नवलपुर, । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का लागि सवारी दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ। कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक महिनाको कार्य प्रगति विवरण अनुसार एक महिनाको अवधिमा जिल्लाभर ५७ वटा गम्भीर प्रकृतिका सवारी दुर्घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल पण्डितद्वारा जारी प्रेस विज्ञप्ति अनुसार कार्तिक महिनामा भएका ५७ वटै दुर्घटनामा प्रहरी टोली खटिएर उद्धार कार्य गरेको छ।
ती दुर्घटनाहरूमध्ये सवारी ज्यानतर्फ ७ वटा मुद्दा दर्ता भएका छन्। पालिकागत तथ्याङ्क हेर्दा कावासोती नगरपालिकामा मात्रै ६ वटा र देवचुली नगरपालिकामा १ वटा सवारी ज्यान मुद्दा दर्ता भएका हुन्।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले पूर्व–पश्चिम राजमार्ग तथा भित्री वडा एरियाहरूमा सवारी चालकहरूलाई सम्झाई बुझाई गर्ने कार्यक्रम सञ्चालन गर्नुका साथै मापसे (मादक पदार्थ सेवन) र लापसे (लागुऔषध सेवन) चेकिङलाई तीव्रता दिएको जनाएको छ। सवारी चेकिङको क्रममा प्रहरीले कार्तिक महिनामा मात्रै रु. १० लाख १३ हजार राजस्व संकलन गरेको छ।
प्रगतिको पाटो : ६२ प्रतिवादी पक्राउ, ठुलो परिमाणमा लागुऔषध बरामद
सवारी दुर्घटना चुनौतीपूर्ण बने पनि अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ भने नवलपुर प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको छ। कार्तिक एक महिनामै विभिन्न अपराध शीर्षकमा कुल ४३ वटा मुद्दा दर्ता भएकोमा प्रहरीले चालु मुद्दाका ६२ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ।
दर्ता भएका कुल ४३ मुद्दामध्ये सवारी ज्यान (७), लागुऔषध (७) र झुण्डी मृत्यु ज्यान (७) का घटनाहरू प्रमुख छन्। लागुऔषध नियन्त्रण अपरेसन अन्तर्गत ७ वटा मुद्दामा १४ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ किलो ७६५ ग्राम गाँजा, ५.९८ ग्राम खैरो हिरोइन, ३१३ ट्याब्लेट प्रोक्सिमेक, १४९ ट्याब्लेट ट्रामाडोल (Tramol) र १४३ ट्याब्लेट एनार्गन (Anargan) बरामद गरिएको छ।
अन्य मुख्य उपलब्धिहरू :
फैसला कार्यान्वयन : विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरी ३ वर्ष ११ महिना १० दिन कैद तथा रु. १ लाख २५ हजार ८५० जरिवाना असुल उपर गरिएको छ।
ठाडो उजुरी फर्छ्यौट : प्रत्यक्ष निवेदन, मोबाइल एप र इमेलमार्फत प्राप्त ७३ वटा ठाडो उजुरीमध्ये ६९ वटा उजुरीको फर्छ्यौट गरिएको छ भने ४ वटा कारबाहीको प्रक्रियामा छन्।
राजस्व तथा प्राकृतिक सम्पदा नियन्त्रण : भन्सार छली तथा राजस्व चुहावटतर्फ रु. ३ लाख ३४ हजार २९० बराबरको सामान बरामद गरिएको छ भने प्राकृतिक सम्पदा दोहन गर्ने ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई रु. १ लाख २७ हजार जरिवाना तिराइएको छ।
सामुदायिक प्रहरी साझेदारी : नागरिकसँगको सम्बन्ध सुदृढ पार्न १९ वटा विभिन्न शीर्षकमा १०४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ६ हजार ६१० जना प्रत्यक्ष लाभान्वित भएका छन्।
…..
पोस्ट मिति : २०८३ मंसिर २ गते
समय : २१ बजे
….
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









