
-बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्।
आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो। ती प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।
आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन्। घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको छ। उनीहरूलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
त्यस्तै, सोही स्थानका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।
भारतको बहराइच जिल्ला कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
बिहान ८:४५ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको हो। आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ।
………
पोस्ट मिति : २०८३ कात्तिक १५ गते
समय : दिउँसो ११ बजे
…….
ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगर्नुहोला।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









