केर उहाँले चिच्याउँदै वर माग्नुभएको रहेछ।

बुबाको त्यो प्रार्थना थियो—‘हे मालिका बज्यू ! मेरो अर्को सन्तानका रूपमा यही छोरालाई मेरै कोखमा फेरि जन्म दिनुहोस्।’ यो घटना मैले प्रत्यक्ष देखेको होइन। परिवारका अग्रजहरूबाट पटक–पटक सुन्दै आएको हुँ। तर बुबाको त्यो पीडा र प्रार्थनाको कथा सम्झँदा आज पनि मन भारी हुन्छ।

परिवारका अग्रजहरूका अनुसार त्यसको केही समयपछि मेरो जन्म भयो। त्यसको तीन वर्षपछि भाइको पनि जन्म भएपछि बुबाआमा खुसी हुनुभयो। त्यसपछि हाम्रो परिवारमा मालिका देवीप्रतिको आस्था अझ प्रगाढ बन्दै गयो। हरेक वर्ष भाकल, श्रद्धा र पूजाआराधना गर्ने परम्परा बस्यो।

सायद यही पारिवारिक कथाले गर्दा मेरो मनमा मालिका बज्यूप्रतिको विश्वास बाल्यकालदेखि नै विशेष रहँदै आएको छ। रातभरि गुञ्जिने झाम्रे र उघोखोले गीत
त्यतिबेलाको मालिका मेला अहिलेको जस्तो व्यवस्थित र आधुनिक थिएन। त्यहाँको वास्तविक आकर्षण भनेकै मौलिक लोकसंस्कृति र परम्परा थियो।

मन्दिर पुग्दा विभिन्न समूहमा डम्फु, मादल र अन्य बाजाका तालमा उघोखोले तथा झाम्रे गीतहरू गुञ्जिरहेका हुन्थे। रातभरि गीतसङ्गीत, नाचगान र रमाइलो चल्थ्यो। कहिलेकाहीँ गीत गाउने समूहहरूबीच सामान्य विवाद र झगडासमेत हुन्थे।

रात बितेको पत्तै हुँदैनथ्यो। झाम्रे र दोहोरी गीत सुन्दै रात कटेपछि बिहान करिब चार बजेदेखि मन्दिरमा भेटी चढाउने, पूजा गर्ने र वर माग्ने भक्तजनहरूको भीड लाग्थ्यो। मालिका देवीलाई चिच्याएर आफ्नो मनोकामना सुनाउने यहाँको परम्परा निकै अनौठो र आकर्षक लाग्थ्यो। टाढा–टाढासम्म आवाज सुनिने गरी भक्तजनहरूले आफ्ना दुःख, पीडा र मनोकामना व्यक्त गर्थे। कसैले सन्तान माग्थे, कसैले परिवारको सुखशान्ति त कसैले जीवनका अप्ठ्यारा परिस्थितिबाट मुक्ति पाऊँ भनी प्रार्थना गर्थे।

बाल्यकालमा ती दृश्यहरू देख्दा मनमा पनि देवीप्रति छुट्टै श्रद्धा जाग्थ्यो। त्यतिबेला गौमुखी धारोको नजिकै सानो मन्दिर थियो। अहिले त्यही क्षेत्रमा सुन्दर र व्यवस्थित मन्दिर निर्माण भएको देख्दा निकै खुसी लाग्छ। समयसँगै मालिका क्षेत्रको स्वरूप फेरिएको छ, तर त्यहाँको धार्मिक महत्त्व र जनविश्वास भने उस्तै छ।

पैदल यात्राको थकान, तर मनमा असीम आनन्द
अहिले सम्झँदा ती दिनहरू साँच्चिकै अविस्मरणीय लाग्छन्। एक दिनअघि छदेखि सात घण्टा पैदल हिँडेर मन्दिर पुग्ने, रातभरि जाग्राम बस्ने र भोलिपल्ट फेरि लामो दूरी पैदल हिँडेर घर फर्कने।

घर पुगेपछि दुई–चार दिनसम्म शरीर थाकिरहन्थ्यो। खुट्टामा काँडा बिझेजस्तो पीडा हुन्थ्यो। तर पनि अर्को वर्ष फेरि मालिका जाने रहर घट्दैनथ्यो।
वैदेशिक रोजगारीका कारण लामो समयसम्म मालिका बज्यूको दर्शन गर्ने अवसर मिलेन। करिब दुई वर्षअघि मात्र पुनः त्यहाँ पुगेर दर्शन गर्ने सौभाग्य प्राप्त भयो। अहिले सडक र यातायातको सुविधा पुगेकाले यात्रा धेरै सहज भएको रहेछ।

तर आधुनिक सुविधाले यात्रा सहज बनाए पनि बाल्यकालको त्यो पैदल यात्रामा पाइने आनन्द र आत्मीयता भने बेग्लै थियो। तिलक दाइको भाकल र बुटवलबाट मालिका यात्रा मालिका देवीसँग जोडिएको अर्को सम्झना पनि मेरो मनमा ताजै छ। करिब १३ वर्षअघि म बुटवलमा बस्दै गर्दा मेरा माइला बुबाका छोरा तिलक महत दाइको एउटा भाकल थियो।

उहाँले बुटवलबाट एउटा बोका गाडीमा राखेर ल्याउनुभएको थियो। हामी दुई भाइ इन्द्रेगौडा होटलमा बसेर भोलिपल्ट झिसमिसेमै मोटरसाइकलमा मालिका मन्दिर पुगेका थियौँ।
पूजाआजा सम्पन्न गरेपछि इन्द्रेगौडा होटलमा गाउँ तथा बुटवलतिरबाट आएका पाहुनाहरूलाई प्रसाद खुवाएर फर्किएका थियौँ। समय बित्दै गए पनि त्यो दिनको सम्झना अझै ताजै छ।

बाल्यकालको एउटा गल्ती, अहिले पनि मनमा पछुतो
मालिका यात्राका सबै सम्झना सुखद मात्र छैनन्। एउटा घटना सम्झँदा अहिले पनि मनमा पछुतो लाग्छ। एकपटक बुबा साथमा नहुँदा गाउँका साथीहरूसँगै म पनि मालिका गएको थिएँ। रातभरि झाम्रे र दोहोरी गीत हेर्दा भोक लाग्यो। मसँग पैसा पनि थिएन।

त्यही बेला एक जना साथीले त्यहाँ उडिरहेका परेवा समातेर झोलामा राखेका रहेछन्। भुवाचिदी आइपुगेपछि त्यो कुरा थाहा भयो। त्यसपछि एउटा होटलमा लगेर पकाउन लगाई भातसँग खाएका थियौँ।

त्यतिबेला बाल्यकालको अज्ञानतामा गरिएको त्यो काम अहिले सम्झँदा नराम्रो लाग्छ। चराचुरुङ्गी र वन्यजन्तु पनि प्रकृतिका अमूल्य सम्पत्ति हुन्, तिनको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो भन्ने कुरा उमेर र अनुभवसँगै बुझ्दै गएको छु।

आज त्यो घटना सम्झँदा नयाँ पुस्तालाई प्रकृति र जीवजन्तुप्रति संवेदनशील बन्न सिकाउनुपर्छ भन्ने लाग्छ।
मालिका दर्शनसँगै स्वारा गाउँको संस्कृति हेर्ने रहर
मालिका मन्दिरभन्दा माथि रहेको स्वारा गाउँमा गुरुङ समुदायको सुन्दर बस्ती छ। त्यहाँको मौलिक रहनसहन, संस्कृति, परम्परा र आतिथ्यताबारे सुन्ने अवसर पाएको छु।

त्यहाँ सञ्चालित होमस्टेमा पुगेर स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्ने रहर पनि मनमा छ। मालिका देवीको दर्शनसँगै स्वारा गाउँको प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र स्थानीय परिकारको स्वाद लिन पाए यात्रा अझ स्मरणीय हुने थियो।

धार्मिक पर्यटनलाई स्थानीय संस्कृति र होमस्टेसँग जोड्न सके यस क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान पुग्न सक्छ। मालिका पूर्णिमा मेला–२०८३ : आस्था जोगाऔँ, पर्यटन बढाऔँ !

यहि मङ्सिर ५ देखि ८ गतेसम्म आयोजना हुने मालिका पूर्णिमा मेला–२०८३ मा सहभागी भई मालिका देवीको दर्शन गर्न, मौलिक लोकसंस्कृतिको आनन्द लिन र स्वारा गाउँको प्राकृतिक सुन्दरता अवलोकन गर्न सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी, पर्यटक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछु।

आफ्नो धर्म र संस्कृति जोगाउनु भनेको आफ्नो पहिचान जोगाउनु हो। आउनुहोस्, मालिका क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई देश–विदेशसम्म चिनाऔँ। जय मालिका बज्यू !

(  लेखक महत कतार स्थित ओझेलका खबर प्रतिनिधि हुन  )

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो