नेपाली इतिहासमा केही हत्या केवल व्यक्तिको हत्या हुँदैनन्, ती विचारमाथिको आक्रमण हुन्छन् । वाणीमाथिको दमन हुन्छन् । चेतनामाथिको युद्ध हुन्छन् । २३ वर्षअघि राज्यले एउटा यस्तै युद्ध लडेको थियो— एउटा कवि, पत्रकार, सांस्कृतिक योद्धा र भुइँमान्छेको आवाजविरुद्ध । त्यो नाम थियो कृष्ण सेन ‘इच्छुक’ ।
उनलाई राज्यले गिरफ्तार गर्यो, हिरासतमा अमानवीय यातना दियो, हत्या गर्यो, शवसमेत गायब बनायो । तर राज्यले सायद एउटा कुरा बुझेन- शरीर मार्न सकिन्छ, विचार मार्न सकिँदैन । कलम भाँच्न सकिन्छ, शब्द सकिँदैनन् ।
कृष्ण सेनको हत्या केवल एउटा व्यक्तिको अन्त्य थिएन, त्यो नेपाली प्रगतिशील पत्रकारिता र जनपक्षीय साहित्यलाई डर देखाउने प्रयास थियो । महेन्द्र पुलिस क्लबको अँध्यारो हिरासतमा एउटा कविको शरीरमाथि बुट बजारियो, तर त्यही बुटको चोटबाट हजारौँ नयाँ कलम जन्मिए । आज पनि देशका गाउँ, बस्ती, सडक, आन्दोलन र वैकल्पिक सञ्चारमाध्यममा बोलिरहेका अनेकौँ आवाजहरूमा इच्छुकको प्रतिध्वनि सुनिन्छ ।
उनी केवल साहित्यकार थिएनन् । उनी जनताको पक्षमा उभिने साहस थिए । वर्गीय विभेदविरुद्ध बोल्ने चेतना थिए । उत्पीडितहरूको भाषा थिए । उनले लेखेका कवितामा आँसु थियो, विद्रोह थियो, प्रेम थियो र क्रान्तिको आगो थियो । उनका शब्दहरू सजिला थिए, तर ती शब्दभित्र सिंगो युगको पीडा बोल्थ्यो ।
पत्रकारितामा उनले सत्ता होइन, जनताको पक्ष रोजे । उनले कलमलाई पेशा होइन, संघर्षको औजार बनाए । त्यसैले उनको लेखाइ दरबारलाई प्रिय भएन । शासकलाई सधैं बन्दुकभन्दा विचारको डर बढी हुन्छ । किनभने बन्दुकले शरीर ढाल्छ, विचारले व्यवस्था ढाल्न सक्छ ।
आजको समयमा कृष्ण सेनलाई सम्झनु भनेको केवल श्रद्धाञ्जली दिनु मात्र होइन । यो समयको पत्रकारिता कता जाँदैछ भन्ने प्रश्न गर्नु पनि हो । जब मिडिया बजारको सेवक बन्दैछ, जब पत्रकारिता सत्ता र पैसाको वरिपरि घुम्न थालेको छ, त्यतिबेला इच्छुकको जीवनले एउटा कठोर प्रश्न सोधिरहेको छ— “पत्रकारिता जनताको पक्षमा छ कि शक्तिको ?”
उनले कहिल्यै ठूलो पद खोजेनन् । उनले नामभन्दा जिम्मेवारी रोजे । उनले सुविधाभन्दा संघर्ष रोजे । त्यसैले उनी मृत्यु पछि पनि जीवित छन् । किनकि केही मानिस शरीरले होइन, विचारले बाँच्छन् ।
राज्यले उनको शव लुकाउन सक्यो, तर इतिहासबाट उनको नाम मेटाउन सकेन । बरु उनको रगतले नेपाली समाजमा प्रतिरोधको नयाँ अध्याय लेखिदियो । आज हजारौँ युवाका हातमा रहेका कलमहरू, क्यामराहरू र जनपक्षीय आवाजहरू कृष्ण सेनकै अधुरो यात्राका निरन्तरता हुन् ।
भुइँमान्छेको आवाज दबाउन खोजिएको त्यो दिन नेपाली इतिहासको कालो दिन थियो । तर त्यही दिनले एउटा सत्य पनि स्थापित गर्यो- कलमलाई हत्या गरेर विचारलाई समाप्त गर्न सकिँदैन ।
आज २४ औँ स्मृति दिवसमा महान सहिद कृष्ण सेन ‘इच्छुक’प्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










