तम्घास । देवीले सुन्नुहुन्न भन्ने जनविश्वास छ। त्यसैले यहाँ भक्तजनहरू सामान्य स्वरमा होइन, चिच्याएर आफ्ना मनोकामना पुकार्छन्। कसैले दुःख सुनाउँछन्, कसैले सुख र समृद्धिको वर माग्छन्। यही अनौठो धार्मिक विश्वास र परम्पराले गुल्मीको मुसिकोट नगरपालिका–६, कुर्घास्थित मालिका देवीस्थानलाई विशिष्ट पहिचान दिएको छ।
यही धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कुर्घामा आजदेखि १२औँ मालिका पूर्णिमा मेला सुरु हुँदैछ। मंसिर ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजक मालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्थानीय धार्मिक जनविश्वासअनुसार मालिका देवी कान नसुन्ने देवीका रूपमा परिचित हुनुहुन्छ। त्यसैले देवीसमक्ष पुग्ने भक्तजनले आफ्ना मनोकामना चिच्याएर सुनाउने र वर माग्ने परम्परा रहेको यस क्षेत्रका सामाजिक अगुवा ज्ञानहरि सापकोटा बताउनुहुन्छ।
झरनामा अवस्थित मालिका देवीको दर्शन तथा पूजाआराधना गर्न टाढाटाढाबाट समेत भक्तजन आउने गरेको उहाँको भनाइ छ। परम्परागत उप्त दिन मङ्सिर ८ गते विहान रहेको र ३ / ४ बजे देखि नै भक्तजनको लाम लाग्ने उहाँले जानकारी दिनुभयो ।
मेला संयोजक प्रकाश थापाका अनुसार मेलामा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ८१ हजार रुपैयाँ र द्वितीय हुने टोलीले ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, खुला भेट्रान्स भलिबल (३५ वर्षमाथि) तर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।.
खुला एकल रेकर्ड नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार १००, ६ हजार १०० र ४ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै घैँटोफोड र कुर्सी दौड प्रतियोगितासमेत आयोजना गरिनेछ।
मेलामा मुसिकोट नगरपालिका–६ का अगुवा कृषकलाई सम्मान गरिनेछ भने नगरपालिका वडा नं. १ देखि ९ सम्मका कृषकका उत्पादन समेटेर कृषि प्रदर्शनी आयोजना हुनेछ। कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सांगीतिक तथा सांस्कृतिक कार्यक्रमतर्फ ईश्वर सिंह, विष्णु श्रीपाली र सीमा थापालगायत राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिनेछन्। त्यसैगरी नेवार समुदायको लाखे नाच, मालारानीका मगर समुदायको सोरठी र घाटु नाच, कुमाल समुदायको हेम्फै नाच, गुरुङ समुदायको टोटे नाच तथा भुवाचिदी र आँपचौरको लोकभजन प्रस्तुत गरिने मेला संयोजक थापाले जानकारी दिनुभयो।
धार्मिक आस्था, मौलिक परम्परा, स्थानीय कला, कृषि र खेलकुदलाई एउटै उत्सवमा जोड्ने प्रयासका रूपमा मालिका पूर्णिमा मेलालाई लिइएको छ। मेलालाई भव्य र सफल बनाउन मालिका मन्दिर व्यवस्थापन समितिले स्थानीयवासी, खेलप्रेमी, कलाकार, भक्तजन तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेको छ।
…….
पोस्ट मिति : २०८३ मंसिर ५ गते
समय : बिहान ८.५५ बजे
……..
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









