तम्घास । कुनै समय ब्रुद्ध हातेकलमा घर – घरमा पुगेर कलडा सिलाउदै मुस्किलले जिविका चलाउदै र चुहिने खरको झुपडी मुनि रात काट्न बाध एक दलित परिबारको कहालीलाग्दो कथा हो यो ।
पानी पर्दा झुपडी भित्र नअटेपछी नजिकैको ओढारमा बास बस्नुपर्ने सन्तानहरुको व्याथा हो यो । खुट्टामा चप्पल सम्म नहुदा खाली पैताला भारी बोकेर जीविका गरेको तिनै सन्तान मध्येको एक संघर्षशिल सन्तानको संघर्षको कथा हो यो । उपेक्षित नामले पुकार्दै … को छोरो देवे हो यो भन्थे । त्यही देवे पछि गएर देवकुमार नेपालीका रुपमा प्रतिष्ठित नाम बन्न पुग्यो । दलितलाई माथी पुगेको देख्न नचाहनेहरुको आँखाको कसिङार बन्न पुग्यो ।
तिनै दमाईका छोरा देवकुमार नेपालीको बाल्यकालको कथा त्यही उपेक्षा अभाव र संघर्षबाट सुरु हुन्छ।कारुणिक अभावको पृष्ठभूमिबाट उठेका देवकुमार कुनै समय बागलुङको बुर्तिबाङमा दरबार होटल र आलिशान भवनका मालिक बने। भवनको छतमा हेलिप्याड बनाए। सामाजिक काममा सहयोग गरे। राजनीतिक यात्रामा अघि बढे र दुईपटक ढोरपाटन नगरपालिकाको प्रमुख निर्वाचित भए। कुनै समय ओढारमा बास खोज्नुपर्ने बालकको जीवनमा दरबार, हेलिकोप्टर र राजनीतिक पद जोडिनु आफैँमा असाधारण उतारचढाव थियो।
तर सफलताका बिच उनी विरुद्ध षडयन्त्रका तानाबाना बुनिदै गरेको र कुनै पनि बेला कुनै पनि बाहनामा फसाउन सक्छ्न भने मेयरको दोश्रो कालतिर नेपाली ।आखिर समयको चक्र त्यसरी नै उल्टो घुम्यो। कुनै समय आर्थिक सहयोग र विकास निर्माणका कामका कारण प्रशंसा पाएका नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिए।
सहकारी बन्द भयो, बचतकर्ता रकम माग्दै सडकमा आए, उनी सम्पर्कविहीन भए, इन्टरपोलमार्फत खोजी भयो र अन्ततः भारतबाट पक्राउ परे। पोखराको इमेज सहकारीसम्बन्धी मुद्दामा अदालतबाट कैद सजायसमेत पाए।
यो एउटा व्यक्तिको गरिबीबाट सम्पन्नतासम्म र सम्पन्नताबाट कानुनी संकटसम्म पुगेको कथा मात्रै होइन। जातीय विभेद भोगेको एउटा भुइँमान्छे कसरी सामाजिक प्रतिष्ठा र राजनीतिक शक्तिको उचाइमा पुग्यो, उसले समाजमा कस्तो प्रभाव पार्यो र अन्ततः सार्वजनिक विश्वाससँग जोडिएको आर्थिक संकटमा कसरी मुछियो भन्ने प्रश्नको कथा पनि हो।
ओढारको बाल्यकाल र अभावसँगको संघर्ष
देवकुमार नेपालीको बाल्यकालबारे उनले विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ता र म आफू ( प्रेम सुनार ( ले २०७८ पुस ९ गते प्रकाशित गरेको ‘देवकुमार : ओढारदेखि मेयरसम्मको यात्रा र सफलता’ शीर्षकको रिपोर्टमा अभावका अनेक प्रसङ्ग उल्लेख छन्।
उनले आफ्नो बाल्यकाल सम्झँदै सानो खरको झुपडीमा जन्मिएको, चुहिने झुपडीका कारण ओढारमा बास बस्नुपरेको र १३ वर्षको उमेरसम्म चप्पल नलगाएको बताएका थिए। उनका बुबा पुराना कपडा सिलाएर परिवारको जीविका चलाउँथे। परिवारले अर्काको घरमा आश्रय लिएर बस्नुपरेको र घरधनीले बस्न नदिएपछि ओत लाग्ने ठाउँ खोज्दै ओढारमा बस्नुपरेको विवरण हिमालखबरको २०८२ वैशाख १६ गते प्रकाशित खोज रिपोर्टमा पनि उल्लेख छ।
अभावसँगै जातीय विभेदको पीडा पनि उनको बाल्यकालको अर्को पाटो थियो। पुराना कपडा सिलाउने दमाईको छोरो भएकै कारण आफूले सामाजिक अपहेलना भोग्नुपरेको उनको भनाइ थियो। यही पृष्ठभूमिबाट उनले काम गरेर अघि बढ्ने बाटो रोजे।
उनले १३ वर्षको उमेरदेखि छिमेकी जिल्ला गुल्मीको तम्घासबाट नुन, चिनी, दाल, चामल र मट्टीतेलजस्ता सामान डोकोमा बोकेर बुर्तिबाङ पुर्याउन थालेको म आफू सङ्ग उप्त खोज रिपोर्टमा बताएका थिए।
त्यतिबेला गाडीको सुविधा थिएन। पैदल बाटोमा सामान बोकेर ल्याउनु र बेच्नु नै उनको व्यापारिक संघर्षको सुरुवात थियो। बुर्तिबाङमा पसल खोलेपछि पनि जातीय विभेदको सामना गर्नुपरेको उनको स्मरण थियो। उनले हामीसँगको अन्तरंग कुराकानीमा भनेका थिए, “त्यतिबेला यहाँ कसैले दमाईको पसलमा नुन, चिनी किनेर खानु हुन्न भन्थे। मैले अरूले भन्दा सस्तो बेच्न थालेपछि किन्न आउन थाले। गर्नु दुःख गरियो।”
उनको भनाइमा सस्तो मूल्यमा सामान बेचेर ग्राहकको विश्वास जितेपछि व्यापार विस्तार हुँदै गयो। किराना पसलबाट सुरु भएको उनको व्यवसाय ठेक्कापट्टासम्म पुग्यो। व्यापारसँगै आर्थिक अवस्था सुधार्ने प्रयास जारी रह्यो।
तर बाल्यकालको संघर्षको कथा र त्यसपछिको आर्थिक उन्नतिको वास्तविक स्रोत एउटै कुरा होइनन्। उनको संघर्षलाई सम्मान गर्दै पनि पछिल्लो सम्पत्तिको स्रोत, लगानी र कारोबारलाई कागजातका आधारमा छुट्टै जाँच्नुपर्छ।
बुर्तिबाङको व्यापारदेखि पोखरासम्म
देवकुमारले २०४५ सालदेखि व्यवसाय सुरु गरेको नागरिक पत्रिकामा २०७४ जेठमा प्रकाशित लेखमा उल्लेख छ। बुर्तिबाङमा विभिन्न सामानको होलसेल पसल सञ्चालन गरेको र दलित भएकै कारण व्यापारमा असहयोग भोग्नुपरेको उनले बताएका थिए।
व्यापारिक जीवन सधैँ सहज रहेन। पुरानो रिपोर्टअनुसार पसल ठूलो व्यापारिक प्रतिस्पर्धाको चेपुवामा पर्यो। ऋण बढेपछि बैंकको लिलामीसम्मको अवस्था आएको र त्यसपछि पोखरातर्फ लाग्नुपरेको उनले बताएका थिए।
उनले हामीसँगको कुराकानीमा पसलबाट सुरु भएको व्यवसाय क्रमशः ठेक्कापट्टासम्म पुगेको सुनाएका थिए।
नागरिकमा प्रकाशित लेखले प्रहरी राशनको ठेक्कामा प्रवेश गरेको र २०५५ सालतिर बुर्तिबाङ छाडेको विवरण दिएको छ। हिमालखबरको खोज रिपोर्टअनुसार २०५७ सालतिर पोखरा पुगेका नेपालीले ‘मनसुन साइकल स्टोर’ सञ्चालन गरे। पर्यटकलाई लक्षित झोलाको पसल खोले र जग्गाजमिनको कारोबारमा पनि संलग्न भए।
पोखराको सिर्जना चोकमा घर बनाएर बुर्तिबाङबाट पोखरा पुग्ने साथीभाइसँग भेटघाट गर्ने गरेको विवरण पनि उक्त रिपोर्टमा छ। यसरी बुर्तिबाङको सानो पसलबाट सुरु भएको उनको व्यापारिक यात्रा पोखरासम्म फैलियो। साइकल पसल, झोलाको व्यापार, जग्गा कारोबार र ठेक्कापट्टा उनको आर्थिक उन्नतिका विभिन्न चरणका रूपमा सार्वजनिक रिपोर्टमा आएका छन्।
यही कालखण्ड उनको आर्थिक उन्नतिको महत्त्वपूर्ण चरण मानिन्छ। तर कुन व्यवसायबाट कति आम्दानी भयो, कुन व्यवसायमा कति पुँजी लगानी भयो र त्यसबाट कति सम्पत्ति जोडियो भन्ने विस्तृत वित्तीय हिसाब सार्वजनिक रूपमा स्पष्ट छैन। त्यसैले उनको सम्पत्तिको स्रोतबारे अन्तिम निष्कर्ष निकाल्न व्यवसाय दर्ता, कर विवरण, बैंक कारोबार र जग्गा खरिदका अभिलेख आवश्यक पर्छन्।
सूर्यदर्शन सहकारीदेखि इमेजको स्थापनासम्म
देवकुमार नेपालीको जीवनयात्रामा सहकारी क्षेत्र अर्को निर्णायक मोडका रूपमा देखिन्छ। विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार उनी पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएका थिए। त्यहाँ उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका उनी पछि अलगिएर इमेज बचत तथा ऋण सहकारी संस्था स्थापनामा संलग्न भए।
हिमालखबरको खोज रिपोर्टले सूर्यदर्शन सहकारीमा अध्यक्ष बन्ने विषयमा जीबी राईसँग कुरा नमिलेपछि नेपाली अलग भएको र २०६८ सालतिर इमेज सहकारी स्थापना भएको विवरण दिएको छ। सुरुमा चित्रबहादुर भण्डारीलाई अध्यक्ष बनाइएको र पछि नेपाली संस्थाको प्रभावशाली संस्थापक अध्यक्षका रूपमा अघि आएको रिपोर्टमा उल्लेख छ।
इमेज सहकारीले आकर्षक ब्याजदरको प्रचार गर्यो। १६ देखि १८ प्रतिशतसम्म ब्याज दिने भनिएपछि बैंक तथा अन्य सहकारीमा बचत गरिरहेका सर्वसाधारणसमेत इमेजतर्फ आकर्षित भएको हिमालखबरको खोज रिपोर्टमा उल्लेख छ। पोखरा, बागलुङ, बुर्तिबाङ र गलकोट क्षेत्रमा सहकारीको कारोबार विस्तार भयो।
देवकुमार नेपालीको सामाजिक प्रतिष्ठा, व्यापारिक परिचय र राजनीतिक पहुँचले पनि सर्वसाधारणमा विश्वास बढाउन भूमिका खेलेको हुन सक्ने देखिन्छ। तर बचतकर्ताले संस्थामा पैसा जम्मा गर्नुको वास्तविक कारण र संस्थाले कसरी रकम परिचालन गर्यो भन्ने विषय सहकारीको अभिलेखबाटै स्पष्ट हुन्छ।
दरबार होटल, हेलिप्याड र समाजसेवाको छवि
बुर्तिबाङमा साढे सात तले आधुनिक भवन निर्माण गरेर त्यसमा दरबार होटल सञ्चालन गर्नु उनको आर्थिक उन्नतिको सबैभन्दा देखिने प्रतीक बन्यो। भवनको छतमा हेलिप्याडसमेत बनाइएको थियो। कुनै समय ओढारमा बसेको बताउने व्यक्ति आफ्नै गाउँमा हेलिकोप्टर अवतरण गर्न मिल्ने भवनको मालिक बनेपछि उनको चर्चा अझ फैलियो।
उनी नगरप्रमुख निर्वाचित भएको केही समयपछि हामीले बुर्तिबाङस्थित उनकै दरबार होटलमा अन्तरंग कुराकानी गरेका थियौँ। त्यतिबेला उनले आफ्नो संघर्षको कथा सुनाउँदै भनेका थिए, “उति बेला गाडीको सुविधा थिएन।
त्यसैले बुर्तिबाङदेखि डोकोमा मट्टीतेल, कहिले नुन, चिनी, दालचामल बोकेर तम्घासबाट ल्याउँथेँ। त्यतिबेला यहाँ कसैले दमाईको पसलमा नुन, चिनी किनेर खान भन्थे। मैले अरूले भन्दा सस्तो बेच्न थालेपछि किन्न आउँथे। गर्नु दुःख गरियो। पसलदेखि क्रमशः मैले ठेक्कापट्टा सब गरेँ।”
दरबार होटल र हेलिप्याडबारे समाजमा चर्चा र आलोचना हुने गरेको प्रसङ्गमा उनले भनेका थिए, “अहिले देवकुमारले यत्रो दरबार बनायो, छतमा हेलिकोप्टर ल्याण्ड गर्यो भनेर डाह गर्नेहरू छन्।”
उनको भनाइमा दरबार होटल केवल निजी शौखका लागि बनाइएको थिएन। ढोरपाटनको पर्यटन विकासमा टेवा पुग्ने र हेलिप्याडबाट सिकिस्त बिरामी तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा उद्धार गर्न सकिने उनको तर्क थियो। उनले सार्वजनिक कार्यक्रममा भनेका थिए, “यो सम्पत्ति देवकुमार नेपालीको हो भनेर नठान्नुस्, यो सम्पत्ति यहाँका सारा दलितहरूको हो।”
उनको अर्को पहिचान समाजसेवाको थियो। २०७८ को पुरानो रिपोर्टमा उनले करिब १० वर्षदेखि ८० जना शिक्षकलाई मासिक तलब दिएर विद्यालयमा राखेको उल्लेख छ। हिमालखबरले भने ५५ विद्यालयमा निजी शिक्षकको तलब सहयोग गरेको विवरण प्रस्तुत गरेको छ। दुई रिपोर्टमा शिक्षकको संख्यामा फरक देखिएकाले कुन समयको सहयोग कति थियो भन्ने थप पुष्टि आवश्यक छ।
विपद्का बेला आगलागी र बाढीपीडितलाई सहयोग गरेको, विद्यालय भवन, खानेपानी, सडक, पुल तथा सामाजिक संस्थाका भवन निर्माणमा सहयोग गरेको विवरण पनि सार्वजनिक रिपोर्टमा समेटिएका छन्।
नवी गाउँको आगलागीदेखि भूजीखोलाको बाढीसम्म
देवकुमार नेपालीको समाजसेवाको चर्चा गर्दा २०७५ साल मंसिर ९ गते ढोरपाटन नगरपालिका–९ को नवी गाउँमा भएको भीषण आगलागी छुटाउन मिल्दैन। राति करिब ३ बजेतिर सुरु भएको आगलागीले बस्तीका घरगोठ, लत्ताकपडा, अन्नपात र जायजेथा खरानी बनायो। प्रकाशित विवरणअनुसार ३० घर पूर्ण रूपमा जलेका थिए भने ४ घरमा आंशिक क्षति पुगेको थियो। ४८ परिवार प्रभावित भएका थिए।
आगलागीको खबर पाएपछि तत्कालीन नगरप्रमुख देवकुमार नेपाली घटनास्थल पुगेका थिए। उनले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट प्रतिपरिवार एक लाखका दरले ४८ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए। घरको छाना छाउने जस्तापाता भने व्यक्तिगत सहयोगबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। नगरपालिकाका इन्जिनियर खटाएर भूकम्प प्रतिरोधी, दुई कोठे र शौचालयसहितका घर बनाउने योजना पनि अघि सारेका थिए।
यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—४८ लाख रुपैयाँ नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट दिने घोषणा थियो। जस्तापाता नेपालीले सबै घरलाई व्यक्तिगत रूपमा उपलब्ध गराएका थिए ।
त्यसको दुई वर्ष नबित्दै २०७७ भदौ १७ गते राति ढोरपाटनका बोबाङ क्षेत्रका बासिन्दाले अर्को भयावह विपद् भोगे। भूजीखोलामा आएको भीषण बाढीले बस्ती, घर, पुल, सडक, विद्यालय र जलविद्युत् संरचनामा ठूलो क्षति पुर्यायो। प्रकाशित विवरणअनुसार बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का १३१ घर बगाएको थियो। ३७ जनाको मृत्यु भएको र १५ जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको थियो। बाढीले लघुजलविद्युत् आयोजना, स्वास्थ्य एकाइ, झोलुङ्गे तथा काठे पुल, ढलान पुल, विद्यालय र सडकमा समेत ठूलो क्षति पुर्याएको थियो।
त्यतिबेलाको उद्धार अवस्था सहज थिएन। बाढीले बाटो र पुल बगाएपछि स्थलमार्गबाट प्रभावित बस्तीमा पुग्न कठिन भएको थियो। बोबाङका दलित अधिकारकर्मी कुशल विकका अनुसार, “राति भीषण बाढीले पुल, बाटो सबै बगाएर यहाँ कोही आउन सक्ने अवस्था थिएन। उज्यालो नहुँदै त्यही हेलिकोप्टर चढेर उद्धार गर्न आउने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो।” उनले घटना पनि जस्ता पाता कपडा लत्ता ब्यक्तिगत रुपमा सहयोग गरेका थिए ।
कुशल विकका अनुसार यी दुई विपद्मा मात्रै होइन, दलित समुदायका विभिन्न दुःख र आपत्–विपत्मा देवकुमार नेपाली साथमा उभिने गरेका थिए। उनको कार्यकालमा सयभन्दा बढी दलित युवालाई सरकारी तथा निजी क्षेत्रमा रोजगारी दिलाएको, हरेक वर्ष जाडोमा दलित विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको र विपन्न परिवारलाई सहयोग गरेको विकको दाबी छ। विक भन्छन्, “दलित समुदायका धेरै मानिसले उहाँलाई आज पनि देवताजस्तै मान्छन्।”
उनको भनाइमा देवकुमारले शौखिन जीवन बिताउन चाहेको भए पोखरा वा काठमाडौंमै बस्न सक्थे। विदेशमा रहेका छोराबुहारीसँगै अमेरिकामा बस्ने विकल्पसमेत थियो। तर जन्मभूमिमा केही गर्ने भन्दै बुर्तिबाङ फर्किए। मेयरको सेवा–सुविधाबाहेक आफ्नो अन्य आम्दानीको ठूलो हिस्सा सामाजिक काममा खर्च गरेको उनको दाबी छ।
यी घटनाले देवकुमार नेपालीको सार्वजनिक छविको एउटा पक्ष देखाउँछन्। आगलागी र बाढीका बेला उनले गरेको भनिएको सहयोग, हेलिकोप्टरबाट घटनास्थल पुगेको प्रसङ्ग र स्थानीय समुदायमा बनेको प्रभावलाई केवल सहकारी प्रकरणका कारण मेटाउन मिल्दैन। तर समाजसेवाको योगदान स्वीकार गर्नु र सहकारीको रकमसम्बन्धी कानुनी जवाफदेहिता खोज्नु पनि अलग विषय हुन्। एउटा पक्षले अर्को पक्षलाई न त मेटाउँछ, न ढाक्छ।
छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसमा काँधमा बोकेर मञ्चसम्म
देवकुमार नेपालीको सामाजिक प्रभावको अर्को दृश्य बुर्तिबाङमै आयोजित छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको कार्यक्रममा देखिएको थियो। काठमाडौं, पोखरा, बुटवल, बागलुङ, तानसेन, तम्घासलगायतका स्थानबाट दलित अधिकारकर्मी र अभियन्ता कार्यक्रममा सहभागी भएका थिए।
ढोरपाटन दलित समुदायको उल्लेख्य बाहुल्य रहेको क्षेत्र हो। हजारौँको संख्यामा सहभागी दलित समुदायका मानिसले बजार परिक्रमा गराउने क्रममा फूलमाला र अबिरले सजाएर देवकुमार नेपालीलाई काँधमा बोकेर बसपार्कस्थित मञ्चसम्म पुर्याएका थिए। कार्यक्रममा वक्ताहरूले दलित समुदायका संघर्षशील नेता देवकुमार नेपालीमाथि षड्यन्त्र नगर्न चेतावनी दिएका थिए।
प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपालीले आफ्नो आर्थिक उन्नतिमाथि प्रश्न उठाउनेहरूलाई लक्षित गर्दै भनेका थिए, “एउटा दमाईको छोराले यत्रो पैसा कहाँबाट कमायो भन्दै डाह गर्नेहरू छन्। अनि उनीहरूले चाहिँ कहाँबाट कमाए?”
उनले दरबार होटल र हेलिप्याडको उद्देश्यबारे पनि आफ्नो धारणा राखेका थिए। होटल ढोरपाटनको पर्यटन विकासका लागि र हेलिप्याड सिकिस्त बिरामी तथा सुत्केरी महिलाको उद्धारका लागि बनाएको उनको भनाइ थियो।
त्यतिबेला दलित समुदायका धेरै मानिसले उनलाई आफ्नो संघर्षको प्रतिनिधि र सफलताको प्रतीकका रूपमा हेरेका थिए। हिजो जातीय विभेद भोगेको व्यक्तिले आर्थिक र राजनीतिक उचाइ हासिल गरेको घटनाले उनीहरूमा आशा र आत्मविश्वास जगाएको थियो।
तर यहीँ एउटा सामाजिक प्रश्न पनि जोडिन्छ—कुनै व्यक्तिको जातीय पृष्ठभूमि, संघर्ष र लोकप्रियताले उसलाई आर्थिक तथा कानुनी जवाफदेहिताभन्दा माथि राख्न मिल्छ कि मिल्दैन? जातीय विभेदविरुद्ध उभिनु र आर्थिक कारोबारमा पारदर्शिता माग्नु परस्पर विरोधी कुरा होइनन्।
मसाल, माओवादी हुँदै एमाले : राजनीतिक यात्रा
देवकुमार नेपालीको राजनीतिक यात्रा पनि पटक–पटक मोडिएको देखिन्छ। नागरिकमा २०७४ जेठमा प्रकाशित लेखले उनको प्रारम्भिक राजनीतिक सम्बन्ध नेकपा मसालसँग रहेको र पछि माओवादीसँग निकटता बढेको विवरण दिएको छ।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पोखरामा व्यवसाय गर्दै सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय बनेको उल्लेख छ।
२०७४ वैशाख १९ गते ढोरपाटन नगरपालिकाको मेयरको उम्मेदवारी दर्ता हुनुअघि उनी माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका थिए। एमालेबाट टिकट पाएपछि ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भए।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि उनी एमालेबाटै पुनः नगरप्रमुख निर्वाचित भए। दोस्रो निर्वाचनमा उनले ५ हजार ७३५ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी चन्द्र अर्यालले ५ हजार १३५ मत पाएका थिए।
यसरी दुईपटक नगरप्रमुख निर्वाचित भएका नेपाली स्थानीय राजनीतिमा बलियो जनमत भएका व्यक्तिका रूपमा स्थापित भए। तर राजनीतिक पद र सहकारीको अध्यक्षता एउटै व्यक्तिसँग रहँदा संस्थागत स्वार्थको द्वन्द्व, नियमन र पारदर्शिताको प्रश्न उठ्न सक्छ। सहकारीको कारोबार र नगरपालिकाको जिम्मेवारीबीच कुनै अनुचित प्रभाव परेको थियो कि थिएन भन्ने विषयमा भने प्रमाणबिना निष्कर्ष निकाल्न मिल्दैन।
२०८० वैशाख : सहकारी बन्द, बचतकर्ता सडकमा
इमेज सहकारीको संकट सार्वजनिक रूपमा देखिएको निर्णायक दिन २०८० वैशाख ७ थियो। संस्थाले तरलता अभावको सूचना दिएर कारोबार बन्द गर्यो। बचतकर्ताले आफ्नो रकम फिर्ता माग्न थाले। तर रकम फिर्ता नपाएपछि उनीहरू आक्रोशित भए।
सहकारीका संस्थापक अध्यक्ष नेपाली २०८० जेठको पहिलो सातादेखि सम्पर्कविहीन भए। सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार उनी परिवारसहित बुर्तिबाङबाट सम्पर्कविहीन भएका थिए। सहकारी बन्द भएको केही समयपछि बचतकर्ताको रकम फिर्ता नपाएको विषयले ठूलो रूप लियो।
बागलुङमा १ हजार ५४३ जना बचतकर्ताको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते देवकुमार नेपालीसहित ११ जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा एक अर्ब ३० करोड ७६ लाख ९८ हजार ६६८ रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
सहकारी रजिस्ट्रारको प्रारम्भिक अध्ययनमा भने हिनामिनाको रकम एक अर्ब ५४ करोड रुपैयाँसम्म पुगेको विवरण सार्वजनिक भएको थियो। यी फरक अनुसन्धान र हिसाबका रकम हुन्, एउटै प्रमाणित बिगोका रूपमा प्रस्तुत गर्न मिल्दैन।
प्रहरीले खोजी गर्दा पनि उनी फेला नपरेपछि २०८० माघ १० गते इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। करिब आठ महिनापछि २०८१ असोज ११ गते भारतको नयाँदिल्लीबाट उनी पक्राउ परे। नेपाल ल्याइएपछि २०८१ असोज १५ गते जिल्ला अदालत बागलुङले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तीन अर्बको सम्पत्ति दाबी र बचतकर्ताको रकम
फरार रहेकै अवस्थामा नेपालीले सामाजिक सञ्जालमार्फत आफू र पत्नीका नाममा ४५ कित्ता जग्गा तथा १८ वटा घर रहेको र ती सम्पत्तिको मूल्य तीन अर्ब रुपैयाँभन्दा बढी भएको दाबी गरेका थिए। सहकारीको समस्या समाधान गर्न ती सम्पत्ति बचतकर्ताको नाममा हस्तान्तरण गर्न चाहेको उनको भनाइ थियो।
तर यो सम्पत्तिको मूल्य र संख्या उनको आफ्नै सार्वजनिक दाबी हो। स्वतन्त्र मूल्याङ्कन वा अदालतबाट प्रमाणित कुल सम्पत्ति मूल्यका रूपमा प्रस्तुत गर्न मिल्दैन।
बचतकर्ताको प्रश्न थियो—यदि यति ठूलो सम्पत्ति छ भने बचतकर्ताको रकम किन फिर्ता भएन? ती सम्पत्तिमध्ये कुन सहकारीको रकमबाट जोडिएको हो? कुन बैंकमा धितो छ? कुन सम्पत्ति रोक्का छ? र ती बेचेर बचतकर्ताले कति रकम पाउन सक्छन्?
२०८२ असोजमा प्रकाशित समाचारअनुसार नेपालीसहित १५ जनाविरुद्ध बागलुङ जिल्ला अदालतमा एक अर्ब ५८ करोड ९४ लाख ५५ हजार ३९१ रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो। अभियोजन पक्षले नेपाली र उनकी पत्नीका नाममा रहेका घरजग्गा तथा अन्य सम्पत्ति जफत गर्न माग गरेको थियो। यो अभियोजन पक्षको मागदाबी हो, अदालतको अन्तिम फैसला होइन।
मिलापत्र भयो, तर सबै बचतकर्ताले पैसा पाए?
इमेज सहकारी प्रकरणमा अर्को महत्त्वपूर्ण पक्ष बचतकर्तासँग भएका मिलापत्र हुन्। कान्तिपुरमा २०८२ साउनमा प्रकाशित समाचारअनुसार बागलुङमा १ हजार ५७ बचतकर्ताले नेपालीसँग मिलापत्र गरेका थिए।
तर मिलापत्रको अर्थ सबैले आफ्नो रकम वास्तविक रूपमा प्राप्त गरिसके भन्ने स्वतः प्रमाण होइन। त्यसैले भुक्तानीको बैंक विवरण, रसिद र बचतकर्ताको प्रत्यक्ष पुष्टि आवश्यक हुन्छ।
केही बचतकर्ताले रकम पाएको बताएका छन् भने कतिपयले रकम नपाई मिलापत्र भएको कागज तयार पारिएको आरोपसमेत सार्वजनिक गरेका छन्। यी आरोपको सत्यता अदालतका कागजात र वास्तविक भुक्तानी अभिलेखबाट पुष्टि हुनुपर्छ।
सहकारी ठगीको मुद्दा दायर हुनु र बचतकर्ताले आफ्नो बचत फिर्ता पाउनु फरक कुरा हुन्। सञ्चालकलाई सजाय भए पनि सहकारीको सम्पत्ति, ऋणीबाट असुली, रोक्का सम्पत्तिको व्यवस्थापन र बचतकर्ताको दाबीको प्राथमिकताले मात्रै वास्तविक राहत निर्धारण गर्छ।
कास्की जिल्ला अदालतको फैसला : आठ वर्ष कैद
देवकुमार नेपालीको जीवनयात्रामा पछिल्लो कानुनी मोड २०८३ कात्तिक १७ गते आयो। पोखरास्थित इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतले नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनायो। उक्त फैसला मंसिर १ गते सार्वजनिक भएको समाचारमा उल्लेख छ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ। सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद तथा एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना सुनाइएको छ। अन्य चार प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय भएको समाचारमा उल्लेख छ।
यो फैसला पोखराको इमेज सहकारीसम्बन्धी मुद्दामा मिलापत्र हुन नसकेका ११० बचतकर्ताको जाहेरीका आधारमा दायर पूरक अभियोगसँग सम्बन्धित छ। उक्त मुद्दामा १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो। फैसलाको पूर्णपाठ तयार भइसकेको छैन भन्ने अदालतका अधिकारीको भनाइ सार्वजनिक भएको थियो।
यहाँ एउटा महत्त्वपूर्ण कानुनी भिन्नता बुझ्नुपर्छ—कास्कीको मुद्दामा फैसला आएको भए पनि बागलुङको इमेज सहकारी ठगी मुद्दा छुट्टै हो। बागलुङमा नेपालीसहितका प्रतिवादीविरुद्ध दायर मुद्दा र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोजनको अन्तिम फैसला भइसकेको भनेर लेख्न मिल्दैन। कास्कीको फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी बाटो पनि प्रतिवादीका लागि खुला रहन्छ।
सहकारीको रकम, फरार जीबी राई र राजनीतिक शक्तिमा रवि
एक अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबीसमेत खेपिरहेका सहकारीका मुख्य सञ्चालक गीतेन्द्रबाबु (जीबी) राई आखिर कुन कुनामा छन्? हजारौँ बचतकर्ताको रकम अपचलनको आरोप खेपिरहेका उनी अझै पक्राउ परेका छैनन्। प्रहरीको पछिल्लो सार्वजनिक जानकारीअनुसार उनी मलेसियामा रहेको भनिए पनि नेपाल ल्याउने प्रयास सफल भएको छैन। उनीविरुद्ध सूर्यदर्शन सहकारीको प्रकरणमा मात्रै करिब साढे दुई अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
रोचक विडम्बना त के छ भने, उनै जीबी राईसँग जोडिएको गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहकारीको रकम अपचलनसम्बन्धी अभियोग खेप्दाखेप्दै अदालतको आदेशमा धरौटी बुझाएर कारागारमुक्त भए।
संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पछि संशोधन तथा फिर्ताको प्रक्रिया अघि बढ्यो। उनी अहिले रास्वपाको सभापति र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकामा छन्। तर धरौटीमा रिहा हुनु सहकारी ठगीको आरोपबाट दोषमुक्त हुनु होइन।
ओढारदेखि दरबार र दरबारदेखि कारागारसम्म : समाजले के सिक्ने?
देवकुमार नेपालीको जीवनयात्रा नेपाली समाजका लागि धेरै प्रश्न छाडेर गएको छ। गरिबी र जातीय विभेद भोगेको व्यक्तिले व्यापार गरेर आर्थिक उन्नति गर्नु, सामाजिक काममा योगदान पुर्याउनु र जनमतबाट निर्वाचित हुनु आफैँमा सकारात्मक पक्ष हुन्। नवी गाउँको आगलागी र भूजीखोलाको बाढीका बेला उनले गरेको भनिएको सहयोग, दलित समुदायका युवालाई रोजगारी दिलाएको र विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको स्थानीयको भनाइ उनको सार्वजनिक जीवनको अर्को पाटो हो।
तर त्यही व्यक्तिसँग जोडिएको सहकारी संकटले हजारौँ सर्वसाधारणको बचत जोखिममा परेको विषयले अर्कै प्रश्न उठाएको छ। कुनै व्यक्तिको लोकप्रियता, दान–दक्षिणा, राजनीतिक पद वा आलिशान सम्पत्तिले आर्थिक कारोबारको पारदर्शिताको विकल्प दिन सक्दैन। सहकारीको पैसा जनताको पसिना हो। त्यो रकम सञ्चालकको निजी सम्पत्ति होइन। सहकारीको अध्यक्ष, सञ्चालक वा राजनीतिक पदमा पुगेको व्यक्तिले झन् बढी जवाफदेही हुनुपर्छ।
देवकुमार नेपालीले ओढारको जीवनबाट उठेर दरबार होटलसम्मको यात्रा तय गरेको कथा एक समय धेरैका लागि प्रेरणाको विषय बन्यो। दलित समुदायले उनलाई आफ्नो संघर्ष र सम्भावनाको प्रतीकका रूपमा हेर्यो। तर त्यो उन्नतिको आर्थिक आधार के थियो, सहकारीको रकम कसरी परिचालन भयो र बचतकर्ताले आफ्नो पैसा कहिले फिर्ता पाउँछन् भन्ने प्रश्न अहिले पनि महत्त्वपूर्ण छन्।
यो कथा कुनै व्यक्तिको गरिबीको उपहास होइन। उनको जातीय पहिचानमाथि टिप्पणी गर्ने वा समाजसेवाको योगदान मेटाउने प्रयास पनि होइन। बरु समाजले एउटै व्यक्तिलाई कहिले संघर्षको नायक र कहिले आर्थिक अपराधको आरोपितका रूपमा हेर्दा तथ्य, प्रमाण र न्यायलाई कसरी प्राथमिकता दिनुपर्छ भन्ने प्रश्न हो।
ओढारबाट दरबारसम्म पुग्नु सफलता हुन सक्छ। तर सार्वजनिक विश्वासमा उभिएको सहकारीको बचत सुरक्षित राख्न नसक्नु र अदालतबाट कैद सजाय पाउनु सार्वजनिक जीवनका लागि गम्भीर चेतावनी हो। जातीय विभेदको विरोध गर्नुपर्छ, समाजसेवाको सम्मान गर्नुपर्छ र आर्थिक अनियमिततामाथि प्रश्न पनि उठाउनुपर्छ। यीमध्ये कुनै एउटा कुरा रोजेर अर्को कुरा छाड्न मिल्दैन।पच्नुपर्ने कुरा जात होइन, अन्याय हो।
…….
चिन्तक : प्रेम सुनार
……..
पोस्ट मिति : २०८३ मंसिर २ गते, बुधबार
समय : दिउँसो ०३: ३० बजे
……..
ओझेलका खबर — खबर भित्रको खबर
…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









